सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको रिपोर्ट

नेपालीको भान्सामा सबैभन्दा धेरै के–केमा हुन्छ खर्च ?

सोमबार, २८ असोज २०८१, २० : २३
सोमबार, २८ असोज २०८१

काठमाडौँ । तपाईंले भान्सामा प्रयोग हुने सामाग्रीमध्ये सबैभन्दा धेरै केमा खर्च गर्नुहुन्छ ? अधिकांश व्यक्तिको खर्च चामल, दाल, गेडागुडी, तरकारी, दुध, फलफूल र माछामासुमा हुन्छ भन्ने त हामीलाई थाहा नै छ । तर, त्यसरी प्रयोग हुने सामानमध्ये पनि कुन आइटममा धेरै खर्च हुन्छ भन्ने याद गर्नुभएको छ ? 

नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि मापनको प्रयोजनको लागि भान्सामा धेरै प्रयोग हुने वस्तुको पहिचान गरेको छ । उपभोक्ता मूल्य सर्भेक्षणका लागि तयार गरिएको रिपोर्टमा अन्नमा १३ वटा, दालमा ११ वटा, तरकारीमा २२ वटा, माछामासुमा ५ वटा, फलफूलमा १३ वटा आइटमलाई सबैभन्दा धेरै प्रयोग हुने वस्तुको रूपमा पहिचान गरेको देखिन्छ । त्यसमध्ये पनि यहाँ हामी धेरै खर्चभार भएका वस्तुको बारेमा चर्चा गर्दैछौं ।

अन्नको ५९ प्रतिशत खर्च चामलमा

रिपोर्ट अनुसार देशभरका उपभोक्ताले गर्ने कुल अन्न खपतमध्ये चामलका लागि मात्रै ५८.५१ प्रतिशत खर्च हुने गरेको छ । यसमध्ये ३२.१२ प्रतिशत मसिनो चामल र २६.३१ प्रतिशतले मोटा चामल प्रयोग गर्ने गरेका छन् । 

त्यस्तै, गहुँ, गहुँको पिठो र मैदामा १४.४५ प्रतिशत, बिस्कुट तथा कुकिजमा ५.९५ प्रतिशत, तयारी चाउचाउ ५.५४ प्रतिशत, मकै तथा मकैको पीठोले ३.४२ प्रतिशत, पाउरोटी, दुनो र बमले ३.२८ प्रतिशत तथा च्युराले २.६४ प्रतिशत हिस्सा ओगट्ने गरेको उल्लेख गरिएको छ ।

यी बाहेक कोदो, पानीपुरी, भुजिया, पास्ता, दालमोठ भुजिया चिप्सलाई समेत बजार मूल्य सर्वेक्षणमा समावेश गरिएको छ । अन्नका लागि कुल उपभोक्ता खर्चको ८.०८३७ प्रतिशत खर्च बेहोर्दै आएका छन् । 

त्यस्तै, दाल तथा गेडागुडीमध्ये सबैभन्दा धेरै खर्च मुसुरोको दालमा हुने गरेको छ । यसले मात्रै दालजन्य पदार्थमा हुने खपतमा मुसुरोको हिस्सा मात्रै ३६.७७ प्रतिशत रहेको छ । 

त्यसपछि क्रमशः मास, रहरमा हुँदा चौथो चना र राजमाको माग उच्च छ । दाल तथा गेडागुडीजन्य वस्तुमध्ये चनाको हिस्सा पाँचौँ रहेको सर्वेक्षणले देखाएको छ । दाल तथा गेडागुडीमा कुल खर्चको १.७५८० रुपैयाँ खर्च हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।

चार आइटमले ओगट्छ तरकारीको आधा हिस्सा

भान्सा प्रयोग हुने तरकारीको आधा हिस्सा चार वटा तरकारीले ओगट्ने गरेको देखिएको छ । रिपोर्ट अनुसार यसरी सर्वाधिक खपत हुने तरकारीहरूमा आलु, हरियो सागपात, गोलभेँडा र प्याज रहेका छन् । कुनैपनि व्यक्तिले गर्ने कुल खर्चमध्ये तरकारीका लागि ४.६४५३ प्रतिशत छुट्याउने गरेका छन् । 

तरकारीमा हुने कुल खर्चमध्ये आलु किन्न मात्रै व्यक्तिले १९.६४ प्रतिशत खर्च गर्ने गरेका छन् । त्यस्तै, हरियो सागपातमा १३.७९ प्रतिशत, गोलभेँडामा ८.७६ प्रतिशत र सुकेको प्याजमा ७.९८ प्रतिशत खर्च हुने गरेको देखिएको छ । यो आधारमा हेर्दा यी चार वटा तरकारीमा तरकारीको ५०.१३ प्रतिशत खर्च हुने गरेको छ । 

त्यसबाहेक, काउलीले ५.७७ प्रतिशत, काँक्रोले ५.११ प्रतिशत, हरियो सिमी र बोडीले ४.९५ प्रतिशत, लौका, फर्सी र घिरौँलाले ४.६२ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । त्यस्तै, हरियो खुर्सानीले ३.६४ प्रतिशत, मस्यौरा (सोयाबिन) ले ३.२८ प्रतिशत, च्याउले ३.१४ प्रतिशत, मुला र गाजरले २.६४ प्रतिशत, बन्दागोबीले २.२६ प्रतिशत र भिण्डीले २.२४ प्रतिशत हिस्सा ओगट्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अर्थतन्त्रको समग्र मूल्यस्तरमा प्रभाव पार्नसक्ने भन्दै २२ वटा तरकारीको पहिचान गरेको छ । यसमा माथि उल्लेख बाहेक पनि भन्टा, स्कुस, करेला, परवर, हरियो केराउ, पिँडालु तरुल र सखरखण्ड, तयारी अचार र अन्य ताजा तरकारीको मूल्य सर्वेक्षणमा समावेश गरिएको छ । 

फलफूलमा के छ अवस्था ? 

फलफूलतर्फ भने सर्वाधिक खर्च स्याउमा हुने गरेको पाइएको छ । फलफूलमा हुने कुल खर्चमध्ये स्याउले मात्रै २९.४४ प्रतिशत हिस्सा ओगट्ने राष्ट्र बैंकको तथ्याङ्क छ । त्यस्तै केराले १७.९८ प्रतिशत, सुन्तलाले ११.०७, काजु किसमिस बदाम र नरिवलले ७.७६ प्रतिशत, आँपले ७.५२ प्रतिशत, अङ्गुरले ६.९४ प्रतिशत, अनारले ५.२३ प्रतिशत, कागतीले ३.७८ प्रतिशत खर्चको हिस्सा ओगट्ने गरेको देखिएको छ । 

फलफूल अन्तर्गत राष्ट्र बैंकले काजु किसमिस बदाम र अन्य १३ प्रकारका फलफूलको मूल्य सर्वेक्षण गर्दै आएको छ । उल्लेखित बाहेक अम्बा, भूइँकटहर, मेवा, निबुवा र मौसम, नास्पाती, लिची एभोकाडो, ड्रागन फ्रुट र खरबुजा समेत समावेश गरिएको छ । फलफूलका लागि मात्रै उपभोक्ताले आफ्नो कुल खर्चको ३.२३४१ प्रतिशत छुट्याउने गरेका छन् । 

चिकेनकै हाराहारीमा मटनमा खर्च

सर्वेक्षणले मासुमा मात्रै ५.७५६६ प्रतिशत खर्च हुने गरेको देखाएको छ । त्यसमध्ये खसीबोकाको मासु (मटन) मा हुने खर्च कुखुराको मासु (चिकेन) मा हुने खर्चकै हाराहारीमा हुने तथ्य देखाएको छ । कुखुराको मासुमा ४०.८६ प्रतिशत खर्च हुँदा खसी बोका, भेँडा तथा च्याङ्ग्राको मासुका लागि खसीको मासुका लागि ३४.४५ प्रतिशत खर्च हुने गरेको रिपोर्टले देखाएको छ । 

त्यस्तै, माछाले ८.८९ प्रतिशत, राँगा तथा भैँसीको मासुले ८.५९ प्रतिशत र सुँगुर तथा बङ्गुर र बँदेलको मासुले ७.२२ प्रतिशत हिस्सा ओगट्ने सर्वेक्षणले देखाएको छ । मान्छेको भान्सामा कुखुराको मासुको माग धेरै हुने गरेको भए पनि खसीबोका महँगो हुने र चाडबाडमा अनिवार्य रूपमा प्रयोग हुने गरेकोले यस्तो देखिएको हुनसक्ने सर्भेक्षणमा संलग्न नेपाल राष्ट्र बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालयका अधिकारीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप