मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाको पहिलो महाधिवेशन : चैत पहिलो साताभित्र जिल्ला अधिवेशन सक्ने तयारी

पालिका तहको अधिवेशन बाँकी रहे  केन्द्रीय महाधिवेशन पछिमात्रै
मङ्गलबार, २९ असोज २०८१, १५ : १२
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । संसद्को चौथो ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीले महाधिवेशन केन्द्रित भएर वडा तहबाट अधिवेशन सुरु गरिसकेको छ ।

 पार्टी सङ्गठन विभागका अनुसार करिब ४ सय वडाको अधिवेशन सम्पन्न गरेको रास्वपाले यही कार्तिक १ गतेबाट जिल्ला भेलाहरूलाई निरन्तरता दिने तयारी गरेको छ । महाधिवेशनका लागि वडा तहबाटै अधिवेशन सुरु गर्ने रास्वपा विधानमा लेखिएको छ ।

पार्टीको संशोधित विधान अनुसार पार्टीले तल्ला तहका अधिवेशनलाई निरन्तरता दिएको सङ्गठन विभाग सचिव शंकर श्रेष्ठले बताए । सोही अनुसार दसैँ अघि प्युठान जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उनले बताए । कार्तिक १ बाट बाँकी रहेका जिल्लाहरूको भेला निरन्तर अघि बढाउने तयारी पार्टीले गरिसकेको उनले बताए ।

 ‘जिल्ला भेलाले संशोधित विधान अनुरूप तदर्थ समिति गठन गर्छ । कार्तिक १ बाट निरन्तर हामी जिल्ला भेलाहरू अघि बढाउनेछौँ‚’ श्रेष्ठले रातोपाटीसँग भने ।

पार्टीले माघपछि नसकिएका वडा तथा पालिका अधिवेशन स्थगन गर्ने तयारी गरेको छ । माघभित्र जति स्थानीय तहमा अधिवेशन सकिन्छ सम्पन्न गर्ने र बाँकी रहेका स्थानमा केन्द्रीय महाधिवेशन पश्चात् अधिवेशन गर्ने गरी तयारीमा पार्टी सङ्गठन विभाग छ ।

२०८१ साल असोज १ र २ गते बसेको रास्वपाको पहिलो राष्ट्रिय भेलाले महाधिवेशन गर्ने घोषणा गरेको थियो । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको मिति घोषणा गरेका थिए । 

सभापति लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गतेको लागि महाधिवेशन मिति घोषणा गरेका हुन् । सोही क्रममा उनले रास्वपाको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा समेत परिवर्तन गरिएको घोषणा समेत गरेका थिए । सो पार्टी ७ असार ०७९ मा स्थापना भएको थियो ।

कार्तिक अन्तिम वा मङ्सिरभित्र जिल्ला भेला सकेर तदर्थ समिति गठन गरेपछि पार्टीले फागुन अन्तिम वा बढीमा चैत पहिलो हप्ताभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यस्तै‚ सातै प्रदेशको अधिवेशन चैत अन्तिम वा बढीमा वैशाख पहिलो हप्ताभित्र सक्ने तयारीमा रास्वपा रहेको छ । त्यसपश्चात् केन्द्रीय अधिवेशन गर्ने तयारीमा पार्टी रहेको छ । यद्यपि पार्टीले केन्द्रीय अधिवेशन कहाँ गर्ने भन्ने निर्णय भने गरिसकेको छैन ।

‘वडा देखि स्थानीय तहको अधिवेशन धमाधम भइरहेको छ । पार्टीले जिल्ला र प्रदेश अधिवेशन कहिले सम्पन्न गर्ने भनेर तालिका भने बनाइसकेको छैन‚’ केन्द्रीय सदस्य गणेश कार्कीले भने । 

रास्वपाले राष्ट्रिय भेलाबाट विधान संशोधन गराएको हो । संशोधित विधान हाल निर्वाचन आयोगमा पठाइएको र उक्त विधान केही दिनभित्रै सार्वजनिक हुने सङ्गठन विभाग सचिव श्रेष्ठले जानकारी दिए ।

विधानतः पार्टीमा ६ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि आउनेछन् । पालिका तहबाट सभापति वा तोकिएको व्यक्ति अनिवार्य महाधिवेशन प्रतिनिधि आउनेछन् । यस्तै‚ गाउँपालिकाबाट १‚ नगरपालिका बाट २ जना‚ उपमहानगर पालिकाबाट ३ र महानगर पालिकाबाट ४ जना गरी पालिका अधिवेशनले तोकेको व्यक्ति महाधिवेशन प्रतिनिधि आउने विधानको व्यवस्था छ ।

‘पार्टीको पालिका तहदेखि जिल्ला‚ प्रदेश विभिन्न विभाग लगायतबाट ६ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू आउनु हुनेछ‚’ श्रेष्ठले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?