सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
प्रसंग पहिरोमा परी ६ किशोर फुटबल खेलाडीको निधन

कमल थापा भन्छन्, ‘एन्फा नेतृत्वबाट नैतिकताका आधारमा राजीनामाको आशा गर्दिन’

सोमबार, २८ असोज २०८१, ११ : २५
सोमबार, २८ असोज २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत असोज १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको घटनालाई लिएर सरकारले छानबिन आयोग गठन गर्नु पर्ने माग गरेका छन् ।

अध्यक्ष थापाले उक्त घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)प्रति ब्यंग्य पनि गरेका छन् । उनले २०४५ सालमा काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुःखद घटना हुँदा आफूले नैतिकताका आधारमा एन्फाको अध्यक्ष पदबाट राजीनामा दिएको प्रसंग पनि उल्लेख गरेका छन् ।

‘२०४५ साल फागुनमा आँधिबेहरीका कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो । कसैको दबाब थिएन । कसैले राजीनामा मागेको पनि थिएन । अन्तर्आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघको अध्यक्ष पदबाट मैले तत्काल राजीनामा दिएँ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले पोष्ट गरेका छन् ।

स्मरण रहोस, थापा त्यतिबेला एन्फाका अध्यक्ष थिए । आफ्नो पोष्टमा थापाले २०४५ सालमा रंगशाला दूर्घटनापछि सरकारले छानबिन आयोग गठन गरेको तथा राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बिघटन गरेको र तात्कालिन शीक्षामन्त्रीले राजीनामा दिएको घटना पनि स्मरण गरेका छन् ।

‘२०४५ सालको घटनापछि सरकारले छानबिन आयोग गठन ग¥यो । अन्ततः राष्ट्रिय खेलकुद परिषद् बिघटन भयो । शीक्षामन्त्री राजीनामा दिन बाध्य भए । यो राजाको शासन र पंचायतकालको कुरा थियो,’ राप्रपा नेपालका अध्यक्ष थापाले भनेका छन् ।

थापाले वर्तमान एन्फा व्यवस्थापनको गलत निर्णय कमजोरीका कारण गत असोज १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको दाबी पनि गरेका छन् ।

उनले भनेका छन्, ‘२०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीका कारण पहिरोमा परेर ६ जना किशोरको दुःखद निधन भयो । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिन । कमसेकम सरकारले छानबिन आयोग गठन गरोस् र पिडीतलाई न्याय देओस् भन्ने माग गर्दछु । यसतर्फ प्रधानमन्त्री केपी ओलीको ध्यान आकिर्षत गर्दछु ।’

गत असोज १२ गते मकवानपुर जिल्लाको वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको थियो । उक्त घटनामा परी ६ जना बाल फुटबल खेलाडी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आयार्च, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको मृत्यू भएको थियो ।

उक्त घटनाको छानबिन गर्न एन्फाले आफ्ना केन्द्रीय सदस्य विकाश नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठान गरेको छ । छानबिन समितिमा टिकाराम लामा (एन्फा केन्द्रीय सदस्य) र दामोदर भट्टराई (एन्फा सहायक महासचिव) सदस्यका रुपमा रहेका छन् ।  

तर, एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले भने उक्त छानबिन समितिमाथि नै प्रश्न उठाउँदै आएका छन् । वरिष्ठ उपाध्यक्ष खड्काले नै उक्त घटनाको विषयमा छलफल गर्न एन्फा कार्यसमितिको आपतकालीन बैठक बोलाउन माग गरेका थिए । उनको माग अनुसार नै एन्फाको अपतकालीन बैठक बोलाइएर छानबिन समिति गठन गरिएको थियो ।

‘छानबिन समितिमा रहेका सदस्यहरुप्रति मेरो असहमती छ । एन्फा र ब्यवस्थापन समितिको लापरवाहीका कारण घटना भएको भनेर प्रश्न उठिरहेको छ । छानबिनको दायरामा पर्ने ब्यक्ति नै समितिमा रहेको र सो घटनाको छानबिन गर्न संसदीय समिति समेत गठन भइसकेको अवस्थामा यो समितिको औचित्य नहुने हुँदा यो निर्णयमा मेरो सहमती नरहेको ब्यवहोरा जानकारी गराउँछु,’ वरिष्ठ उपाध्यक्ष खड्काको कथन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप