नेकपा बहुमतले माओवादी केन्द्रसँग एकता गर्न लागेको हो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको तिहारअघि बस्ने भनिएको केन्द्रीय समिति बैठकले विभिन्न माओवादी घटकसँग पार्टी एकताबारे औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबाट अलग भएका महिन्द्र राय यादव समूहसँग तत्काल एकता हुने बताएको छ । यही बिचमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको नेकपा बहुमतले समेत माओवादीसँग एकता गर्न लागेको चर्चा चल्न थालेको छ ।
तर सो पार्टीले भने नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सम्भावनानभएको प्रतिक्रिया दिएको छ । संयोजक धर्मेन्द्र बास्तोलाले माओवादी घटकसँग एकता गर्ने पार्टीको योजना भएपनि माओवादी केन्द्रसँग यथास्थितिमा एकता सम्भव नभएको प्रतिक्रिया दिए ।
‘पार्टी एकताका लागि तीन वटा घेरा बनाएका छौँ । पहिलो घेरामा माओवादी घटकसँग, दोस्रो घेरामा कम्युनिस्ट पार्टीसँग र तेस्रो घेरामा समाजवादी पार्टीसँग सहकार्य वा एकता गर्ने पार्टीको योजना छ’, रातोपाटीसँग बास्तोलाले भने, ‘तर छद्म वा खुला रूपमा संसदवादलाई अंगालेसम्म माओवादी केन्द्र वा विप्लवसँग एकता हुँदैन । प्रचण्ड र विप्लवजीले खुला रुममा संसदीय पुँजीवादलाई अङ्गाल्नुभएको छ । वैद्य र आहुतिजीले छद्म रूपमा अङ्गाल्नुभएको छ । जहाँसम्म यी दुवै प्रवृत्ति उहाँहरूले तोड्नु हुँदैन तबसम्म पार्टी एकता हुन सक्दैन । उहाँहरूले समाजवादी आन्दोलन गर्ने आधार पनि रहँदैन ।’
अहिले संगठन विस्तार र पार्टी पुनर्गठनका लागि आफूहरू लागिरहेकाले छिट्टै पार्टीको बैठक बसेर महाधिवेशनको मिति तय गर्ने उनले बताए । विप्लवबाट अलग भएपछि बैद्यसँग एकता महाधिवेशन गर्ने तयारी हुँदै गर्दा धर्मेन्द्र पक्षले वैचारिक र सैद्धान्तिक मतभेद भएपछि गएको साउनमा एकता असफल भएको घोषणा गरेको थियो ।