मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीदेखि संस्थापकसम्मले दिए एनआरएनएको एकतामा जोड

सोमबार, २८ असोज २०८१, २० : ००
सोमबार, २८ असोज २०८१

काठमाडौँ । छिन्नभिन्न अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) फेरि एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ । गत १० औँ महाधिवेशनदेखि नै विभाजित अवस्थामा रहेको एनआरएनए ११ औँ महाधिवेशनमा आइपुग्दा थप विभाजित बनेकोमा वक्ताहरुले संस्थाको वृहत्तर हितका लागि एकजुट हुनुको विकल्प नभएको बताएका हुन् । 

संघभित्रको विवादकै कारण एनआरएनएको दुई समूहले अक्टोबर ११ मा परेको एनआरएनए डे (स्थापना दिवस)समेत छुट्टाछुट्टै रुपमा मनायो । आरके शर्मा नेतृत्वको एनआरएनए र बद्री केसी नेतृत्वको एनआरएनएले छुट्टाछुट्टै कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । 
शर्मा पक्षले भर्चुअल माध्यमबाट स्थापना दिवस मनाउँदा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेतादेखि संघका संस्थापक अध्यक्ष र अभियन्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी भएका  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाल निर्माणमा गैरआवासीय नेपालीहरुको ठूलो योगदान रहेको भन्दै आफूले त्यस्तो योगदानको सम्मान गर्ने बताए।  उनले एनआरएनएको महत्त्व अहिले निकै बढेको बताउँदै अहिले संघभित्र देखिएको विवादलाई समाधान गरेर अघि बढ्न आग्रह गरे । 

एनआरएनएलाई  नेपालीको पीडामा मल्हम लगाउने संस्थाको रुपमा आफूले चिनेको बताउँदै मन्त्री पौडेलले एनआरएनए अभियान एकताबद्ध हुन सक्यो भने अझ बढी सशक्त हुने अपेक्षा व्यक्त गरे।

यस्तै संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संघमा एकताको विकल्प नरहेको बताए ।  आफूले स्थापना दिवसको अवसरमा शुक्रबार बिहान पशुपतिनाथ तथा स्वयम्भुनाथ पुगेर संघमा एकताका लागि प्रार्थना गरेको समेत बताए । 

यस्तै  संघका पूर्वअध्यक्ष  कुल आचार्यले संघमा एकताको विकल्प नरहेको भन्दै तीन जना अध्यक्ष बनाएर पनि  संघलाई  एकताबद्ध बनाएको तर तीनै जना अध्यक्ष फेरिचुनावमा नउठ्ने भन्ने सहमति पालना नगरिएको बताए।  
उनले मिलेर काम गर्दा गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएको भन्दै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका समस्या तत्काल सम्बोधन गर्न  नेपाल सरकारलाई आग्रह पनि गरे।  

यस्तै संघकी पूर्व अध्यक्ष रबिना थापाले पनि संघ एकजुट हुन नसकेमा संस्थाको औचित्य नरहने बताइन्।  उनले संस्था कब्जा गर्ने हैन सबैलाई समेटेर लग्नु पर्नेना जोड दिइन्।  

यसैगरी संघका संस्थापक महासचिव भीम उदासले  संस्थालाई एक ठाउँमा ल्याउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । 
यसैगरी कार्यक्रममा अध्यक्ष आरके शर्माले अहिले पनि संस्था कसले कब्जा गर्ने मानसिकताबाट माथि उठ्न नसकेको बताए । विगतमा आफूहरुले निस्वार्थ भावनाले संस्था स्थापना गरेको भएता पनि केही गलत व्यक्तिको कारणले गर्दा अहिलेको अवस्था आएको बताए । 

अहिले संस्थाको चिरहरण हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताउँदै उनले अर्को समूह अदालतमा गएकाले आफूहरुपनि अदालत जान बाध्य भएको बताए । अहिले व्यक्ति भन्दा पनि सामूहिक भावनाका आधारमा संस्थालाई एकताबद्ध बनाउनका लागि आफूहरु अघि बढ्ने उनले बताए ।

उनले आफूसमेतको सक्रियतामा गैरआवासीय नेपाली नागरिकता दिलाउन सफलता मिलेको स्मरण गर्दै विदेश देशमा श्रमिकको समस्या समाधान गर्न पहल गरिरहने बताए । यस्तै उनले कतिपय देशमा अहिले पासपोर्ट नवीकरणमा नेपालीहरुले समस्या खेपिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै ती समस्याको यथासक्दो सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

उनले हालै गएको बाढी पहिरोबाट ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । साथै राहत र पुनर्स्थापनाको कार्य यथासक्दो सम्पन्न गर्न आग्रह गर्दै उनले संघको तर्फबाट पनि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 


यसैगरी ११ औं महाधिवेशनमा  अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले संघभित्रको विवाद सुल्झाउन परराष्ट्र मन्त्रालयले निकास दिनुपर्ने बताउँदै त्यसका लागि पूर्व अध्यक्षहरुले प्रयास गर्नु पर्नेमा जोड दिए ।  उनले सबैले आफ्नो अहमता त्यागेर संवादलाई अघि बढाउनु पर्ने बताउंदै  सबै पक्ष सहभागी गोलमेच सम्मेलन गरेर समस्याको समाधान निकाल्न सुझाव दिए ।  

शर्मा पक्षका उपाध्यक्ष डा केशव पौडेलले संघ भित्र एकताको विकल्प नरहेको भन्दै सर्वोच्च अदालतका फरक फरक फैसलाले अन्यौलको वातावरण बनाएको जनाए भने गंगाधर गौतमले अहिले बद्री केसीले नेतृत्व गरेको  समूहले संस्थाको श्रोत व्यापक दुरूपयोग गरिरहेको आरोप लगाए । त्यसका विरुद्ध सबै एक जुट भएर प्रतिवाद गर्नु पर्नेमा जोड दिए ।

 यसैगरी शर्मा पक्षका कोषाध्यक्ष ठाकुर ढुंगाना, सल्लाहकार नारायण आचार्य, पूर्वउपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए आइसीसीका सल्लाहकार आनन्द बिष्ट, एनआरएनए एनसीसी बेल्जियमकी अध्यक्ष सीता सापकोटा नेपाली जनसम्पर्क समिति बहराइनका अध्यक्ष पदम सुन्दर गुरुङलगायतले संघमा शुद्धिकरण गर्दै लैजानु पर्ने खाँचो औंल्याए।

यस्तै सल्लाहकार नारायण कँडेलले अहिलेको जस्तो निर्वाचन प्रक्रियाले एनआरएनए झनै कमजोर हुने बताउँदै निर्वाचन प्रक्रिया विश्वसनीय बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।
जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनका अध्यक्ष  डा यादव पण्डितले एनआरएन अभियानलाई सानो स्वार्थ समूहको घेराबाट बाहिर निकाल्नु पर्नेमा जोड दिए । उनले एनआरएनएलाई  सबैको अपनत्व हुने संस्थाको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।  

पूर्वगृहमन्त्री तथा माओवादी नेता शक्ति बहादुर बस्नेत, पूर्व मंत्री तथा कांग्रेस नेता डा मिनेन्द्र रिजाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल  लगायतका वक्ताले नेपालको अर्थतन्त्र धान्न प्रवासी नेपालीहरुको योगदानको चर्चा गर्दै संघलाई एकजुट बनाएर लैजान सुझाव दिएका थिए।  पूर्वमन्त्री बस्नेतले त माओवादीकै पालामा सामाजिक सुरक्षा कोष र एनआरएनए नागरिकताको सुरुवात गरिएको उल्लेख गर्दै आफ्नो पार्टीले एनआरएनएलाई महत्व दिएको बताए । उनले आगामी दिनमा पार्टी एनआरएनएसँग हातेमालो गरेर अघि बढ्न इच्छुक रहेको बताए । 

यस्तै महासचिव बुद्धिसागर सुवेदीले २१ औं एनआरएन डे जसरी छुट्टा छुट्टै समूहमा मनाउँन परेको बताउँदै अर्को बर्ष सबै एक ठाउँमा बसेर मनाउने वातावरण बनाउनका लागि आफुहरुले पहल गरिरहेको जनाए।  
सन् २००३ मा स्थापना भएको एनआरएनएले नेपाल र अन्य मुलुकबीच द्विपक्षीय सम्बन्ध सुधार्न, लगानीको अवसर सृजना गर्न, र नेपालमा प्रविधि, शिक्षा, स्वास्थ्य तथा विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । अहिले विश्वका ८५ भन्दा बढी  देशमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु रहेका छन् ।

अक्टोबर ११ कै दिन केसी पक्षले स्वयम्भू नाथ र पशुपति नाथमा पुजा आजा  गर्दै केन्द्रीय कार्यालयमा झन्डोत्तलन गरेको थियो । 

संघको एकताका लागि सरोकारवालाले जोड दिँदै आएपनि दुई पक्षबीच औपचारिक छलफल भने अझै सुरु भएको छैन । पछिल्लो पटक शर्मा पक्षले आधिकारिकता माग गर्दै दायर गरेको रिटको पेसी कात्तिक पहिलो सातालाई तोकिएको छ । तर अभियन्ताहरुले अदालतबाट जे फैसला आएपनि त्यसले एकताको वातावरण नहुन सक्ने भन्दै पहिला सबै पक्षको मन मिल्नेगरी छलफलको वातावरण हुनुपर्ने धारण समेत राख्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप