मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

दसैँ पहिलेजस्तो रमाइलो छैन

मङ्गलबार, २९ असोज २०८१, १५ : ३४
मङ्गलबार, २९ असोज २०८१

दसैँ हाम्रो राष्ट्रिय सांस्कृतिक पर्व हो । यसको आफ्नै मौलिकता भएकाले विश्वभर रहेका नेपालीले कुनै न कुनै तरिकाबाट यो पर्व मनाइरहेका छन् । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ । 

त्रेता युगमा यही दिनमा भगवान् श्रीरामले सीताको हरण गर्ने रावणको वध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशमीको दिनमा रावणमाथि विजय हासिल गरेको भएर यस दिनलाई बडादसैँ एवं विजयदशमीको नामले पुकारिन्छ । दसैँलाई असत्यमाथि सत्यको विजयको रूपमा हेरिन्छ । 

दसैँले संस्कृतिसँगै सामाजिकीकरणलाई सहयोग गर्दछ । सम्बन्धको सुधार, समाजका मान्यगन्यप्रति सद्भाव र समपर्णको भाव दर्शाउँछ । समाजको एकताको रूपमा पनि यो चाडको ठुलो महत्त्व छ । छिन्नभिन्न भएको समाजलाई जोड्ने, परदेशमा रहेकाहरू मातृभूमि आउने एउटा माध्यम पनि हो । दसैँको अर्काे महत्त्व भनेको परदेशमा रहेका नेपाली हिन्दु धर्मावलम्बीले हामी नेपाली र हाम्रो पर्व भनेर योे पर्व मनाउने गर्छन् । अहिले त केही ठुला कम्पनीले हाम्रो पर्वको महत्त्वबारे बुझेपछि बिदा दिने चलनको सुरुवात भएको छ । यो कुराले पनि हाम्रो सामाजिक पक्षलाई न्याय गर्छ । 

यसपालि मेरो दसैँ थिएन, तर विगतको दसैँ सम्झेर अहिले पनि गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ । केही वर्षअघिको गाउँ फिर्ता ल्याउन पाए पनि हुन्थ्यो भन्ने लागिरहन्छ । त्यो बेलाको दसैँ आइदिए हुन्थ्यो भन्ने लाग्छ । हुन त दसैँ त्यही रहेछ, फेरिएको त गाउँ रहेछ, हामी रहेछौँ । आज न त्यो हिजोको रातोमाटो र कमेरोले पोतेका गाउँघर छन्, न मान्छेलाई समय छ, न ती साथी न त ती मान्छे छन् । 

जहाँको पिङ लामो छ, त्यसको चर्चा वरपर गाउँसम्म फैलिन्थ्यो । पिङको लट्ठो चोरी गर्ने, लट्ठो काटिनेजस्ता अराजक काम पनि भइरहन्थे । टोलको एउटा प्रतिष्ठाको विषय बनेर दसैँमा पिङ मच्चिइरहन्थ्यो । 

घट्टबाट धान मकै कुटेर ल्याएको याद छ । चिउरा कुट्न गाउँभरिका मान्छे दुई घण्टाको बाटो भिजाएको धान बोकेर गएको धेरै भएको छैन । घर–घर पुगेर बाबियोको मुठो संकलन गरी लिङ्गे पिङको लट्ठो तयार हुन्थ्यो । बा–हजुरबाले लट्ठो बाटिदिन्थे । दाइ र काकाहरूले बाँस काटेर पिङ तयार पारिदिन्थे । चौतारीको वर–पीपलको हाँगोमा पिङ हाल्ने चलन पनि छ । रुखको हाँगो उचाइमा छ र मोटो छ भने त्यहाँ पनि पिङ बनाउन सकियो, तर लिङ्गे पिङको जस्तो मजा यसमा कहाँ आउँथ्यो र !

जहाँको पिङ लामो छ, त्यसको चर्चा वरपर गाउँसम्म फैलिन्थ्यो । पिङको लट्ठो चोरी गर्ने, लट्ठो काटिनेजस्ता अराजक काम पनि भइरहन्थे । टोलको एउटा प्रतिष्ठाको विषय बनेर दसैँमा पिङ मच्चिइरहन्थ्यो । 
अग्लो ठाउँबाट तल हेर्दा रिङ्गटा लाग्ने पनि दसैँको दिन लट्ठोमा टीका–जमरा चढाएर पिङमा एक सर्काे मच्चिएर आकाश छुन खोज्थे । त्यो समय कस्तो रमाइलो हुन्थ्यो । घर–गाउँमा कसैको बिहे व्रतबन्ध हुँदा बत्ती कात्ने, टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको पनि एक दशक पुगेको छैन । तर आज गाउँमा न मान्छे छन्, न त यसरी काम हुन्छ । शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन् । केवल मृत्युको पर्खाइमा रहेका बुढाबुढी गाउँ कुरेर बसेका छन् । यस्तो लाग्छ उनीहरूको मृत्युमा मलामी जाने मान्छे समेत गाउँले गुमाइसकेको छ । यो देख्दा अचेल पटकपटक मन दुखिरहन्छ । 

हिजो बचपनमा मसित खेल्ने साना–ठुला कोही साथी पनि गाउँमा भेटिँदैनन् अधिकांश त मजस्तै विदेश पलायन भएका छन् भने स्वदेशमा बस्नेहरू पनि सहरमा छन् । गाउँमा बसिरहँदा लुकामारी, दौड, फुटबल, चुंगी, चङ्गाचेट र एकखुट्टे खेलेका हरेक ठाउँ दसैँ आगमनसँगै पुनर्ताजगी हुन्छन् । ठाउँ त त्यस्तै छ, अलिकति बढी विकास पुगेको मात्रै हो, तर ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्ति कोही छैनन् । त्यतिका वर्षसम्म आफू खेले, हुर्के र पढेको गाउँमा कोही नभएपछि लाग्यो– भौतिक विकासमा पनि भावना जोडिनुपर्ने रहेछ, भावना नजोडिएको गाउँको विकास खासै अर्थपूर्ण नहुने रहेछ । साँच्चिकै भन्ने हो भने गाउँको विकासले न गाउँ बनायो न त सहर । 

सहर–बजारदेखि गाउँबस्तीसम्म पहिले र अहिले धेरै अन्तर आइसकेको छ । देशको राजनीतिक अवस्था र जनताका पीडा आमने–सामने उभिएका छन् भन्दा हुन्छ । हिजो सहर–बजारले आफ्नो गतिमा विकास क्रमलाई ध्यान दिइरहेका थिए भने आज दुर्गम क्षेत्रमा पनि उस्तै विकासको दौड चलिरहेको छ । तर, देश खाली छ, रोजगारी सिर्जना छैन । देशबाट दसैँ, तिहार नभनी युवाहरू विदेश पलायनको गन्तव्य तय गरिरहेका छन्, राज्य मौन छ । अरु बेला बिदेसिन रोक्न नसके पनि चाडबाडका बेला युवालाई रोक्न सक्ने अवस्थामा पनि देश छैन । 

विदेश गएकामा बिछोडिएका परिवारका पीडा–रोदन सहितका निराशा छन् । जान नपाएकाको नेपालमा केही छैन भन्ने निराशा उत्तिकै छ । पैसाले सहारा दिए पनि साहस भने आफ्नै परिवारमा भेटिन्छ भन्नेहरू पनि छन्, तर धेरै घर रित्तिएका छन् गाउँमा वृद्धबाहेक उत्पादनसँग जोडिने ऊर्जाशील जनसंख्या छैन । 

आफ्नै देशमा बसेर मिहिनेत गर्छु भन्नेलाई अवसर छैन । भएका अवसरमा पहुँच छैन । भत्किएका सडक दसौँ वर्षसम्म बन्दैनन् । किसानले मूल्य नपाएर आफ्ना उत्पादन सडकमा पोख्छन्, बिचौलियाले अस्वाभाविक मूल्य तोक्छन् । उपभोक्ता भने मूल्य र गुणस्तरमा सधैँ ठगिन्छन् । राज्य मूकदर्शक बनिदिन्छ । उद्योगी–व्यापारीको निराशा उस्तै छ, व्यापार छैन । आम्दानी गरौँला, रोजगारी दिउँला भनेर महत्त्वाकांक्षी योजना बनाएर व्यवसाय गर्दा लागेको ऋण बुझाउन भएभरको जग्गा–जमिन लिलाम गर्नुपरेको तिता कथा–कहानीले गर्दा पनि देशले दसैँ मनाउन सकिरहेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप

छुटाउनुभयो कि ?