मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

प्रतिकूल परिस्थितिबिच बीपीएल खेल्न चटगाउँ किङ्समा आबद्ध भए सकिब अल हसन

मङ्गलबार, २९ असोज २०८१, १४ : ३७
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सकिब अल हसनले चटगाउँ किङ्सबाट खेल्ने भएका छन् । चटगाउँ किङ्सले बीपीएलका लागि सकिबसँग सम्झोता गरेको हो ।

यसअघि उनी रंगपुर राइडर्समा आबद्ध थिए । उनले अघिल्लो सिजनको बीपीएल पनि रंगपुर राइडर्सबाटै खेलेका थिए । त्यतिबेला उनले रंगपुर राइडर्ससँग दुई वर्षका लागि सम्झौता गरेका थिए । रंगपुर राइडर्ससँग उनको सम्झौता अवधि अझै एक वर्ष बाँकी थियो ।

तर, दुबै पक्षले आपसी समझदारीमा सम्झौता रद्द गर्ने निर्णय लिएपछि सकिबको चटगाउँ किङ्समा आबद्ध हुने बाटो खुलेको हो । पछिल्लो समय सकिब गम्भीर समस्यासँग जुधिरहेका छन् । उनीमाथि हत्याको आरोप लागेको छ ।

प्रभावशाली अलराउन्डर सकिबले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा पनि गरिसकेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध मिरपुर (सकिबको गृहनगर) मा खेलिने टेस्ट नै आफ्नो लागि अन्तिम खेल हुने बताएका थिए ।

कुनै कारणले दक्षिण अफ्रिकाविरुद्धको त्यो टेस्टमा खेल्न सम्भव नभए हालै सम्पन्न भारतविरुद्धको टेस्ट शृंखला नै आफ्ना लागि अन्तिम खेल हुने पनि सकिबले बताएका थिए । उनले टेस्टसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास घोषणा गरिसकेका छन् ।

आफ्नो खेलजीवनको उत्तरार्धतिर आएर ३७ वर्षीय सकिब नराम्रो बिवादमा फसेका हुन् । बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि उनीमाथि हत्याको आरोप लागेको छ । हत्याको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी पनि दर्ता भइसकेको छ ।

बंगलादेशमा करिब तीन महिनासम्म चलेको विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना देश छाडेर हिँडेपछि क्रिकेटर सकिब पनि बिवादमा तानिएका हुन् । सकिब शेख हसिनाको पार्टी निकट रहेका थिए । रफिकुल इस्लाम नामक एक व्यक्तिले आफ्नो छोराको हत्याको आरोपमा सकिबसहित एक सय ५६ जनाविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भने घरेलु मैदानमा खेल्दा आफूहरुले सकिबलाई सुरक्षा दिन नसक्ने बताउँदै आएको छ । यद्दपि, बीसीबीले न्यायालयबाट हत्याको आरोप प्रमाणित नभएसम्म सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्न रोक नलगाउने अडान पनि लिएको छ ।

त्यसैले बीपीएलको आगामी संस्करण खेल्न चटगाउँ किङ्ससँग सम्झौता गरे पनि सकिबका लागि घरेलु मैदानमा क्रिकेट खेल्नु त्यति सहज छैन । परिवर्तित राजनीतिक परिदृश्यपछि बंगलादेशभित्रै उनको ब्यापक विरोध हुँदै आएको छ ।

त्यसैले घरेलु मैदानमा खेल्न उनका लागि कडा सुरक्षाब्यवस्था आवश्यक छ । बंगलादेश क्रिकेट बोर्डले भने सुरक्षा उपलब्ध गराउने काम सरकारको रहेको बताउँदै आएको छ । सकिबले अलराउन्डर खेलाडी हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङसँगै बलिङका थुप्रै कीर्तिमान पनि सकिबको नाममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप