मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, २९ असोज २०८१, १३ : २७
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । सर्लाही र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सर्लाहीको बसबरिया गाउँपालिका-६ पोखरीया टोलमा हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका-३ बस्ने ३९ वर्षीय भुव नारायण राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मंलगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सर्लाहीकै बागमती नगरपालिका-१२ बथानेस्थित सडकमा बथानेबाट बागमतीपुलतर्फ जाँदै गरेको प्र.२-०३००८ प ३८४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय कृष्ण मोक्तानको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बागमती मोडेल अस्पताल कर्मैया हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता महोत्तरीको बलवा नगरपालिका-८ बनौटास्थित सडकमा अध्यानपुरबाट जलेश्वरतर्फ आउँदै गरेको बीआर ३० एजी ७२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका-३ मलिवारा बस्ने २८ वर्षीय तनविर अन्सारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागी जनकपुरतर्फ पठाइएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप