सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा पाकिस्तानसँग भिड्न अस्ट्रेलियन टोलीको घोषणा, ट्राभिस हेड र मिचेल मार्स परेनन्

सोमबार, २८ असोज २०८१, १३ : ३७
सोमबार, २८ असोज २०८१

काठमाडौँ । पाकिस्तानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि सोमबार अस्ट्रेलियन टोलीको घोषणा गरिएको छ । अस्ट्रेलिया र पाकिस्तानबिचको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला नोभेम्बर ४ तारिखदेखि सुरु हुँदैछ ।

क्रिकेट अस्ट्रेलिया (सीए) ले उक्त शृङ्खलाका लागि प्याट कमिन्सको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो । अस्ट्रेलियन टोलीमा दुई प्रभावशाली खेलाडी मिचेल मार्स र ट्राभिस हेडलाई भने समावेश गरिएको छैन ।

यी दुबै खेलाडीलाई आराम दिइएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । मिचेल मार्स र ट्राभिस हेड आफैले क्रिकेट अस्ट्रेलियासँग आफूहरूलाई टोलीमा समावेश नगर्न अनुरोध गरेको पनि समाचारमा जनाइएको छ । यी दुबै खेलाडी नोभेम्बरमा पिता बन्ने तयारीमा रहेको बताइएको छ ।

अस्ट्रेलियाले घरेलु मैदानमा पाकिस्तानसँग यो शृङ्खला खेल्न लागेको हो । शृङ्खलाको पहिलो खेल नोभेम्बर ४ तारिखमा मेलबर्नमा खेलिने छ । दोस्रो खेल नोभेम्बर ८ तारिखमा एडिलेडमा र तेस्रो खेल नोभेम्बर १० तारिखमा पर्थमा खेलिने बताइएको छ ।

मार्स र हेडको अनुपस्थितिमा युवा खेलाडी ज्याक फ्रेजर म्याकगर्क र म्याथ्यू सर्टले अस्ट्रेलियन टोलीमा अवसर पाएका छन् । घोषित अस्ट्रेलियन टोलीमा प्याट कमिन्स (कप्तान), सिन एबट, कुपर कोलोनी, ज्याक फ्रेजर म्याकगर्क, एरोन हार्डी, जस हेजलउड, जस इङ्लिस, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप