मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट इतिहासका रोचक प्रसङ्ग

भारतको ज्वाइँ बनेका चर्चित पाकिस्तानी क्रिकेटरहरू

मङ्गलबार, २९ असोज २०८१, १० : ००
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तान एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । दुवै देशका समर्थक अधैर्यतापूर्वक भारत र पाकिस्तानबिच खेलिने खेलको प्रतीक्षा गर्छन् । पाकिस्तान र भारतबिचको क्रिकेट खेल केवल हार–जितमा सीमित रहँदैन ।

खासमा भारत र पाकिस्तानबिचको चिसो राजनीतिक सम्बन्धको प्रत्यक्ष प्रभाव क्रिकेट खेलमा देख्न पाइन्छ । त्यसैले समर्थकहरू पनि क्रिकेटको मैदानमा एक–अर्कासँग शत्रुता साँध्न गएजस्तो व्यवहार प्रदर्शन गर्छन् ।

समर्थकहरूको यस्तो व्यवहारले खेलाडीमाथि पनि अप्रत्यक्ष रूपमा दबाब थप्ने काम गर्छ । बेला–बखत अन्तर्राष्ट्रिय क्रिकेटमा दुवै देशका खेलाडीहरू समेत अपसमा झगडा गर्न पछि पर्दैनन् । त्यसैले विश्वभरका क्रिकेट पारखीहरू पनि भारत र पाकिस्तानबिचको खेलमा मजैले रमाउने गर्छन् । 

तर, क्रिकेट मैदानमा जतिसुकै प्रतिद्वन्द्व वा चिसोपना देखिए पनि थुप्रै पाकिस्तानी क्रिकेटरले भारतलाई आफ्नो ससुराली घर बनाउँदै आएका छन् । निकै लामो समयदेखि चल्दै आएको यो क्रम अझै रोकिएको छैन । 

  • रजा हसन र पूजा बोमन 

अब यो सूचिमा पाकिस्तानी क्रिकेटर रजा हसनको नाम पनि जोडिने भएको छ । रजा हसनले भारतीय मूलकी पूजा बोमनसँग लगनगाँठो कस्ने भएका छन् । तर, पूजा बोमन कुनै चर्चित सेलिब्रेटी भने होइनन् । उनी सामान्य परिवारकी सदस्य हुन् । 

 अमेरिकाको न्यू योर्कमा रजा हसन र पूजा बोमनबिच टिकोटालो पनि भइसकेको बताइएको छ । उनीहरूले सामाजिक सञ्जालमार्फत थुप्रै तस्बिर पनि सार्वजनिक गरेका छन् । उनीहरूको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ । 

Raza Hasan and Puja Boman

३३ वर्षीय रजा हसन बायाँहाते स्पिन बलर हुन् । उनले पाकिस्तानको राष्ट्रिय टोलीबाट धेरै प्रतियोगिता भने खेलेका छैनन् । उनले पाकिस्तानका लागि एउटा एकदिवसीय अन्तर्राष्ट्रिय र १० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । तर, टेस्ट क्रिकेटमा भने उनले ‘डेब्यू’ गर्ने अवसर पाएनन् ।

उनले ४८ वटा प्रथम श्रेणीको क्रिकेट पनि खेलेका छन् । उनले प्रथम श्रेणीको आफ्नो पहिलो खेलमै केवल २४ रन खर्चिएर तीन विकेट लिएका थिए । उनले यू–१९ प्रतियोगितामा पनि पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पाकिस्तानका लागि यू–१९ विश्वकप पनि खेलेका थिए ।

  • सोएब मलिक र सानिया मिर्जा

चर्चित पाकिस्तानी क्रिकेटर हुन्, सोएब मलिक । अर्कोतिर, प्रभावशाली भारतीय टेनिस खेलाडी हुन्, सानिया मिर्जा । अन्तर्राष्ट्रिय क्रिकेटमा ४२ वर्षीय सोएब मलिकले ब्याटिङ जति आक्रामक थियो बलिङ पनि उत्तिकै धारिलो ।

उनले पाकिस्तानका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाउने खेलाडी पनि हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा करिब दुई सयभन्दा बढी विकेट पनि लिएका छन् । उनी पाकिस्तानी टोलीका पूर्वकप्तान पनि हुन् । 

यसैगरी, ३७ वर्षीया सानिया मिर्जा विश्व टेनिसमा चर्चित नाम हो । भारतीय खेलाडी सानिया मिर्जाले चारवटै ग्रान्डस्लाम टेनिसमा पनि सहभागिता जनाइसकेकी छन् । ओलम्पिक समेत खेलेकी सानिया मिर्जाले ग्रान्डस्लाम टेनिसमा डबल्सतर्फ अस्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपनको उपाधि पनि जितेकी छन् । उनले ग्रान्डस्लाममा मिक्स डबल्सतर्फको उपाधि पनि चुमेकी छन् । 

विश्व क्रिकेट र टेनिसका यी दुई हस्ती खेलाडी सन् २०१० को अप्रिलमा वैवाहिक बन्धनमा बाँधिएका थिए । सानिया मिर्जाको घर हैदराबाद हो । सोएब मलिक र सानिया मिर्जाको एउटा बच्चा पनि छ । तर, हाल सोएब मलिक र सानिया मिर्जाबिच सम्बन्ध बिच्छेद भइसकेको छ । 

  • हसन अली र सामिया आरजु

पाकिस्तानका चर्चित क्रिकेटर हुन्, हसन अली । ३० वर्षीय हसन अली बलिङ अलराउन्डर हुन् । उनले पाकिस्तानका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले २४ टेस्टमा कुल ८० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर पाँच विकेट हो ।

Hasan Ali and Samia Arzoo

यसैगरी, हसन अलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले ६० विकेट हात पारेका छन् । यसका अतिरिक्त उनले थुप्रै प्रथम श्रेणीको क्रिकेट र लिस्ट ‘ए’ क्रिकेट पनि खेलेका छन् । 

यी चर्चित पाकिस्तानी क्रिकेटरले पनि भारतलाई नै आफ्नो ससुराली बनाएका छन् । उनले सन् २०१९ को अगस्त २० तारिखमा भारतकी सामिया आरजुसँग विवाह गरेका हुन् । सामिया आरजु भारत हरियाणाकी हुन् । सामिया पेशाले एरोनटिकल इन्जिनियर हुन् । 

  • जहिर अब्बास र रिता लुथरा 

आफ्नो समयका चर्चित पाकिस्तानी क्रिकेट खेलाडी हुन्, जहिर अब्बास । ७७ वर्षीय जहिर अब्बासले प्रभावशाली ब्याट्सम्यान थिए । उनले पाकिस्तानका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

उनले ७८ टेस्टको एक सय २४ पालीमा कुल पाँच हजार ६२ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय ७४ रन हो । उनले टेस्ट क्रिकेटमा १२ शतक र २० वटा अर्धसतक पनि प्रहार गरेका छन् ।

Zaheer Abbas and Rita Luthra

यसैगरी, जहिर अब्बासले ६२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै कुल दुई हजार पाँच सय ७२ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय २३ रन हो । उनले यो ढाँचाको क्रिकेटमा सात शतक र १३ वटा अर्धशतक पनि बनाएका छन् । 

जहिर अब्बासले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय दुवै ढाँचाको क्रिकेटमा विकेट पनि लिएका छन् । उनको ससुराली पनि भारत नै हो । उनले भारतकी रिता लुथरासँग विवाह गरेका हुन् । जहिर अब्बास र रिता लुथराको विवाह सन् १९८८ मा भएको थियो । 

जहिर अब्बाससँग विवाह गरेपछि रिता लुथराले आफ्नो धर्म परिवर्तन गरेकी थिइन् । विवाहपछि रिताले धर्म परिवर्तन गरेर आफ्नो नाम समिना अब्बास राखेकी थिइन् । हाल यो जोडी कराँचीमा बस्छ । रिता पेशाले इन्टिरियर डिजाइनर हुन् ।

  • मोहसिन खान र रिना रोय

मोहसिन खान पनि आफ्नो समयका चर्चित पाकिस्तानी क्रिकेट खेलाडी हुन् । ६९ वर्षीय मोहसिन खान आफ्नो समयका प्रभावशाली ओपनर ब्याट्सम्यान थिए । उनले पाकिस्तानी टोलीको थुप्रै महत्त्वपूर्ण सफलतामा गतिलो योगदान पनि गरेका छन् ।

मोहसिन खानले पाकिस्तानका लागि ४८ टेस्टको ७९ पालीमा कुल दुई हजार सात सय नौ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय रन हो । उनले टेस्ट क्रिकेटमा सात शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

Mohsin Khan and Reena Roy

यसैगरी, उनले पाकिस्तानका लागि ७५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै कुल एक हजार आठ सय ७७ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय १७ रन हो । यो ढाँचाको क्रिकेटमा उनले दुई शतक र आठवटा अर्धशतक पनि बनाएका छन् । 

क्रिकेट खेलाडीसँगै उनी अभिनेता पनि थिए । उनले १३ वटा बलिउड चलचित्रमा अभिनय गरेका थिए । यी चर्चित पाकिस्तानी क्रिकेटरको ससुराली पनि भारत नै हो । उनले आफ्नो समयकी चर्चित भारतीय नायिका रिना रोयसँग विवाह गरेका थिए । 

अभिनयकै क्रममा मोहसिन खान र रिना रोयबिच भेट भएको थियो । भनिन्छ, मोहसिन खान रिना रोयलाई यति धेरै मन पराउँथे कि सन् १९८३ मा विवाहपछि उनी पाकिस्तान छोडेर भारतको मुम्बईमै बस्न थालेका थिए ।

मोहसिन खान र रिना रोयकी एक छोरी पनि छिन् । यो जोडीले छोरीको नाम जन्नत राखेको छ । तर, उनीहरूको वैवाहिक सम्बन्ध लामो समय टिक्न भने सकेन । सन् १९९० को सुरुवाती समयमै मोहसिन खान र रिना रोयको सम्बन्ध बिच्छेद भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप