बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सेयर बजार

दसैँपछि खुल्न लागेको सेयर बजारले कुन बाटो समाउला ?

मङ्गलबार, २९ असोज २०८१, ०५ : ५५
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । दसैँको पाँच दिन लामो बिदापछि आज (मंगलबार) देखि सेयर बजार खुला हुँदैछ । गत साता बुधबारको कारोबारपछि बन्द भएको बजार आजबाट खुल्न लागेको हो । 

यो दसैँमा लगानीकर्ताले सेयर कारोबार बन्द ठुलो ग्याप महसुस गर्नु परेन । शुक्रबार र शनिबार नियमित रूपमै बजार बन्द हुने गरेको थियो । दसैँ बिदामा यो समय समेत ‘ओभरल्याप’ भएकोले बजार तीन दिन मात्रै बढी बन्द भयो । त्यसमाथि नवमी नभएकोले पनि यो दसैँ अरूभन्दा छोटो देखियो । 

दसैँअघिको केही समय सेयर बजार उतारचढावपूर्ण रह्यो । साउन ३१ गते ३००० बिन्दुलाई छोएको बजार परिसूचक त्यसपछि करिब दुई महिनादेखि निशाजनक छ । उतारचढावकै बिच बजारले घट्दो क्रमलाई समात्दै आएको छ । योबिचमा बजार करेक्सन भएर असोज तेस्रो सातासम्म २४६४ अंकसम्म झरेको थियो । यसपछि भने केही सुधार भएर बजार अहिले २६६८ अंकमा पुगेको छ । 

विगत दुई महिनादेखि निराशाजनक रहे पनि पछिल्लो दुई साताले राहत दिएको बजार दसैँ बिदापछि कतातिर मोडिएला ? अहिले सूचीकृत कम्पनीमा लगानी गर्ने र शेयर बजारमा चासो हुनेले खोजिरहेको प्रश्न हो यो । यसमा दुई प्रकारको धारणा देखिन्छ । कसैले दसैँको ग्याप धेरै नभएको र यो अवधिमा ठुला नीतिगत परिवर्तन समेत केही नरहेकोले बजार सामान्य अवस्थामै रहने तर्क गर्दै आएका छन् भने कतिपय भने दसैँपछिको अवस्था फरक रहेकोले यसले केही फरक अवस्था देखाउने विश्लेषण समेत गर्ने गरेका छन् । 

दसैँ अघि र अबमा के छ फरक ?

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी ढकाल दसैँ अघि र पछिको अवस्थामा केही तात्त्विक फरक रहेको बताउँछन् । खासगरी, दसैँ अघि र पछि अर्थतन्त्र, वित्तीय क्षेत्रको अवस्था, पहिलो त्रैमासको अन्त्य, लाभांशको सिजन, बाढी पहिरोपछिको पुनर्निर्माण लगायतको कारणले यो अबको बजार केही फरक हुनसक्ने देखिएको उनको भनाइ छ । अधिकांश अवस्थाले बजारलाई थप सकारात्मक दिशामै दोहोर्‍याउने अपेक्षा रहेको उनको भनाइ छ । 

अहिले हामी पहिलो त्रैमासको अन्तिम समयमा छौँ । बैंकको ब्याज र किस्ता तथा सरकारलाई राजश्व तिर्ने समय अन्तिम चरणमा आइपुगेको छ । तर, अब यसका लागि सेयर बेच्ने समय भने दसैँ अघि नै सकिएको छ । भोलि बेच्ने सेयरको पैसा आउन कम्तीमा पनि दुई दिन लाग्ने भएकोले अबको बजारमा त्रैमास अन्त्यको दबाब नपर्ने ढकाल बताउँछन्, यसले बजारलाई थप उचाइमा लैजान सहयोग गर्ने उनको भनाइ छ ।

अहिले सूचीकृत कम्पनीको लाभांश घोषणाको सिजन पनि सुरु भएको छ । केही दर्जन संस्थाले लाभांश घोषणा गरिसकेको भए पनि धेरैजसो कम्पनीको लाभांश घोषणा हुनै बाँकी छ । असोज अन्तिमसम्म वित्तीय विवरण तयार गरेर कर दाखिला गरिसक्नुपर्ने व्यवस्था रहेका कारण अब धमाधम लाभांश घोषणा हुँदैछ । यसले पनि बजारलाई चलायमान बनाउने अपेक्षा रहेको ढकाल बताउँछन् । 

यद्यपि लाभांश घोषणाको नकारात्मक असर समेत बजारमा पर्नसक्ने देखिन्छ । आर्थिक मन्दीको असरका कारण धेरैजसो कम्पनीहरुले यो वर्ष लाभांश दिनसक्ने अवस्था छैन । दिनसक्ने अवस्था भएका केही कम्पनीहरूको लाभांश पनि विगतको भन्दा कमजोर अवस्थामा रहने वित्तीय विवरणहरूले प्रस्ट पारिसकेका छन् । त्यसैले थोरै लाभांश घोषणा गर्दा लगानीकर्ताहरू निराश हुने अवस्था देखिने जोखिम भने रहेको उनको स्वीकारोक्ति छ । 

पछिल्लो समय अर्थतन्त्रमा केही चलायमान अवस्था देखिन थालेको छ । साउन अन्त्यसम्म समेत नदेखिइको उत्साह पछिल्लो केही सातामा देखिएको छ । पछिल्लो समय बैंकमा ऋणको माग बढ्दै गएको देखिन्छ । दसैँ बिदाअघि अन्तिम दिनमा मात्रै एकै दिन झन्डै ७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको थियो । भदौ र असोज महिनामा ८० अर्बभन्दा बढीको ऋण बैंकबाट बजारमा गइसकेको छ । यो अवस्थाले बजार अर्थतन्त्र चलायमान बनाउने  भएकोले यसले पनि बजारलाई सकारात्मक ऊर्जा दिने ढकाल बताउँछन् । 

यद्यपि यसले नकारात्मक असर पार्नसक्ने अवस्था पनि छ । बजारमा ऋणको माग बढ्दै जाँदा ब्याजदर बढ्नसक्ने भएकोले यसले सेयर बजारलाई नकारात्मक असर पार्ने विश्लेषण गरिन्छ । यद्यपि अहिले ब्याजदर निकै तल्लो तहमा आइसकेकोले एक दुई प्रतिशत ब्याजदरको वृद्धिले बजारमा धेरै फरक नपार्ने ढकालको तर्क छ । 

दसैँपछिको उत्पादन र निर्माणको अर्थतन्त्र सुरु हुने भएको पनि आफूले बजारलाई सकारात्मक ढंगले हेरेको उनी बताउँछन् । बाढी पहिरोका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले गर्ने खर्चहरू तत्कालै वित्तीय क्षेत्रमा प्रवाह हुने भएकोले यसले पनि सकारात्मक प्रभाव पार्नसक्ने उनी बताउँछन् ।

ढकाल पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सुरु भएको सङ्केतहरू देखिन थालेको समेत बताउँछन् । ‘सरकारले पहिलो तीन महिनामै २० अर्ब भन्दा बढी पुँजीगत खर्चहरू गरेको छ, गौतम बुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजहरूले उडान भर्न लागेको खबर आएका छन्,’ ढकाल भन्छन्, ‘यी सबै खबरहरू अर्थतन्त्र सुधारका सङ्केत हो । यो अवस्थाले पुँजी बजारको मनोविज्ञान समेत बढाउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप