बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

सेमिफाइनलमा स्थान बनाउन इंग्ल्याण्डसँग भिड्दै वेस्ट इन्डिज, दबाबमा दक्षिण अफ्रिका

मङ्गलबार, २९ असोज २०८१, १६ : १२
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा मंगलबार समूहगत चरणको अन्तिम खेल खेलिँदै छ । समूहगत चरणको अन्तिम खेलमा पहिलो संस्करणको विजेता इंग्ल्याण्डले पाँचौँ संस्करणको च्याम्पियन वेस्ट इन्डिजको सामना गर्दैछ ।

इंग्ल्याण्ड र वेस्ट इन्डिजबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । यी दुवै टोली प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । यो समूहबाट सेमिफाइनलमा पुग्ने कुनै पनि टोलीको टुङ्गो लागेको छैन ।

समूह ‘ए’ बाट भने चारवटै खेल जितेको अस्ट्रेलिया आठ अङ्कसहित पहिलो र चारमध्ये तीन खेलमा विजयी भएको न्युजिल्यान्ड ६ अङ्कसहित दोस्रो हुँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘ए’ मा रहेका भारत, पाकिस्तान र श्रीलंका भने पहिलो चरणबाटै घर फर्किएका छन् ।

मंगलबारको खेलपछि समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ । समूह ‘बी’ तालिकामा आफ्नो तीनवटै खेलमा विजयी भएको इंग्ल्याण्ड ६ अङ्कसहित पहिलो र चारमध्ये तीन खेलमा जित हात पारेको दक्षिण अफ्रिका पनि ६ अङ्कसहित दोस्रो स्थानमा छन् ।

England

तीनमध्ये दुई खेलमा जित हात पारेको वेस्ट इन्डिज भने चार अङ्कसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको बंगलादेश र पाँचौँ स्थानमा आसीन स्कटल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

बंगलादेशले चारमध्ये एक खेलमा जित हात पार्‍यो भने पहिलो पटक सहभागिता जनाएको स्कटल्यान्ड चारवटै खेलमा पराजित भयो । इंग्ल्याण्डको नेट रन रेट १.७१६, दक्षिण अफ्रिकाको नेट रन रेट १.३८२ र वेस्ट इन्डिजको नेट रन रेट १.७०८ रहेको छ ।

दोस्रो स्थानमा आसीन दक्षिण अफ्रिकाभन्दा तेस्रो स्थानमा आसीन वेस्ट इन्डिजको नेट रन रेट अहिले पनि बलियो अवस्थामा छ । त्यसैले मंगलबारको खेलपछि दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिने सम्भावना पनि उत्तिकै छ ।

मंगलबारको खेलमा इंग्ल्याण्डलाई हराउन सके वेस्ट इन्डिज सजिलै सेमिफाइनलमा पुग्नेछ । यस्तो स्थितिमा तीनवटै टोलीको समान ६–६ अङ्क हुनेछ । त्यसपछि नेट रन रेटका आधारमा अघिल्लो चरणमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।

वेस्ट इन्डिजले इंग्ल्याण्डलाई हराए दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिने बढी सम्भावना देखिन्छ । तर, वेस्ट इन्डिजसँग ठुलो अन्तरले पराजित भए इंग्ल्याण्डको रन रेट पनि ओरालो लाग्नेछ र यस्तो स्थितिमा दक्षिण अफ्रिका अगाडि बढ्ने सम्भावना पनि कायमै रहन्छ । तर, इंग्ल्याण्डले वेस्ट इन्डिजलाई हराए इंग्ल्याण्डसँगै दक्षिण अफ्रिका प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको थियो । दोस्रो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको थियो । इंग्ल्याण्डले आफ्नो तेस्रो खेलमा भने स्कटल्यान्डलाई १० विकेटले फराकिलो अन्तरले पाखा लगाएको थियो ।

यसैगरी, वेस्ट इन्डिजको टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा क्यारेबियन टोलीले स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले बंगलादेशलाई आठ विकेटले पराजित गरेको थियो ।

यसअघिको तथ्याङ्कलाई हेर्दा पनि वेस्ट इन्डिजभन्दा इंग्ल्याण्ड बलियो देखिन्छ । हालसम्म यी दुई टोलीबिच कुल २८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा इंग्ल्याण्ड विजयी भएको छ । आठ खेलमा भने वेस्ट इन्डिजले इंग्ल्याण्डलाई हराएको छ । सन् २०१२ मा खेलिएको एक खेल भने बराबरीमा सकिएको थियो ।

इंग्ल्याण्ड र वेस्ट इन्डिजले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउन थालेका हुन् । यी दुवै राष्ट्रले हालसम्म एक–एक पटक महिला टी–२० विश्वकपको उपाधि जितेका छन् । हालसम्म अस्ट्रेलियाका अतिरिक्त यी दुई राष्ट्रले मात्र यो विश्वकपको उपाधि चुम्न सकेका छन् ।

इंग्ल्याण्डले सन् २००९ मा घरेलु मैदानमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । यसका अतिरिक्त इंग्ल्याण्डको टोली तीनपटक फाइनलमा पराजित भएको छ ।

सन् २०१२ मा सम्पन्न तेस्रो संस्करणको फाइनलमा इंग्ल्याण्डलाई अस्ट्रेलियाले चार रनले हराएको थियो । सन् २०१४ मा सम्पन्न चौथो संस्करणको फाइनलमा इंग्ल्याण्डलाई अस्ट्रेलियाले ६ विकेटले हराएको थियो । सन् २०१८ मा सम्पन्न विश्वकपको फाइनलमा पनि अस्ट्रेलियाले नै इंग्ल्याण्डलाई आठ विकेटले पराजित गरेको थियो ।

West Indis

यसैगरी, वेस्ट इन्डिजले सन् २०१६ मा सम्पन्न पाँचौँ संस्करणको फाइनलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यसयता क्यारेबियन टोली एकपटक पनि महिला टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

इंग्ल्याण्ड यसपटक अनुभवी खेलाडी हिथर नाइटको कप्तानीमा रहेको छ । ३३ वर्षीया हिथर नाइट इंग्ल्याण्डकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेकी छन् । उनको बलिङ पनि उत्कृष्ट छ ।

यसैगरी, वेस्ट इन्डिज यसपटक हायली म्याथ्यूजको कप्तानीमा रहेको छ । २६ वर्षीया म्याथ्यूज टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । आफूले खेलेको दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले उत्कृष्ट शतक बनाएकी छन् । उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएकी छन् ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इंग्ल्याण्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?