मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिपमा सहभागी हुन बंगलादेशी टोली काठमाडौँमा

मङ्गलबार, २९ असोज २०८१, १४ : ०७
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशी टोली मंगलबार काठमाडौँ आइपुगेको छ । बंगलादेशी टोलीका खेलाडी तथा पदाधिकारीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश साहलगायतका पदाधिकारीले स्वागत गरे ।

प्रतियोगितामा सहभागी हुन विभिन्न राष्ट्रका टोलीहरु नेपाल आउनेक्रम जारी छ । साफ महिला च्याम्पियनसिप आगामी कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बंगलादेश रहेका छन् । समूह ‘बी’ मा भने नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताका सहभागी टोलीहरुलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकालीस्थित खेल मैदान र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले प्रमुख प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षकत्वमा तयारी गरिरहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच खेलिने छ । नेपाली टोलीले भने आफ्नो पहिलो खेल कार्तिक २ गते साँझ भुटानसँग खेल्नछ । प्रतियोगितामा सहभागी हुन सबैभन्दा महिले पाकिस्तानको टोली काठमाडौँ आइपुगेको थियो ।

प्रतियोगिताका लागि एन्फाले आफ्नो अन्तिम टोलीको घोषणा पनि गरिसकेको छ । एन्फाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोलीमा एन्जिलाका अतिरिक्त अञ्जना रानामगर र उषा नाथले पनि गोलरक्षकका रुपमा स्थान पाएका छन् ।

डिफेन्डरका रुपमा गीता राणा, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला बिक, हिराकुमारी भुजेल र सजनी थोकरलाई समेटिएको छ । मिडफिल्डरका रुपमा रेणुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी रहेका छन् । टोलीमा अग्रपँक्तिको खेलाडीका रुपमा रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारीले स्थान पाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप