दुबईबाट फर्किएर शीतल चिनी खेती
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६, बैठकपुर बस्ने गोविन्द प्रसाद कँडेल १२ वर्ष अघि दुबईको सेरामिक्स कम्पनीमा काम गर्थे । कम्पनीमा काम गर्दागर्दै कँडेलले शीतल चिनी (मोरिंगा वा सजिवन)को गुण र त्यसको बजारबारे जानकारी प्राप्त गरेका थिए ।
त्यो बेला कँडेलले सरदर मासिक ३० हजार रुपैयाँ पाउँथे । कम्पनीले खान र बस्न दिन्थ्यो । विदेशका अरूको काम गर्नुभन्दा आफ्नै माटोमा शीतल चिनी खेती गर्ने योजना बनाएर उनी नेपाल फर्किए ।
२०७९ सालमा रुपन्देहीको सैनामैना नगरपालिका–३ मा ३ लाख रुपैयाँ लगानी गरेर ३ बिघा जग्गामा उनले शीतल चिनी खेती सुरु गरे । धान फल्ने खेत मासेर शीतल चिनीको बिरुवा लगाउँदा छिमेकीहरूले उनलाई गिज्याए ।
धेरै प्राविधिक ज्ञान थिएन । पानी, माटोको विषयमा पनि कम ज्ञान । अर्कोतिर शीतल चिनी खेती नेपालका लागि नयाँ प्रयोग थियो । कँडेलले रातोपाटीसँग भने, ‘यो खेती आफैँमा नयाँ हो । त्यसमाथि विदेशमा खुरुखुरु तलब आउने, यता आफ्नो लगानी डुब्ने चिन्ता । तर शीतल चिनीबारे विदेशमा जति बुझेको थिएँ, त्यसका आधारमा सफल भइन्छ भन्ने विश्वासले काम गरेँ ।’
अहिले राम्रो आम्दानी भएपछि सबैतिरबाट प्रशंसा भइरहेको कँडेलले बताए । ‘हिजो मलाई गिज्याउने छिमेकीहरू अहिले आफैँ त्यही खेती गरेको देख्दा खुसी लाग्छ,’ उनले भने ।
हुन पनि एक दशक अगाडि तीन लाख रुपैयाँबाट सुरुवात गरेको उनको कृषि कम्पनी अहिले १ करोड पुँजीमा पुगेको छ । ३ बिघाबाट सुरुवात गरेको खेती १४ बिघामा विस्तार भइसकेको छ ।
विदेशमा ३० हजार मासिक तलब पाउने कँडेलले नेपालमै वार्षिक २ लाखभन्दा धेरै कर राज्यलाई तिर्छन् । उनले भने, ‘मैले विदेशमा पाउने तलबभन्दा ५ गुणा धेरै कमाइरहेको छु । राज्यलाई वार्षिक २ लाख रुपैयाँभन्दा धेरै कर तिरेको छु ।’
शीतल चिनी नेपालको तराई–मधेस तथा मध्य पहाडमा छिटो तयार हुने बिरुवा हो । यसलाई अलि धेरै गर्मी चाहिने भएकाले पहाडमा भन्दा तराईमा धेरै छिटो हुर्कन्छ ।
५६ वर्षीय कँडेलले अहिले १४ बिघामा यसको खेती गरिरहेका छन् । आफ्नो बाहेक अरूको जग्गा भाडामा लिएर पनि उनले खेती गरेका हुन् ।
इनोभेट बहुउद्देश्यीय कृषि फर्म प्रालि सैनामैनामा उनले शीतल चिनी प्रशोधन गर्ने मेसिन राखेका छन् । शुद्धोधन गाउँपालिको कटा भन्ने ठाउँमा १३ कट्ठा जमिनमा बिरुवाका लागि नर्सरी छ ।
कँडेलले रुपन्देहीका विभिन्न ठाउँ, नवलपरासीको त्रिवेणी, गुल्मीको चारपाला, दाङ जिल्लाको घोराहीका किसानहरूलाई बिरुवा दिने, उनीहरूले उत्पादन गरेको शीतल चिनी पात, कोसा, जरा, डाँठ प्रशोधन गर्ने गरेका छन् । त्यसका लागि मेसिन, प्राविधिकहरूको टोली नै उनले किसानको बारीसम्म पुर्याउने गरेका छन् ।
सैनामैनामा रहेको कम्पनीमा रुपन्देहीका किसानहरूले ल्याएका पातलाई सुकाएर पिस्ने र प्याकेजिङ गर्ने गरेको कँडेल बताउँछन् । अहिले उनको कम्पनीमा १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कँडेल शीतल चिनीको बिउ भारतको तमिलनाडुबाट ल्याउने गर्दछन् । उनलाई छोरा कुशल र श्रीमती शान्ताले पनि साथ दिँदै आएका छन् । रामपुर क्याम्पस बीए प्रथम वर्ष अध्ययनरत छोरा कुशलले पनि बुवाले सुरु गरेको कामलाई निरन्तरता दिने योजना सुनाए ।
- बजारको अवस्था
कँडेलले उत्पादन गरेको शीतल चिनीको पातलाई प्रशोधन गरेर थोक विक्रेताकहाँ पठाउँछन् । थोक विक्रेताले बुटवल, काठमाडौँ, पोखरा, वीरगन्ज लगायतका सहरमा पुर्याउँछन्, जहाँ शीतल चिनीको राम्रो बजार छ ।
खास गरी कार्तिकदेखि मंसिरसम्म शीतल चिनीको सिजन मानिन्छ । यो सिजनमा एक हजार क्वीन्टल बिक्री हुने अपेक्षा राखेका छन् कँडेलले । अहिलेसम्म ६ सय क्वीन्टल बिक्री भइसकेको उनले सुनाए ।
शीतल चिनीको पातलाई क्याप्सुल बनाएर सुगर, प्रेसर, ग्यास्ट्रिक रोगीहरूले प्रयोग गर्ने गरेका छन् । यसको कोसालाई तरकारी (सुप)को रूपमा प्रयोग गरिन्छ भने जरालाई छालाको प्रशोधन सामग्रीको प्रयोग गरिन्छ । बजारको कुनै समस्या नभएको कँडेलको भनाइ छ ।
कँडेलसँग एक सयभन्दा धेरै किसान जोडिएका छन् । अन्य खेतीमा भन्दा राम्रो आम्दानी हुने भएकाले किसानको आकर्षण यसमा बढेको उनको भनाइ छ ।
शीतल चिनीको बिरुवा एक पटक लगाएपछि तराईमा वर्षको ४ पटक र पहाडमा तीन पटक पात र कोसाको उत्पादन हुन्छ । कोसाको बजार मूल्य प्रतिकिलो ६ सय रुपैयाँसम्म छ भने प्रशोधन गरेका पातको प्रतिकिलो १ हजार रुपैयाँ सरदर बजार भाउ छ ।
- ‘सरकारबाट सहयोग छैन, करमात्र खोज्छ’
दुबई जानुअघि कँडेलले नेपालमै केही गरौँ भनेर विभिन्न पेसा व्यवसाय गरेका थिए । घडी, रेडियो मर्मत केन्द्रदेखि टिभीको होलसेल व्यापार पनि उनले गरे ।
विभिन्न कारणले व्यापारमा जम्न नसकेपछि उनी भिजिट भिसामा दुबई गए । त्यहाँ उनले जसोतसो ५ वर्ष काम गरे । आर्थिक उन्नति खासै नभएपछि उनले स्वदेशमै केही गर्ने अठोटका साथ फर्किनु पर्यो ।
कँडेलले अहिलेसम्म स्थानीय, प्रदेश र संघ सरकारबाट कुनै पनि सहयोग लिएका छैनन् । उनले शीतल चिनी सुकाउने मेसिनका लागि सरकारसँग सहयोग माग गरेका थिए । तर यसबाट कति आम्दानी हुन्छ, कति कर तिर्छ भन्नेजस्ता विषयमा मात्र सरकारको ध्यान केन्द्रित हुने गरेको अनुभूति कँडेलले गरे । केही गरौँ भन्ने अठोट लिएका युवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा हतोत्साहित बनाउने गरेको उनको भनाइ छ ।
कँडेलले भने, ‘विदेशमा नयाँ काम गर्नेहरूलाई राज्यले प्रोत्साहन गर्छ तर यहाँ उल्टो दुःख दिन खोजिन्छ ।’
अहिले पहाडमा धेरै जग्गा बाँझो छ । खेती भएको ठाउँमा पनि अहिले परम्परागत बालीको उत्पादन भन्दा तीन/चार गुणा धेरै नाफा शीतल चिनीबाट हुने उनको भनाइ छ ।
यो अवस्थामा पहाडका किसानलाई शीतल चिनी खेतीमा जोड्ने कँडेलको योजना छ । अहिले गुल्मी, चारपालमा शीतल चिनीको खेती सफल भएको छ । अब अन्य जिल्लामा पनि यसको खेती विस्तार गरी किसानहरूको एउटा राम्रो नेटवर्क निर्माण गर्ने उद्देश्य रहेको कँडेलले खुलाए ।
‘बाँझो जमिनलाई हराभरा बनाउँदै राम्रो आम्दानी गर्न सकिन्छ । विदेश जाने युवाहरूलाई यो खेतीमा प्रोत्साहन गर्न सकिन्छ,’ उनले भने, ‘अरब, मलेसियामा हुने कमाइभन्दा आफ्नो बारीमै धेरै कमाउन थालेपछि केही पनि विदेश जाँदैनन् ।’
- प्रदेश कृषि निर्देशनालय भन्छ– शीतल चिनीको खेती बढ्दो
लुम्बिनीमा पछिल्लो समय शीतल चिनीको खेती विस्तार हुँदै गएको लुम्बिनी प्रदेश कृषि निर्देशनालयका कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेयले बताए ।
नेपालमा खासगरी कोभिडपछि इम्युनिटी पावर वृद्धि गर्ने उद्देश्यले यसको प्रयोग बढेको देखिन्छ । लुम्बिनी प्रदेशको गुल्मी, नवलपरासी, रुपन्देही र दाङ जिल्लामा केही किसानले यसको व्यावसायिक खेती गरेका छन् ।
निर्देशक पाण्डेयका अनुसार भारतमा तरकारी रूपमा यसको प्रयोग धेरै हुने भए पनि नेपालमा इम्युनिटी पावर बढाउन भन्दै पातको प्रयोग पनि बढेको छ । उनले नियमअनुसार किसानलाई दिन सकिने सहयोगका लागि आफू तयार रहेको पनि बताए ।