मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिपको अनुमानित बजेट ४ करोड रुपैयाँ

मङ्गलबार, २९ असोज २०८१, १६ : २८
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को अनुमानित बजेट ४ करोड रुपैयाँ रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।  प्रतियोगिताको अनुमानित बजेट रु ४ करोड ६० हजार ८०० (३,०८,१६० अमेरिकी डलर) रहेको एन्फाले बताएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले यही कात्तिक १ देखि १४ सम्म दशरथ रंगशालामा प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरि सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरु मध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहानसम्म काठमाडौँ आइपुग्ने एन्फाले बताएको छ ।

प्रतियोगिताको तयारीका लागि २३-सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार एड रिलिजलाई प्रदान गरिसकिएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रशारण गरिनेछ । 

प्रतियोगिताको टिकेटिङ्ग अधिकार माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई प्रदान गरिएको छ। प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु ३०० र भीआइपी तर्फ रु ५०० तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ रु ५०० र भीआईपीतर्फ रु १००० आायम गरिएको छ। प्रतियोगितामा १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

प्रतियोगिता अवधिभर दर्शकहरूको सुविधाको लागि रंगशाला परिसर भित्रै खाजाको व्यवस्था पनि गरिएको छ। यसका लागि सिवंश फुड एन्ड बेभरेजेज प्रालिसँग सम्झौता गरिएको एन्फाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?