मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
नोबेल पुरस्कार

‘एआई’को भविष्यबारे इतिहासको शिक्षा

मङ्गलबार, २९ असोज २०८१, १३ : ४०
मङ्गलबार, २९ असोज २०८१

कृत्रिम बौद्धिकता (एआई) र यसले राम्रा रोजगारीमा पार्ने खतरा बिल्कुल नयाँ समस्याजस्तो देखिन्छ, तर हामी यो समस्यासँग कसरी जुध्ने भन्ने खोज्न डेभिड रिकार्डोका विचारलाई खोतल्दै छौँ । रिकार्डो आधुनिक अर्थशास्त्रका संस्थापकमध्ये एक हुन् । अझ उनी प्रत्यक्ष रूपमा औद्योगिक क्रान्तिलाई अवलोकन गरेका व्यक्ति पनि हुन् । उनको चिन्तनको विकास तथा उनको चिन्तनमा छुटेका केही विषय आजको परिस्थितिमा हाम्रा लागि धेरै उपयोगी हुन सक्छन् ।

एआईको विकाससँगै धेरै मानिसले राम्रा भनिएका जागिर गुमाउन सक्छन् । उनीहरू अझै न्यून ज्यालाको काम गर्न बाध्य हुन सक्छन् । अहिले नै ‘अल्गोरिदम’हरूले मानिसको समय र ध्यान आवश्यक पर्ने काम खोस्न थालिसकेका छन् । निजी क्षेत्रको प्रविधि कम्पनीका अगुवा भने हामीलाई कामको झन्झट घट्ने, दिक्कलाग्दा बैठक कम हुने, फुर्सदको समय थप बढ्ने साथै सम्भवतः विश्वव्यापी आधारभूत आय (युनिभर्सल बेसिक इनकम) समेत लागु हुन सक्ने वाचा गर्दै छन् । यस्तो अवस्थामा हामीले यी कुरामा विश्वास गर्ने हो कि होइन ?

रिकार्डोको प्रमुख पुस्तक ‘प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन’ १८१७ मा प्रकाशित भएको थियो । यान्त्रिक रूपमा कपास कात्ने कामबाट ठुलो परिवर्तन ल्याएर कपडा उद्योगलाई रूपान्तरण गरिसकेको समयमा लेखिएको यस पुस्तकमा उनले प्रविधिबारे सकारात्मक दृष्टिकोण राखेका छन् । तत्कालीन समयमा प्रचलित विचारलाई पच्छ्याउँदै उनले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’मा बोल्दै ‘मेसिनरीले श्रमको माग घटाएको छैन’ भनेका थिए ।

जब उत्तरी बेलायतमा मानिसका चिन्ता र विरोध व्यापक रूपमा फैलिन थाले, रिकार्डोले आफ्नो विचारमा बदल्नुपर्ने अवस्था आयो । आफ्नो पुस्तकको तेस्रो संस्करणमा उनले सशक्त घोषणा गरे— मेसिनरीले हाल कामदारले गरिरहेका सबै काम गर्न सक्छ भने त्यहाँ कामदारको माग नै नहुन सक्छ ।

सन् १७७० देखि नै कपडा उद्योगका क्षेत्रमा स्वचालित मेसिनको प्रयोगले कातिएको कपासको मूल्यमा गिरावट आएको थियो । साथै यसको प्रभावस्वरूप कपासलाई बुनेर तयारी कपडा बनाउने उद्योगमा भने कामदारको माग बढेको थियो । सन् १८१० अघिसम्म लगभग सबै कपडाको बुन्ने काम हातले गरिन्थ्यो । कपासका कपडा बुनाइमा बढेको श्रमिकको मागले लाखौँको संख्यामा बेलायतीलाई उच्च ज्यालाको काम दिलायो । यसमा उल्लेख्य मात्रामा उद्योग स्थापना पूर्वका विस्थापित कपास कात्नेहरू पनि लाभान्वित भएका थिए । पक्कै पनि यसरी सुरुमै स्वचालित उद्योगले देखाएको सुखद अनुभवले रिकार्डोको सकारात्मक दृष्टिकोण बनाउनमा भूमिका खेलेको हुनुपर्छ ।

तर ठुलो स्तरको मेसिनरीको विकास कपास कात्ने मेसिनमा मात्र सीमित रहेन । छिटै वाष्प शक्तिबाट चल्ने चर्खा (लुम)हरू कपास बुन्ने उद्योगमा तैनाथ हुन थाले । अब हातले कपडा बुन्ने कामदार आफ्नै घरमा सातामा पाँच दिन काम गरेर राम्रो कमाइ गर्ने दिन बाँकी रहेनन् । यसको सट्टामा आफ्नो परिवार र बालबच्चालाई खुवाउनकै लागि ठुला उद्योगमा लामो समय अनुशासित भएर दुःख गर्नुपर्ने अवस्था आयो ।

VFLt5vHV7aCoLrLGjP9Qwm-1200-80

जब उत्तरी बेलायतमा मानिसका चिन्ता र विरोध व्यापक रूपमा फैलिन थाले, रिकार्डोले आफ्नो विचारमा बदल्नुपर्ने अवस्था आयो । आफ्नो प्रभावशाली पुस्तकको तेस्रो संस्करण निकाल्दै सन् १८२१ मा पुस्तकमा उनले ‘मेसिनरीबारे’ शीर्षकमा नयाँ अध्याय थप गरे । परिस्थितिलाई मूल्यांकन गर्दै यसमा उनले सशक्त घोषणा गरे— मेसिनरीले हाल कामदारले गरिरहेका सबै काम गर्न सक्छ भने त्यहाँ कामदारको माग नै नहुन सक्छ । 

आजको समयको चासो पनि यस्तै हो । आजसम्म कामदारले गरिरहेका काम ‘अल्गोरिदम’ले खोस्ने घटना यसबाट विस्थापित हुने कामदारका लागि अर्को राम्रो काम पाउने सम्भावना नहुने अवस्था रहनेछ, जुन असाध्यै पीडादायी खबर हुनेछन् ।

सन् १८१० को दशकमा हाते–बुनाइको काममा संलग्न अधिकांश कामदार नयाँ उद्योगमा जान पाएनन्, किनकि मेसिनले कपडा बुन्ने चर्खामा धेरै कामदार चाहिन्नथ्यो । स्वचालित कपडा कात्ने मेसिनको समयमा अलि फरक थियो । त्यसले कपडा कात्ने मानिसलाई विस्थापित त गर्‍यो, सँगै पुरक रूपमा कपडा बुन्ने उद्योगमा ठुलो संख्यामा अवसर सिर्जना गरेको थियो, तर कपडा बुनाइमा भएको स्वचालित मेसिनको प्रयोगले त्यसरी अन्य पुरक क्षेत्रमा कामदारको माग सिर्जना गरेन । 

हामीले आजको प्रविधि उद्योगमा अभ्यास भइरहेको नवप्रवर्तन (इनोभेसन)को दिशा बदल्ने हो तथा आवश्यक नयाँ संस्थागत संरचना र नियमनको थालनी गर्ने हो भने कामदारमैत्री एआई बनाउन अझै सम्भव छ ।

बेलायती अर्थतन्त्रले नयाँ रोजगारी सिर्जना गर्नै सकेन । राम्रा रोजगारीका लागि सन् १८३० मा भएको रेलमार्गको विस्तारसम्म पर्खिनुपर्‍यो । अरु विकल्प नभएपछि कम ज्यालामा भए पनि कपडा उद्योगमा केही कामदार काम गर्न बाध्य भए । उनीहरूको पनि ज्याला घटेर आधाभन्दा तल पुग्यो ।

१९औँ शताब्दीको सुरुवातताका उद्योगमा मालिकको कडा नियन्त्रणमा बसेर यन्त्रवत् काम गर्नुपर्ने शैली हाते–लुममा काम गरेका कामदारले मन पराएका थिएनन् । उनीहरू यसलाई ‘शैतानी मिल’ भन्थे । यो ठुलो समस्यामा रिकार्डोले धेरै ध्यान दिएका थिएनन् । त्यसअघि धेरै कपडा बुन्ने कामदारले मेसिनबाट कातिएको कपास किनेर लैजान्थे, कपडा बुन्ने काम स्वतन्त्र व्यापारी वा ‘इन्टरप्रेनर’का रूपमा आफैँले सञ्चालन गर्थे तथा उत्पादित कपडा बजारमा लगेर बेच्ने गर्थे । 

V2000034

पक्कै पनि तिनीहरू लामो समय, कडा अनुशासन, न्यून स्वतन्त्रता र सामान्यतया कम ज्याला (हाते लुमको बुनाइका तुलनामा) मा काम गर्न त्यति उत्साहित थिएनन् । त्यस्तो अवस्थामा काम गर्न अस्वीकार गरेको तथा उनीहरूलाई त्यस्ता काममा जबर्जस्ती (अन्य विकल्पको अभावमा) लगाइएका सन्दर्भ त्यो समय राज्य स्तरका विभिन्न आयोगले गरेका अनुसन्धानका दस्ताबेजमा भेटिन्छन् । साथै त्यो समयका दस्ताबेज हेर्दा उनीहरूले कति त्रासदिपूर्ण जीवन बाँचेका थिए भन्ने अनुमान गर्न सकिन्छ ।

आजको ‘जेनेरेटिभ एआई’ पनि ठुलो सम्भावना बोकेर आएको छ । यसले अहिले नै वैज्ञानिक अनुसन्धान लगायत विविध क्षेत्रमा  प्रभावशाली उपलब्धि हासिल गरेर देखाइसकेको छ । कामदारको क्षमता विकास गर्न, उनीहरुलाई अझ सचेत, थप उत्पादक, अझ स्वतन्त्र र स्वावलम्बी तथा थप बहुमुखी रूपमा क्षमता विकास गर्न यसलाई प्रयोग गर्न सकिन्थ्यो । 

विडम्बना, आजको प्रविधि उद्योगले यस्तो नसोचेर अरु नै सोचेजस्तो देखिन्छ । हामीले हाम्रो पुस्तक ‘पावर एन्ड प्रोग्रेस’मा व्याख्या गरेजस्तो ठुला कम्पनीहरू एआईलाई मान्छेको क्षमता अभिवृद्धि गर्ने (अगमेन्टेसन)को सट्टा व्यापक रूपमा कामदारलाई विस्थापित गर्ने (अटोमेसन)को रूपमा विकास र प्रयोगमा उद्यत् देखिन्छन् ।

रिकार्डोको जीवन र कृतिहरूबाट सिक्नुपर्ने भनेकै मेसिन आफैँमा असल वा खराब हुँदैनन् भन्ने हो । मेसिनले रोजगारी सिर्जना गर्छन् कि खतम पार्छन् भन्ने कुरा तिनीहरूको प्रयोग कसरी गरिन्छ भन्नेमा भर पर्छ ।

यसको सोझो अर्थ हुन्छ, हामीले अत्यधिक स्वचालित प्रणाली (अटोमेसन)को सामना गर्नुपर्ने खतरा देखिएको छ । यसो गर्दा धेरै कामदार विस्थापित हुनेछन् तथा काममा बाँकी रहेका कामदारले पनि निगरानी र नियन्त्रणको अपमानजनक स्थिति भोगिरहनुपर्ने हुन्छ । अहिले चर्चामा भएको ‘पहिले स्वचालित बनाऊ अनि पछि मात्र बल्ल प्रश्न गर’ सिद्धान्तले व्यापक मात्रामा कार्यस्थल र समाजका सबै हिस्साबाट सूचना संकलन गर्न खोज्छ । यसले मान्छेको निजत्व र गोपनीयताको सीमा पनि कहाँसम्म हुने भन्नेमै प्रश्न चिह्न खडा गर्छ ।

यस्तो भविष्य अवश्यम्भावी छैन । तथ्यांक (डाटा) संकलनमा हुने प्रभावकारी नियमनले हाम्रो गोपनीयतालाई जोगाउन सक्थ्यो, कार्य क्षेत्र सञ्चालनका मजबुत नियमले एआईमा आधारित निगरानीका खराब पक्षबाट जोगाउन सक्थे, तर यो काम त्यति सहज छैन । 

रिकार्डोको अनुभवबाट हामीले ख्याल गरेजस्तै आधारभूत काम भनेको एआईबारेको समग्र भाष्यमा गर्नुपर्ने परिवर्तन नै हो । रिकार्डोको जीवन र कृतिहरूबाट सिक्नुपर्ने भनेकै मेसिन आफैँमा असल वा खराब हुँदैनन् भन्ने हो । मेसिनले रोजगारी सिर्जना गर्छन् कि खतम पार्छन् भन्ने कुरा तिनीहरूको प्रयोग कसरी गरिन्छ भन्नेमा भर पर्छ । यसबारे निर्णय गर्ने मानिसको छनोटमा भर पर्छ । रिकार्डोको समयमा उद्योग मालिकको सानो संख्याले निर्णय गथ्र्यो । त्यस्ता निर्णय सकेसम्म धेरै अटोमेसनमा केन्द्रित हुन्थे, त्यसले कामदारलाई धेरैभन्दा धेरै निचोर्ने काम गथ्र्यो ।

आज झन् थोरै संख्याका ‘टेक लिडर’हरूले त्यही बाटो पछ्याउन खोजेको जस्तो देखिन्छ, तर नयाँ अवसरको सिर्जना गर्ने, मानिसलाई नयाँ काम सिर्जना गर्ने तथा सबै व्यक्तिको आत्मसम्मान जोगाउने काम गर्ने हो भने अझ राम्रो परिणाम निकाल्न सकिन्छ । हामीले आजको प्रविधि उद्योगमा अभ्यास भइरहेको नवप्रवर्तन (इनोभेसन)को दिशा बदल्ने हो तथा आवश्यक नयाँ संस्थागत संरचना र नियमनको थालनी गर्ने हो भने कामदारमैत्री एआई बनाउन अझै सम्भव छ ।

रिकार्डोको समयमा जस्तै, आजको दिनमा पनि व्यापारी र प्रविधि उद्योगका अगुवाको कृपामा विश्वास गर्नु खेलाँची हुनेछ । औद्योगिक क्रान्तिका समयमा बेलायतमा पनि लोकतन्त्रलाई उन्नत बनाउन, आन्दोलनरत मजदुरका संगठनलाई वैध बनाउन र प्राविधिक उन्नतिको दिशा बदल्न ठुलो राजनीतिक सुधार गर्नुपरेको थियो । आज पनि हाम्रा सामु समान चुनौती खडा भएको छ ।

(यसपालिको अर्थशास्त्रतर्फ दिइने नोबेल पुरस्कार डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स रबिन्सनले संयुक्त रूपमा प्राप्त गरेका छन् । तीनमध्ये दुई लेखक एसिमोग्लु र जोन्सनले लेखेको यो लेख प्रोजेक्ट सिन्डिकेटबाट लिइएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डारोन एसमोग्लु
डारोन एसमोग्लु
लेखकबाट थप
साइमन जोन्सन
साइमन जोन्सन
लेखकबाट थप