मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

सुहाउँदो क्यारेक्टर पाए म पनि हिरोको भूमिकामा खेल्छु : बुद्धि तामाङ

मङ्गलबार, २९ असोज २०८१, ११ : १६
मङ्गलबार, २९ असोज २०८१

काठमाडौंँ । बुद्धि तामाङ सानोपर्दाको सिरियल ‘मेरी बास्सै’बाट चर्चित बनेका कलाकार हुन् । थिएटर हुँदै सानोपर्दामा भित्रिएका उनी ‘मेरी बास्सै’को थेगो ‘हैट’का कारण चिनिन सफल भए ।

तामाङ पछिल्लो समय ठुलोपर्दा­­(फिल्म­)मा बढी देखिन थालेका छन् । सन् २०१३ को ‘साँघुरो’बाट फिल्म अभिनय थालेका तामाङले अहिलेसम्म करिब तीन दर्जन हाराहारी फिल्ममा अभिनय गरिसकेका छन् । हरेक फिल्ममा उनी कमेडी भूमिकामै देखिँदै आएका छन् ।

आफूलाई सुहाउँदो भूमिका आयो भने हिरोमा पनि खेल्ने सोच रहेको उनी बताउँछन् । उनको नयाँ फिल्म ‘ज्वाइँ साब’ फूलपातीको दिनदेखि प्रदर्शनमा आएको छ ।

बुद्धि तामाङसँग फिल्म ‘ज्वाइँ साब’का विषयमा केन्द्रित रहेर रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • ‘ज्वाइँ साब’मा कस्तो भूमिका छ ?

फिल्ममा मेरो सपोर्टिङ चरित्र छ । फिल्मका मुख्य कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्र्ने, सपोर्ट गर्ने मेरो भूमिका छ । फिल्ममा दर्शकले मेरो भूमिका यसअघिका फिल्मको भन्दा बेग्लै र धेरै मनोरञ्जनात्मक पाउनु हुनेछ । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही हलमा जन्छ भने यो फिल्मबाट इन्जोय गर्ने ठाउँ प्रशस्त छ ।

  • तपाईंको भूमिका प्रायः सबैजसो फिल्ममा उस्तै हुन्छ, किन ?

मलाई दर्शकले सहायक र कमेडी भूमिका मै मन पराएको भएर होला, सबै फिल्ममा उस्तै खालको भूमिकाको प्रस्ताव आउँछ । भूमिका उस्तै भए पनि मेरो पात्र र हँसाउने तौर तरिका भने हरेक फिल्ममा फरक रहँदै आएको छ । मैलेमात्र फरक भूमिका गर्छु भनेर पनि हुँदैन ।

  • फरक भूमिका गर्न मन लाग्छ होला नि ?

फिल्म ‘आँखा’, ‘घर ज्वाइँ’मा भने केही फरक चरित्र गरेको छु । तर ती चरित्रको चर्चा भएन । मानिसले सिरियसभन्दा पनि मलाई कमेडी, मनोरञ्जन दिने खालको भूमिकामै खोज्दा रहेछन् । मलाई पनि धेरै फिल्ममा एउटै खालको भूमिका भएर मनोटोनस समेत भइसक्यो भन्ने लाग्छ । के गर्नु ? आएको काम त गर्नुप¥यो ।

  • अहिले कमेडियनहरू पनि फिल्मको हिरो भइरहेको समय छ । तपाईंलाई हिरो हुन मन लागेको छैन ?

कमर्सियल रूपमा हिरो बनेर फिल्म खेल्ने मेरो जिउडाल छैन । कथाको हिसाबले हिरो पात्र मलाई सुहाउने भयो भने मुख्य भूमिका (हिरो) म पनि बन्छु । त्यस्ता फिल्म आए सधैँ रेडी छु ।

  • नाटक, सिरियल, म्युजिक भिडियो, फिल्म सबै भ्याउनु भयो । कुनै एक विधामात्र छान्न सकिन्थ्यो कि ?

म कलाकार हो । कलाकारको पहिलो धर्म भनेको अभिनय गर्ने हो । मलाई नाटक, सिरियल, म्युजिक भिडियो, फिल्म के भन्ने मतलब छैन । मनपर्ने भूमिका आयो र आफूलाई सहज देखेँ भने अभिनय गर्छु ।

  • अभिनय गर्दा केमा बढी मजा मिल्छ ?

नाटकमा एउटै क्यारेक्टरमा, एउटै स्टेजमा, वान टेकमा गर्नु पर्ने भएकाले मजा बेग्लै छ ।

  • फिल्म बनाउने कुरो थियो नि ?

यो वर्षबाट फिल्म निर्माण सुरु गर्छु भनेको तर तारतम्य मिलिरहेको छैन । मैले बनाउने फिल्ममा हाँसो र आँसु दुवै हुन्छ । हामीले देखेको, भोगेको कथा लिएर सानो क्यानभासको फिल्म बनाउन मन छ ।

  • फिल्म बनाउन किन मन लाग्यो ?

अभिनय गरेको धेरै भयो । अभिनयको मिति सकिन लाग्यो जस्ताचाहिँ लाग्छ । आफूले जानेको कलाक्षेत्रमै हो । त्यसैले यही क्षेत्रमा रहिरहन निर्माता बन्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप