महानगरपालिकाले गुण्डागर्दी शैलीमा गौशाला धर्मशाला कब्जा गरेको भन्दै आपत्ति

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा सक्रिय विभिन्न सामाजिक तथा धार्मिक सङ्घ संस्थाहरूले विरोध गरेका छन्। साथै महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशाला कब्जा गर्न गएकोमा घोर भर्त्सना गरेका छन्।
मङ्गलवार मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ संस्थाहरूबिच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले सो कदमको विरोध गरेका हुन् । पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदाय माथि मात्रै नभएको भन्दै यो हिन्दुहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको ठहर उनीहरुले गरेका छन्।
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित सो कार्यक्रममा उनीहरुले विश्वभरबाट आउने हिन्दु श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गो पालन हुँदै गरेको र झन्डै एक सय जना मिर्गौला रोगी को निःशुल्क डाइलेसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएर कोषका सदस्य सचिवले भूमाफियाबाट ठुलो आर्थिक लाभ प्राप्त गरेको आरोप लगाएका छन् ।
विमर्श कार्यक्रममा उपस्थित पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसका पछाडि हिन्दु धर्ममा आस्था राख्ने माथि ठुलो षड्यन्त्रको एउटा सानो सुरुवात भएको बताए । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिसनरीहरूको भर्ती केन्द्र बनेको पराजुलीको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दुहरूले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सैह्य नहुने चेतावनी दिए ।
कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरूले मारवाडी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए । वैद्यले भने– ‘यदि मारवाडी सेवा समितिले चाहेको भए उनीहरूसँग कयौँ अवसर थिए, त्यो जग्गा आफ्नो नाममा गराउन सक्थे तर यो जग्गा मारवाडी सेवा समितिले आफ्नो नाममा कहिल्यै गराएन ।’ उनले भने– ‘महानगरपालिकालाई जबरजस्ती यस विषयमा प्रवेश गराएर कोषले ठुलो गल्ती गर्यो।’ कोषले संस्कृति मन्त्रालयको जग्गालाई महानगरपालिकाको जिम्मा लगाउनु नै गलत भएको वैद्यले बताए।
कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल, विश्व हिन्दु महासङ्घ लगायत एक दर्जन सङ्घ संस्थाका प्रतिनिधिहरू थिए । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट यो घटना सामान्य देखिएको भए पनि भित्रबाट ठुलै षड्यन्त्र भएको बताए । उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शङ्कास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली गुन्डा नाइके जस्तै रहेको बताए। यस विषयमा उपस्थित सङ्घ संस्थाका प्रतिनिधिहरूले मारवाडी सेवा समितिले नै धर्मशालाको सञ्चालन गर्न पाउने मागप्रति ऐक्यबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड