मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
सडक विस्तार

८ वर्षदेखि अलपत्र बुटवलको सडक विस्तारमा फेरि ठेक्का सम्झौता

मङ्गलबार, २९ असोज २०८१, ०९ : ००
मङ्गलबार, २९ असोज २०८१

बुटवल । बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको छ ।

पुरानो ठेकेदार कञ्चनजंघा बिरुवा जेभी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदारलाई जिम्मेवारी दिएको हो । डिभिजन सडक कार्यालय बुटवलका अनुसार बावुल दर्शन मालिका जेभीले निर्माणको जिम्मेवारी पाइसकेको छ ।

सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्राका अनुसार बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३।२५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का लागेको हो ।

यसअघिको कम्पनीसँग २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ०७३ चैत १७ मा ठेक्का सम्झौता भएको थियो । तर, सात वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो । अहिले एक वर्षमा काम सक्ने गरी ठेक्का लगाएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए ।

उनले भने, बुटवलको सडक हामीले ठेक्का तोडेपछि नयाँ ठेकेदारले पनि उस्तै ढिलाइ गरे भने त्यसको कुनै अर्थ रहन्न । त्यस कारणले समयमा सक्ने गरी सम्झौता गर्ने हो ।’

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले बुटवलको सडक विस्तार लामो समयसम्म सम्पन्न हुन नसकेका कारण त्यसबाट स्थानीयवासीले बेहोरेको बताए । नयाँ ठेकेदारले सडक भत्काएर अलपत्र पार्ने काम गर्न नहुने उनको भनाइ छ । काम सुरु गरेपछि समयमै सम्पन्न गर्ने गरी ठेकेदारलाई जिम्मेवार बनाइनुपर्ने उनले प्रस्ट पारे ।

रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले बुटवल व्यापारिक ठाउँ भएकाले सडक निर्माणमा ढिला हुँदा त्यसको असर व्यापारीलाई सिधै पर्ने बताए । सडक भत्काएपछि अलपत्र पार्न नहुनेमा सचेत रहनुपर्ने उनको भनाइ छ । उनले विगतमा धेरै व्यापारीले सडकका कारणले दुःख पाएकाले अहिले सचेत बन्नुपर्ने बताए ।

बुटवल बेलियादेखि चिडिया खोलासम्म पर्ने ६ लेन सडक अहिले चौराहासम्म निर्माण सम्पन्न भइसकेको छ । अब चौराहदेखि चिडिया खोलासम्म निर्माण गर्दा सर्भिस लेन ठुलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ ।

बुटवल सिटी मार्केटलाई असर नपर्ने गरी सडकको दुवै किनारामा रेलिङ राखिने सूचना अधिकारी इन्जिनियर लम्सालले बताए ।

यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइँदै छ ।

ग्रीनबेल्ट तथा स्टल कहाँ, कसरी राख्नेबारे छलफल गरेर व्यवस्थित रूपमा काम अगाडि बढाइने उनले खुलाए ।

अहिले भैरहवादेखि चौराहासम्म भएको जस्तै सडकमा हरियाली बढाउन बिरुवा हुनेछन् भने रातमा सहरको सुन्दरता बढाउन सडक बत्तीको व्यवस्था पनि गरिने उनले  खुलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप