मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रिमियर लिग क्रिकेट : पुबुदु दासानायके जनकपुर बोल्ट्सको प्रमुख प्रशिक्षक

मङ्गलबार, २९ असोज २०८१, १० : १७
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

५४ वर्षीय दासानायके नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् । उनको प्रशिक्षकत्वमा नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।

श्रीलंकामा जन्मिएका दासानायके पछि क्यानडामा बसाई सरेका थिए । उनले श्रीलंकाली राष्ट्रिय टोलीबाट लामो समय क्रिकेट खेलेका थिए । उनले सन् १९९३ को अगस्तमा श्रीलंकाली टोलीबाट दक्षिण अफ्रिकाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

जनकपुर बोल्ट्सले दासानायकेको आगमनले टोलीको मनोबल उच्च भएको बताएको छ । जनकपुर बोल्ट्सले आगामी एनपीएलमा दासानायकेको प्रशिक्षकत्वमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपाल प्रिमियर लिग आगामी मङ्सिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । 

जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् ।

केही समयअघि सम्पन्न अक्सनमा जनकपुर बोल्ट्सले दुई जना खेलाडीलाई अधिकतम १५–१५ लाख रुपैयाँमा खरिद गरेको थियो । जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेका खेलाडी ललित राजवंशी र अनिल कुमार साह हुन् ।

यसका अतिरिक्त जनकपुर बोल्ट्सले अक्सनमा तीन खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्च गरेको थियो । जनकपुर बोल्ट्सले रुपेश कुमार सिंह, किशोर महतो र आकाश त्रिपाठीलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो ।

यसैगरी, जनकपुर बोल्ट्सले तीनजना खेलाडीलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो । जनकपुर बोल्ट्सले पाँच लाख रुपैयाँमा खरिद गरेका खेलाडी भने शुभ कंसाकार, शर मल्ल र हेमन्त धामी हुन् ।

जनकपुर बोल्ट्सले अरनिकोप्रसाद यादवलाई दुई लाख २५ हजार र तुलबहादुर थापामगरलाई दुई लाख रुपैयाँमा किनेको थियो । जनकपुर बोल्ट्सले उक्त अक्सनमा कुल ७९ लाख २५ हजार रुपैयाँ खर्चिएको थियो । अब जनकपुर बोल्ट्सले चारजना विदेशी खेलाडी र एकजना स्थानीय खेलाडी टोलीमा आबद्ध गर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप