सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

खेल पाकिस्तान र न्युजिल्यान्डको, तनाव भारतलाई !

सोमबार, २८ असोज २०८१, १२ : ३७
सोमबार, २८ असोज २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा सोमबार पाकिस्तानले न्युजिल्यान्डको सामना गर्दैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

पाकिस्तान र न्युजिल्यान्डबिचको खेल धेरै अर्थमा महत्त्वपूर्ण रहको छ । यो खेलपछि समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । लिग चरणमा समूह ‘ए’ को यो अन्तिम खेल पनि हो ।

388578

यो समूहबाट साबिक विजेता अस्ट्रेलिया यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । चार खेल खेलेको अस्ट्रेलिया अपराजित रहँदै आठ अङ्क बटुलेर तालिकाको पहिलो स्थानमा आसीन छ । चार खेल खेलेको भारत दुई जित र दुई हारबाट चार अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

तीन खेल खेलेको न्युजिल्यान्ड दुई जित र एक हारबाट चार अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको पाकिस्तान एक जित र दुई हारबाट दुई अङ्क जोड्दै चौथो स्थानमा आसीन छ । चारवटै खेलमा पराजित भइसकेको श्रीलंका भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

त्यसैले यो समूहबाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बन्न भारत, न्युजिल्यान्ड र पाकिस्तानबिच निकै ठुलो प्रतिस्पर्धा देखिन्छ । भारतको नेट रन रेट ०.३२२, न्युजिल्यान्डको नेट रन रेट ०.२८२ र पाकिस्तानको नेट रन रेट –०.४८८ रहेको छ ।

388694

सोमबारको खेलमा पाकिस्तानलाई हराउन सकेमा न्युजिल्यान्ड ६ अङ्कसहित सजिलै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ । न्युजिल्यान्ड र पाकिस्तानबिचको खेल बराबरी वा अनिर्णीत रूपमा सकिएमा पनि पाँच अङ्कसहित न्युजिल्यान्ड नै सेमिफाइनलमा पुग्नेछ ।

यस्तो स्थितिमा श्रीलंकासँगै भारत र पाकिस्तान पनि उपाधि होडबाट बाहिरिने छन् । तर, पाकिस्तानले न्युजिल्यान्डलाई हराएमा भारतको सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बन्नेछ । किनभने नेट रन रेटमा न्युजिल्यान्ड र पाकिस्तानभन्दा निकै अगाडि छ ।

पाकिस्तानीको हालको नेट रन रेट निकै कम देखिन्छ । त्यसैले पाकिस्तानले सेमिफाइनलमा पुग्न सोमबारको खेलमा न्युजिल्यान्डलाई अत्यन्तै ठुलो अन्तरले हराउनु पर्ने हुन्छ । त्यो सम्भावना निकै कम देखिन्छ । त्यसैले अहिले भारतीय टोली र समर्थक पनि आफ्नो चिर प्रतिद्वन्द्वी राष्ट्र पाकिस्तानकै जितको कामना गर्न व्यस्त छन् ।

जारी प्रतियोगितामा न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा भारतलाई ५८ रनले हराएको थियो । दोस्रो खेलमा न्युजिल्यान्डको टोली ६ पटकको च्याम्पियन अस्ट्रेलियासँग ६० रनले पराजित भएको थियो । तेस्रो खेलमा भने न्युजिल्यान्डले श्रीलंकालाई आठ विकेटले हराएको थियो ।

यसैगरी, पाकिस्तानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३१ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा पाकिस्तानको टोली चिर प्रतिद्वन्द्वी भारतसँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पनि पाकिस्तानी टोली अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।

पाकिस्तान र न्युजिल्यान्डले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । तर, हालसम्म यी दुवै टोलीले महिला टी–२० विश्वकपको उपाधि भने चुम्न सकेका छैनन् ।

न्युजिल्यान्डको टोली सन् २००९ मा सम्पन्न पहिलो र सन् २०१० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पुगेर पनि पराजित भएको थियो । सन् २००९ को विश्वकपको फाइनलमा घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

त्यसपछि सन् २०१० मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । महिला टी–२० विश्वकपको इतिहासमा सबैभन्दा कमअन्तरको जितको कीर्तिमान पनि त्यही खेलले बनाएको छ ।

त्यसयता न्युजिल्यान्ड फाइनलसम्म पुग्न सकेको छैन । अर्कोतिर, पाकिस्तानी टोली भने हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यो तथ्याङ्कले भने महिला टी–२० विश्वकपमा पाकिस्तानभन्दा न्युजिल्यान्डलाई बलियो देखाउँछ ।

388692

हालसम्म यी दुई टोलीबिच खेलिएको महिला टी–२० अन्तर्राष्ट्रियको तथ्याङ्कले पनि न्युजिल्यान्डलाई नै बलियो देखाउँछ । हालसम्म न्युजिल्यान्ड र पाकिस्तानबिच ११ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये नौ खेलमा न्युजिल्यान्ड र दुई खेलमा पाकिस्तान विजयी भएका छन् ।  

न्युजिल्यान्डको टोली यसपटक सोफी डेभिनको कप्तानीमा महिला विश्वकप यात्रामा होमिएको छ । ३५ वर्षीया सोफी टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।

टेस्ट क्रिकेटमा भने उनले ‘डेब्यू’ गरेकी छैनन् । दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले शतक बनाएकी छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय एक र टी–२० अन्तर्राष्ट्रियमा एक सय १७ विकेट पनि लिइसकेकी छन् ।

यसैगरी, पाकिस्तानी टोलीको कप्तान फातिमा साना हुन् । २३औँ वर्ष प्रवेशको सँघारमा रहेकी साना फातिमा पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । उनी टोलीकी अलराउन्डर खेलाडी हुन् ।

तर, विश्वकप चलिरहँदा पाकिस्तानी टोलीकी कप्तान फातिमा सानाको पिताको निधन भएको भयो । पिताको निधनपछि कप्तान फातिमा साना यूएईबाट घर (कराँची) फर्किएकी छन् । अस्ट्रेलियाविरुद्धको अघिल्लो खेलमा पनि उनी अनुपस्थित रहिन् ।

388398

आफ्नो प्रभावशाली खेलाडीको अनुपस्थितिले पाकिस्तानलाई ठुले झट्का लागेको छ । फातिमा सानाको अनुपस्थितिमा पाकिस्तानको कप्तानको भूमिका उपकप्तान मुनिबा अलीले निर्वाह गरिरहेकी छन् । कप्तान फातिमा सानाको पिताको निधन स्ट्रोकका कारण भएको बताइएको छ ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप