मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
दलका कार्यालयबारे चर्चा

जसपा नेपालले यसै वर्ष आफ्नो भवन निर्माण थाल्ने

नक्सा पासका लागि पालिकामा पठाइयो
मङ्गलबार, २९ असोज २०८१, १६ : २०
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसै वर्ष आफ्नो कार्यालय भवन निर्माणको कार्य सुरु गर्ने भएको छ ।

जसपा नेपालले भवनको नक्सा ललितपुर महानगरपालिकालाई पठाएको छ । त्यहाँबाट नक्सा पास भएर आएपछि भवन निर्माणको काम सुरु गरिने जसपा नेपालका आर्थिक विभाग प्रमुख बलराम महतोले बताए ।

उनले भने, ‘भवन निर्माणका लागि डिजाइनको काम सकिएको छ । नक्सा पासका लागि पालिकामा पठाएका छौँ । नक्सा पास भएर आएपछि तत्कालै काम सुरु हुन्छ ।’

ललितपुरको सातदोबाटोमा जसपा नेपालको नाममा डेढ रोपनी जग्गा छ । सोही जग्गामा करिब पाँच करोड रुपैयाँ लागतमा कार्यालय भवन निर्माण गर्ने तयारी भएको स्रोत बताउँछ ।

सुरुमा तीन तले भवन बनाइने, त्यसपछि अझै दुई तला थप्ने योजना रहेको अर्थ विभाग प्रमुख महतोले जानकारी दिए । उनले भने, ‘लक्ष्य त पाँच तले भवन बनाउने हो तर अहिलेलाई तीन तलाका लागि नक्सा बनाएको छ । पछि दुई तला थप्नेछौँ ।’

भवन निर्माणका लागि कति बजेट लाग्छ भन्नेबारे महतोले खुलाउन चाहेनन् । उनले भने, ‘काम सुरु नगरी कसैले चन्दा सहयोग गर्दैनन् । नक्सा पास गरेर आएपछि तत्कालै आफ्नो साधन स्रोतबाट भवन निर्माणको काम सुरु गर्छौं । काम सुरु भएपछि मात्र अरुलाई चन्दा र सहयोगका लागि आह्वान गर्छौं ।’

हालसम्म कहीँ कतैबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको महतोले बताए । उनले लामो समयदेखि भवन निर्माण गर्ने चर्चा चले पनि बजेट अभावकै कारण काम अघि बढ्न नसकेको खुलाए । ‘तर अब काम सुरु हुन्छ । जति बजेट हुन्छ, त्यही अनुसार काम गर्दै जान्छौँ ।’

नक्सा बनाएर पालिकासम्म पठाउन ११–१२ लाख रुपैयाँ खर्च भइसकेको महतोले बताए ।

२०७६ मा बसेको पार्टीको बैठकले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यतिबेला हरेक प्रदेशलाई आर्थिक सङ्कलनका लागि सर्कुलर गरिएको थियो ।

जसपा नेपालका एक जना कार्यकारिणी सदस्यका अनुसार कोशी प्रदेशले ५० लाख, मधेस प्रदेशले दुई करोड, बागमती प्रदेशले २५ लाख, गण्डकी प्रदेशले २५ लाख, लुम्बिनी प्रदेशले ५० लाख, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले १०÷१० लाख आर्थिक सङ्कलन गर्नुपर्ने निर्देशन दिइएको थियो ।

गैरभौगोलिक प्रदेशले २५ लाख र प्रवास कमिटीले एक करोड सङ्कलन गर्ने भनिएको थियो । त्यस्तै, भवन निर्माणका लागि प्रत्येक केन्द्रीय सदस्यले पाँच हजार, संघीय परिषद् सदस्यले दुई हजार र साधारण सदस्यले पाँच सय रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो ।

त्यसमध्ये अधिकांशले रकम सङ्कलन नै नगरेको पार्टी स्रोतले जनाएको छ । सोही समय कोरोना महामारी सुरु भएपछि कार्यालय भवन बनाउने योजना थन्किएको थियो । पार्टीको महाधिवेशनपछि आफ्नै भवन निर्माणका लागि जसपा नेपालले फेरि सक्रियता बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?