सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

सोमबार, २८ असोज २०८१, १५ : २५
सोमबार, २८ असोज २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि सोमबार आफ्नो टोलीको घोषणा गरेको छ । एन्फाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

टोलीमा एन्जिलाका अतिरिक्त अञ्जना रानामगर र उषा नाथले पनि गोलरक्षकका रूपमा स्थान पाएका छन् । डिफेन्डरका रूपमा गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला बिक, हिराकुमारी भुजेल र सजनी थोकरलाई समेटिएको छ ।

यसैगरी, मिडफिल्डरका रूपमा रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी रहेका छन् । टोलीमा अग्रपँक्तिको खेलाडीका रूपमा रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारीले स्थान पाएका छन् ।  

साफ महिला च्याम्पियनसिप आगामी कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ ।

प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बंगलादेश रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने नेपाल, श्रीलङ्का, भुटान र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताका सहभागी टोलीहरुलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकालीस्थित खेल मैदान र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले प्रमुख प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षकत्वमा तयारी गरिरहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच खेलिने छ । नेपाली टोलीले भने आफ्नो पहिलो खेल कार्तिक २ गते साँझ भुटानसँग खेल्नेछ । प्रतियोगितामा सहभागी हुन पाकिस्तानको टोली काठमाडौँ आइसकेको छ । अन्य टोलीहरू पनि आउने क्रम जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप