मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
दलका कार्यालयबारे चर्चा

किसुनजीले किनेका थिए कांग्रेसलाई जग्गा, माओवादीले कसरी बनायो आफ्नै पार्टी कार्यालय ?

भाडाको घरमै रास्वपा, दानमै ठड्यायो राप्रपाले दुई ठाउँमा जग्गासहितको भवन
मङ्गलबार, २९ असोज २०८१, १६ : ०८
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । व्यवसायी मीन बहादुर गुरुङले दान दिएको जग्गामा एमाले पार्टी कार्यालय बन्ने समाचार सार्वजनिक भएसँगै त्यसबारे विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । बाढी पहिरोले हजारौँ मानिसहरू घरबारविहीन भएको बेला सरकारको नेतृत्वकर्ता दल एमालेको पार्टी कार्यालयका लागि व्यवसायीले जग्गा दान दिनु र भवनसमेत व्यवसायी आफैले बनाइदिने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा तर्क वितर्क सुरु भएका हुन् ।

एमालेको विषयमा प्रश्न उठिरहेका बेला अन्य दल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका पार्टी कार्यालय कहाँ र कसरी चलेका/बनेका छन् बन्ने चासो पनि उस्तै छ । यसै मेसोमा रातोपाटीले चार पार्टीको पार्टी कार्यालयका विषयमा एक सामग्री पस्केको छ ।  

किसुनजीले किनेका थिए कांग्रेसलाई जग्गा

संसदको पहिलो ठुलो दल नेपाली कांग्रेसको पार्टी कार्यालय विगत लामो समयदेखि ललितपुरको सानेपामा छ ।

तत्कालीन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको समयमा पार्टीले जग्गा किनेर उक्त स्थानमा पार्टी केन्द्रीय कार्यालय भवन बनाएपछि कांग्रेसको पार्टी कार्यालय टेकुबाट २०६३ सालमा चक्रपथ नजिकै सानेपा सरेको हो ।

‘तीन चार वर्ष लगाएर पार्टी आफैँले भवन बनाएपछि टेकुबाट हामी सानेपा सरेका हौँ’, काँग्रेस नेता शोभाकर पराजुलीले भने, ‘पहिले पार्टी नेता कार्यकर्ताबाट सहयोग उठाएर किसुनजीका नाममा जग्गा किनियो र पछि उक्त जग्गा पार्टीको नाममा हस्तान्तरण भएको हो ।’  

कांग्रेस नेताहरूका अनुसार पार्टी कार्यालय भएको उक्त जमिन सात रोपनी भन्दा बढी रहेको छ । 

माओवादीको पनि आफ्नै पार्टी कार्यालय   

२०६२/६३ मा तत्कालीन नेकपा(माओवादी) शान्ति प्रक्रियामा आएपछि केन्द्रीय कार्यालय राख्ने ठाउँको खोजीमा थियो । कोटेश्वरस्थित पेरिसडाँडामा जग्गा खाली रहेको सूचना माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेडयुनियन महासंघले पायो ।

सूचना पाएलगत्तै महासङ्घका तत्कालीन नेताहरू शिव कट्टेल सहितका नेताहरू घर– जग्गा हेर्न पेरिसडाँडा गए । सबै कुरा बुझ्दै जाँदा हाल केन्द्रीय कार्यालय भएको घर–जग्गा भीमबहादुर धाख्वाको भएको पत्ता लाग्यो । पेरिस नामको होटेल सञ्चालन गर्ने तयारीमा धाख्वा थिए । तर होटेल बनिसक्दा पनि बाटो नभएकाले समस्या परेको रहेछ । राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर होटेल सञ्चालन गर्न खोजेका रहेछन् ।

तर लामो समय होटेल सञ्चालन गर्न नसकेपछि बैंकले घर–जग्गा लिलामीको सूचना निकालेको रहेछ । यता उक्त ठाउँ लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गएकाले वरिपरिका मानिसहरू त्रसित बनेका थिए । एकपछि अर्को अप्ठ्यारोमा धकेलिँदै गएपछि अप्ठ्यारोमा परेका ऋणीको धितो बैंकबाट फुकुवा गरी माओवादीले घर–जग्गा खरिद गरेको हाल माओवादी ललितपुर जिल्लाका संयोजक रहेका कट्टेलले दाबी गरेका छन् ।

उक्त घर–जग्गा ट्रेड युनियन महासंघकै नाममा रहेको कट्टेलले जानकारी दिए । अहिले क्यान्टिन सञ्चालन भएको जग्गासहित उत्तर, पूर्व–उत्तर, पूर्व–दक्षिण मोहडामा रहेको जग्गा भने पार्टीको नाममा रहेको कट्टेल बताउँछन् । उनका अनुसार केन्द्रीय कार्यालय भएको जग्गा २ रोपनी ८ आना रहेको छ । केन्द्रीय कार्यालय जाने बाटोको दायाँ–बायाँ २०/२० आना गरी जम्मा पाँच रोपनी रहेको छ । ‘माओवादी पार्टी कार्यालय पार्टीले खरिद गरेको हो । त्यतिबेलाका घर–जग्गा धनी डुबेको अवस्था थियो । भीमबहादुर धाख्वाले बैंकमा धितो राखेका थिए । ऋण तिर्न नसक्दा लिलामीमा निस्किएको थियो । उसका थुप्रै कारोबार बिग्रिएका थिए । बैंकको ऋण चुक्ता गरी कालोसूचीबाट हटाइदिएका थियौँ’, उनले भने, ‘साम, दाम, दण्ड, भेद केही गरेको होइन । ऋणी, बैंक र माओवादी सबैलाई मान्य हुने गरी खरिद गरिएको हो । बैंकको पैसा हामीले चुक्ता गरिदियौँ । बाँकी रहको पैसा ऋणीले पायो । त्यसपछि पार्टी कार्यालय बस्यो । केन्द्रीय कार्यालय भएको बिल्डिङ जस्ताको तस्तै हो केही चलाएको छैन ।’

गेटभित्रको जग्गा त्यतिबेला बैंकलाई २ करोड तिरेर सकारेको र बाँकी ७४ लाख ऋणीलाई बुझाएको उनले दाबी गरे । गेट बाहिरको बाँकी ४० आना विभिन्न काल खण्डमा व्यक्तिबाट खरिद गरिएको कट्टेलले बताए ।

‘क्यान्टिन भएको १२ आना एक करोड ३८ लाखमा लिएको हो । बाटो माथिको २ करोड ५० लाखमा लिएको हो । बाँकी ८ आना जग्गा कटुवाल थर भएका व्यक्तिसँग दुई वर्षअघि मात्र पार्टीले खरिद गरेको हो । ऋणीको आन्तरिक कारण के के थियो थाहा थिएन । मेरो विचारमा बाटो नभएकै कारण होटेल सञ्चालन गर्न नसकी ऋणी डुबेको हो । जग्गा खरिद गरेपछि मात्र हामीले बिचबाट बाटो झिकेर कार्यालय जाने बनाएका हौँ । पहिला त्यहाँ बाटो थिएन’, जग्गाको अवस्थाबारे जानकारी दिँदै कट्टेलको भनाइ छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव तथा कोषाध्यक्ष श्रीराम ढकालले विभिन्न व्यक्तिसँग पार्टीले खरिद गरेकाले कुनै विवाद नभएको दाबी गरे ।

‘केन्द्रीय कार्यालय भएको जग्गा ट्रेडयुनियन महासंघको नाममा छ । उसले ०६६ मा खरिद गरेको हो । कम्पाउन्डभन्दा बाहिरको जग्गा पार्टीले विभिन्न समयमा व्यक्तिसँग र क्यान्टिन भएको ठाउँको १२ आना जग्गा शिव कट्टेलसँग खरिद गरेको हो । त्योभन्दा अगाडिको ८ आना कटुवालसँग किनेको हो । बाटोभन्दा माथि ६ कित्ता, मुनि २ कित्ता रहेको छ । कट्टेलसँग ०६९ मा किनेको हो । कटुवाल थर भएका एक व्यक्तिसँग दुई वर्ष अघि मात्र खरिद गरेको हो’, ढकालले भने ।

कटुवालसँग पाँच करोड रुपैयाँमा खरिद गरिएको भएपनि अन्य जग्गाको विषयमा यकिन थाहा नभएको उनले बताए । कार्यालयमा रेकर्ड हेरेर मात्र विस्तृत रूपमा भन्न सकिने ढकालले जानकारी दिए ।

पार्टी नेताको घरमा रास्वपाको कार्यालय

संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय भने भाडाको घरमा सञ्चालित छ ।

पार्टी गठनपछि रास्वपाले वनस्थलीस्थित पार्टीकै नेतासमेत रहेका भरतमणि देवकोटाको घर भाडामा लिएर पार्टी कार्यालयका रूपमा सञ्चालन गरेको हो ।

सो पार्टीले आर्थिक वर्ष २०७९/८० मा घर भाडावापत २९ लाख २४ हजार ८५० र आर्थिक वर्ष २०८०/८१ मा ४६ लाख २० हजार खर्च गरेको लेखा परीक्षणमै देखाएको छ ।

रास्वपा बसेको घर पार्टी केन्द्रीय अनुशासन आयोग प्रमुख भरतमणि देवकोटाको भएपनि पार्टीले मासिक साढे ३ लाख भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको सो पार्टीका नेताहरु बताउँछन् ।

‘हामीले मासिक भाडा तिरेर वनस्थलीमा पार्टी कार्यालय सञ्चालन गरेका छौँ‚’ केन्द्रीय सदस्य गणेश कार्कीले रातोपाटीसँग भने‚‘हामीले पुरै घर लिएको हैन । घरको आधा भाग लिएका हौँ । त्यसमाथि हामीले पार्टी अफिस बसेको दोस्रो तला पनि प्रयोग गर्न पाउँदैनौँ ।’ 

दानमै बनेका हुन् राप्रपाका पार्टी कार्यालय

संसदको पाँचौँ ठुलो दल राप्रपाको दुई वटा पार्टी कार्यालय छन् । धुम्बाराही र चाबहिल चारुमतिमा रहेका ती कार्यालय दानमै ठडिएका हुन् ।

पशुपतिशमशेर राणाले २०६३ सालमा चाबहिलमा पार्टीलाई घर किनिदिएका थिए । त्यतिबेला राप्रपाका अध्यक्ष समेत रहेका राणाले घर नै खरिद गरेर पार्टीको नाममा पास गरिदिएका हुन्  । यस्तै जनआन्दोलनपछि राप्रपाबाट छुट्टिएर कमल थापाले राप्रपा नेपाल बनाए भने २०७० सालमा व्यवसायीसमेत रहेका तत्कालीन राप्रपा नेपालका नेता दिलविकास राजभण्डारीको जग्गादानमा पार्टी कार्यालय बनाइयो ।

पछि राप्रपा र राप्रपा नेपालबीच एकता भएर राप्रपा कायम भएपछि दुवै पार्टी कार्यालय अहिले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाले नै चलाउँदै आएको छ ।

यसबिचमा राप्रपा एकीकरणपछि भएको महाधिवेशनमा पराजित भएसँगै कमल थापाले पार्टी छाडेर राप्रपा नेपाल नै चलाउँदै आएपनि उनले धुम्बाराहीको कार्यालय पाएका छैनन् । हाल उनले हाँडीगाउँमा भाडाको कार्यालयमार्फत पार्टीका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

राप्रपाका नेता जनकराज पाठकका अनुसार अहिले राप्रपाको दुई कार्यालय रहेपनि मुख्य काम कारबाही धुम्बराहीस्थित दिलविकासराज भण्डारीले दिएको जग्गामा बनेको भवनबाट हुँदै आएको छ ।  चाबहिलस्थित कार्यालयमा भने पार्टीका विभागहरूका अफिस रहेका छन् । चाबहिलस्थित कार्यालयमा राणा र उनकी श्रीमती उषाराज्यलक्ष्मीको दानमा निर्माण भएको भनेर शिलालेखमा नै लेखिएको छ ।

यस्तै धुम्बराहीमा बनेको कार्यालयका लागि दिलविकासराज भण्डारीले २०७० चैत २३ गते कमल थापालाई ८ आना जग्गा हस्तान्तरण गरेका थिए । तर, उक्त जग्गा हालसम्म पार्टीको नाममा पास भने गरिएको छैन । प्रभा चापागाई र कल्याणी राजभण्डारीको नाममा रहेको उक्त जग्गामाथि हाइटेन्सन लाइन रहेको र त्यहीमुनी राप्रपाको कार्यालय बनाइएको भनेर बेलाबेलामा विवाद समेत हुँदै आएको छ ।

भण्डारी कमल थापाको राष्ट्रवादी छवि भएकाले त्यतिबेला आफू प्रभावित भएर सो जग्गा दिएको स्मरण गर्छन् । तर, उनी अहिले कमल थापासँग छैनन् भने राजेन्द्र लिङ्देनको पार्टीमै उपाध्यक्ष भएपनि खासै सक्रिय भएको देखिँदैन । उनले पार्टी एकीकृत हुँदै बलियो राष्ट्रवादी शक्ति भएको हेर्ने अहिले पनि चाहना भएको भएपनि गुटबन्दी मौलाउँदै गएकाले जग्गा पास गरेर दिन सक्ने अवस्था नरहेको बताउँछन् । जग्गा पाउनकै लागि तत्कालीन अवस्थामा आफूलाई सांसद बनाउने कमल थापाले आश्वासन दिएपनि धोका दिइएको उनले गुनासो गर्दै आएका छन् । यस्तै राजेन्द्र लिङ्देनले समेत सोही आश्वासन दिएपनि आफूलाई पुनः धोका दिने काम भएको उनको भनाइ छ । दिलविकासका अनुसार उक्त दान दिएको जग्गामा भवन निर्माण गर्न आफ्नै २ करोड ५९ लाख खर्च भएको छ । तर, कमल थापाले त्यतिबेला पार्टी कार्यालय बनाउन भनेर मोटो सकम पार्टीका नेता कार्यकर्ताबाट समेत उठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?