सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
पाकिस्तानी क्रिकेट टोलीमा परिवर्तन

बाबर आजमप्रति विश्वका चर्चित क्रिकेटरहरूको सहानुभूति

इङ्ल्यान्डका पूर्वखेलाडी माइकल भन्छन्, ‘आश्चर्यको अर्को नाम पाकिस्तानी क्रिकेट’
सोमबार, २८ असोज २०८१, १६ : ३५
सोमबार, २८ असोज २०८१

काठमाडौँ । इङ्ल्यान्डका चर्चित पूर्वक्रिकेटर माइकल भनले आश्चर्यको अर्को नाम पाकिस्तानी क्रिकेट भएको टिप्पणी गरेका छन् । उनले हालै पाकिस्तानी क्रिकेट टोलीमा गरिएको परिवर्तनलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् ।

हालै मुल्तानमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानी टोली इङ्ल्यान्डसँग एक पाली र ४७ रनको विशाल अन्तरले पराजित भएको थियो । त्यो लज्जास्पद हारलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय टोली छनोट समितिमा व्यापक परिवर्तन गरेको थियो ।

नयाँ छनोट समितिको सिफारिसमा पूर्वकप्तान बाबर आजम, साहिन शाह अफरिदी, नसिम शाह, सरफराज अहमदजस्ता अनुभवी खेलाडीलाई पाकिस्तानी टोलीबाट हटाइएको थियो । पीसीबीले यी तीनैजना खेलाडीलाई केही समयका लागि आराम दिइएको बताएको छ ।

पीसीबीको सोही निर्णयलाई लिएर इङ्ल्यान्डका पूर्वखेलाडी माइकल भनले आश्चर्यको दोस्रो नाम पाकिस्तानी क्रिकेट भएको टिप्पणी गरेका हुन् । उनले एकैपटक बाबर आजम, साहिन शाह अफरिदी, नसिम शाहजस्ता अनुभवी खेलाडीलाई टोलीबाट हटाइने पीसीबीको मूर्खतापूर्ण निर्णय भएको टिप्पणी पनि गरेका छन् ।

इङ्ल्यान्डविरुद्धको दोस्रो र टेस्टका लागि टोलीबाट हटाइएका खेलाडीहरूले पनि पीसीबीको उक्त निर्णयप्रति निराशा व्यक्त गरेका छन् । माइकल भनले पनि खेलाडीकै पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । भनका अनुसार, खेलाडीले आरामका लागि समय नमागेसम्म एकैपटक यति धेरै अनुभवी खेलाडीलाई टोलीबाट हटाउनु गलत निर्णय हो ।

‘लामो समयदेखि पाकिस्तानको प्रदर्शन सन्तोषजनक छैन । अहिले इङ्ल्यान्डविरुद्ध टेस्ट शृङ्खला खेलिरहेको छ । पहिलो टेस्टमा नमिठो पराजय पनि भोगेको छ । बाँकी दुई टेस्ट पाकिस्तानका लागि निकै महत्त्वपूर्ण छ । त्यसैले यस्तो अप्ठ्यारो स्थितिमा अनुभवी खेलाडीहरूलाई टोलीबाट हटाउनु मूर्खतापूर्ण निर्णय हो । मेरो विचारमा पाकिस्तानी क्रिकेटमा जे पनि सम्भव छ । त्यसैले आश्चर्यको अर्को नाम पाकिस्तानी क्रिकेट हो,’ भनले भनेका छन् ।

यसैगरी, भारतीय क्रिकेट टोलीका पूर्वब्याट्सम्यान आकाश चोपडाले पनि बाबर आजमलगायतका अनुभवी खेलाडीलाई एकैपटक टोलीबाट हटाइनु गलत निर्णय भएको बताएका छन् । उनले बाबर आजम सर्वकालीन महान खेलाडीमध्येको एक भएको प्रतिक्रिया पनि दिएका छन् ।

3 Aakash Chopra

‘कुनै पनि खेलाडीको प्रदर्शन सधैँ एकनासको हुँदैन । केही खेलमा खराब प्रदर्शन गरेकै आधारमा सर्वकालीन महान खेलाडीमध्येका एक बाबर आजमलाई अप्रत्याशित रुपमा टोलीबाट हटाइनु सर्वथा गलत निर्णय हो । यो निर्णयले अन्ततः समग्र पाकिस्तानी क्रिकेटलाई नै घाटा पुर्‍याउँछ,’ उनले भनेका छन् ।

यसैगरी, अस्ट्रेलियाका पूर्वखेलाडी ब्राड हजले पनि बाबर आजमलाई अप्रत्याशित रुपमा टोलीबाट हटाउने निर्णय गलत भएको टिप्पणी गरेका छन् । उनले यो निर्णयले पाकिस्तानी क्रिकेटलाई घाटा पुर्‍याउने धारणा पनि व्यक्त गरेका छन् ।

2 Brad Hodge

४९ वर्षीय ब्राड हज पछिल्लो समय नेपालमा आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सँग जोडिएका छन् । उनलाई सुदूरपश्चिम रोयल्सले आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ । हज आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप