सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय
प्रेरणा

आफूजस्तै बौद्धिक अपाङ्गता भएका व्यक्तिका मास्टर ‘क्षितिज सर’

मङ्गलबार, २९ असोज २०८१, ११ : ००
मङ्गलबार, २९ असोज २०८१

मकवानपुर । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सम्हाल्न निकै कठिन हुन्छ । उनीहरूको इच्छा र चाहना बुझ्न तथा हेरचाह सहज कार्य होइन । सामान्य बालबालिकाभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाको खानपान, जीवनशैली र व्यवहारको प्रकृति अलग हुन्छ ।

शारीरिक रूपमा स्वस्थ देखिने उनीहरू मानसिक रूपमा कमजोर हुन्छन् । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई स–साना कुरामा ख्याल पुर्‍याउनुपर्ने हुन्छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिको मनोदशा र वस्तुस्थिति बुझेर व्यवहार गर्नुपर्छ ।

यस्तै फरक क्षमता भएका एक पात्र हुन् क्षितिज बानियाँ । फरक तथा भिन्न क्षमता भएका बालबालिका तथा युवालाई समयमै उचित शिक्षा तालिम प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन् क्षितिज ।

२०५६ पुस २२ गते जन्मिएका उनी सानोमा अरूजस्तै सामान्य नै थिए । उमेर बढ्दै जाँदा विविध कारणले उनी बौद्धिक अपाङ्गताको सिकार बने । काठमाडौँको सामाखुसीमा बस्दै आएका क्षितिजको परिवारमा आमा, बुबा, २ भाइ र एक बहिनी गरी ६ जना छन् ।

क्षितिजको क्षमता चित्रकलामा मात्र सीमित छैन । उनले नृत्यकला पनि जानेका छन् ।

नुवाकोटमा जन्मिएका क्षितिज आइडल नै हुन् । बौद्धिक अपाङ्गताको सिकार भए पनि फरक तथा भिन्न क्षमताका कारण उनी सक्षम र आत्मनिर्भर छन् । विषय केन्द्रित भएर भन्ने हो भने उनी सामान्य व्यक्तिभन्दा कमजोर छैनन् । तर विडम्बना, उनी बौद्धिक अपाङ्गताको सिकार भए । उनको बोली स्पष्ट छैन । उनको चित्रकला भने सशक्त वक्ताको बोलीभन्दा कम सन्देशमूलक छैन । उनको प्रमुख क्षमता भनेकै चित्रकला नै हो । उनको श्रवण शक्ति कम छ । तर, उनको चित्रकलाले विभिन्न भाव बोल्छ ।

उनलाई चित्र बनाउन कसैको सहयोग आवश्यक पर्दैन । उनी आफैँ अध्ययन गर्छन्, इन्टरनेटमा खोज्छन् । चित्रका लागि आवश्यक सामग्री तयार गर्छन् । रङहरूको सूची तयार गर्छन् । अनि चित्रमा भर्न सुरु गर्छन् । उनले निर्माण गरेका चित्रका रङहरू आकर्षक र दुरुस्तै हुन्छन् । उनी आफ्ना चित्रबाट सन्देश प्रवाह गर्छन् ।

क्षितिजको क्षमता चित्रकलामा मात्र सीमित छैन । उनले नृत्यकला पनि जानेका छन् । उनी आफूजस्तै अपाङ्गता भएका भाइबहिनीलाई पढाउँछन् । त्यसैले ती भाइबहिनीका लागि उनी ‘क्षितिज सर’ बनेका छन् ।

क्षितिजलाई यहाँसम्मको यात्रामा परिवारले जस्तै सहयोग सी आशा फाउन्डेसनको पनि छ । बौद्धिक अपाङ्ग भएका उनी अध्ययनका लागि सुरुवाती समयमा विभिन्न सरकारी तथा निजी विद्यालय भर्ना भए । विद्यालय शिक्षा हासिल गर्ने उनको उद्देश्य सम्भव देखिएन । कतै ३ महिना, कतै ६ महिना वा १ वर्षमा विद्यालय प्रशासनले अन्य विद्यार्थीभन्दा भिन्न भएकाले पढाउन असहज हुने भन्दै भर्ना लिन नै मानेन ।

चित्रकला र अध्यापनबाट क्षितिजले आफ्ना आवश्यकताहरू पूरा गर्नुको साथै, शैक्षिक सामग्री आफैँ खरिद गर्छन् । उनी आशामा पढ्ने र पढाउने गर्छन् ।

सो पश्चात् क्षितिजलाई नवज्योति केन्द्र बालुवाटारमा भर्ना गरी पठनपाठन कार्य अघि बढाइयो । त्यहाँ उनले आफूमा भएको रुचि अनुसार आफ्ना क्षमतालाई पहिचान गर्दै चित्रकलातर्फ झुकाव राखेर सिक्न थाले । तर, निरन्तरता हुन सकेन ।

२०७७ फागुन १२ मा उनी सी आशा फाउन्डेसनमा जोडिएका हुन् । फाउन्डेसनले ललितपुर–२ सानेपा सञ्चालन गरेको आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रमा भर्ना भएर अध्ययन कार्य अघि बढाए । आशा विशेष पाठशालामा जोडिएपछि उनले अध्यापनका लागि भौँतारिनु परेन ।

आशा विशेष पाठशालामा क्षितिजले आफूमा भएको चित्रकलाको सुधार गर्दै गए । उनी चित्रकलामा पोख्त भए । उनले बनाएका चित्रहरूलाई बजारीकरण गर्ने प्रबन्धसमेत आशाले मिलायो । जसले क्षितिजलाई आर्थिक रूपमा सक्षम बनाउन र रोजगार बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

चित्रकला र अध्यापनबाट क्षितिजले आफ्ना आवश्यकताहरू पूरा गर्नुको साथै, शैक्षिक सामग्री आफैँ खरिद गर्छन् । उनी आशामा पढ्ने र पढाउने गर्छन् । त्यसैले उनलाई सबैले ‘क्षितिज सर’ भन्छन् । आशाका विद्यार्थीहरूलाई क्षितिज चित्रकला तथा नृत्य सिकाउँछन् । क्षितिजले हेटौँडा र ललितपुरमा रहेको आशा आवास घरमा बाहिरको पर्खालहरू चित्रकलाले भरिदिएका छन् । उनले घरका पर्खालहरूमा विभिन्न चित्र निर्माण गरेका छन् ।

विगतमा के गर्ने कहाँ पढाउने भन्ने चिन्तामा रहने क्षितिजका परिवार अहिले उनको प्रगतिमा सन्तुष्ट छन् । आमाबुबालाई क्षितिजको अवस्था कसरी सुधार गर्ने भन्ने चिन्ता न्यून बन्दै गएको छ । हिजो कसरी उसलाई हेरचाह गर्ने सोचमा रहेका क्षितिजका बुबाआमा अहिले आफैँले कमाएर जीवन निर्वाह गरेको देख्दा खुसी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप