सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
श्रम/रोजगार

अधिकांश नेपाली सिपबिनै वैदेशिक रोजगारीमा जान्छन्

सोमबार, २८ असोज २०८१, १५ : २२
सोमबार, २८ असोज २०८१

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिकको हातमा कुनै पनि सिप ९स्किल० हुँदैन । जसले गर्दा उनीहरू न्यूनतम सेवा सुविधा तथा पारिश्रमिकमा काम गर्न बाध्य हुँदै आएका छन् ।

 नेपालबाट औपचारिक रूपमा वैदेशिक रोजगारीमा जान लागेको लामो समय भइसकेको छ । तरपनि आजसम्म दक्ष कामदारको सङ्ख्यामा वृद्धि गर्न सकिएको छैन । सरकारले हरेक वर्ष दक्ष कामदार पठाउने नारा लगाइरहेपनि श्रमिकको अवस्था हेर्दा कुनै प्रगति भने हुन नसकेको हो । 

वैदेशिक रोजगार विभागको २०७५ सालदेखि २०८० सालसम्मको तथ्याङ्क हेर्दा नेपालबाट ३० लाख ८ हजार ६३२ जना नेपाली वैदेशिक रोजगारीका विभिन्न देश गएका छन् । तीमध्ये एक हजार ४०५ जना मात्रै उच्च दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । 

यो बिचमा ११ लाख सात हजार ९८ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्कलाई हेर्दा अदक्ष कामदारको सङ्ख्या घट्दै गए पनि दक्ष कामदारको सङ्ख्या तीव्र गतिमा बढ्न सकेको छैन । 

विभागको विगत ६  वर्षको तथ्याङ्क हेर्दा पाँच हजार ८१६ जना व्यावसायिक कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै दुई लाख ५१ हजार ३७६ जना अर्ध दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । १६ लाख ४२ हजार ९३७ जना दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । ती भनेका कार्पेन्टर, प्लम्बर जस्ता क्षेत्रमा काम गर्ने कामदार हुन । 

त्यसरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर मात्रै पठाउने भन्ने सरकारको वर्षौँदेखिको नीति हो । तर, हरेक वर्ष कुनै पनि सीप नसिकेर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता नेपालीहरूको छ । 

Capture

विभागमा २०५० सालदेखि वैदेशिक रोजगारीमा पठाएको तथ्याङ्क देखिन्छ । विगतमा कामदारको प्रकृतिको तथ्याङ्क राखेको देखिँदैन । पछिल्लो विगत १० वर्षको तथ्याङ्कमा भने ७० प्रतिशतभन्दा बढी अदक्ष ९काममा दक्ष नभएका० कामदार बिदेसिएको देखिन्छ । 

औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा विदेशीमध्ये ७० प्रतिशतको हाराहारीमा अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । 

विगत ६ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ५४।६० प्रतिशत दक्ष, ३६।७९ प्रतिशत अदक्ष र ८।३५ प्रतिशत अर्धदक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएको छ । विगत ६ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ९९।७५ प्रतिशत नेपाली अर्ध दक्ष, दक्ष र अदक्ष रहेका छन् । ती मध्ये ०।२४ प्रतिशत मात्रै उच्च सीपयुक्त जनशक्ति वैदेशिक रोजगारीमा गएका छन् । 

सरकारले हरेक वर्ष दक्ष कामदार मात्रै पठाउने नारा लगाउँदै आएतापनि विगत ६ वर्षको तथ्याङ्कमा एक हजार ४०५ जना मात्रै उच्च दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका छन् ।  

काममा दक्ष नहुँदा नेपालीहरूले ती देशमा पुगेर विभिन्न खालका समस्या भोग्नु परेको छ । अदक्ष भएकै कारण न्यून सेवा सुविधा पाउनुका साथै गम्भीर प्रकृतिको काम गर्नुपर्ने बाध्यता छ । जसका कारण शारिरीक समस्या उत्पन्न हुनुका साथै बिरामी तथा मृत्यु समेत हुने दर उच्च छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी दुई वर्षपछि कुनै पनि सीप नभएको नेपालीलाई वैदेशिक रोजगारीमा नपठाउने नीति छ । त्यसका लागि भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई सीप सिकाउने र तालिम दिने जिम्मेवारी दिएको छ । उक्त प्रतिष्ठानलाई वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सीप सिकाउने कार्यभार लिएको छ । 

श्रम बजारको माग र आपूर्तिको विश्लेषण तथा मूल्याङ्कन गरी व्यावसायिक सीप विकासको मापदण्ड तथा पाठ्यक्रम तर्जुमा गरी सिपमूलक तथा उद्यमशीलता विकास तालिम कार्यक्रम सञ्चालन, विस्तार तथा सुधार गर्दै जाने आन्तरिक श्रम बजारको माग र आवश्यकता अनुरूप दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त श्रम शक्तिको उत्पादन गर्ने प्रतिष्ठानको रणनीति छ ।

त्यसका लागि श्रम मन्त्रालयले आवश्यक तयारी थालेको हो । श्रममन्त्री शरतसिंह भण्डारीले नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक अदक्ष हुँदा विभिन्न खालका समस्या भोग्नु परेको बताउँदै त्यसका लागि अब सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । 

उनले बोल्ने अधिकांश कार्यक्रममा अबदेखि सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गर्न लागिएको बताउँदै आएका छन् । अबको दुई वर्षपछि वैदेशिक रोजगारीमा जाने हरेक श्रमिक सीप सिकेर मात्र जान पाउने व्यवस्था गरिएको हो । 

वार्षिक ५ लाखको हाराहारीमा युवाशक्ति श्रम बजारमा प्रवेश गर्छन् । तीमध्ये अधिकांश अदक्ष हुने गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य सीपको व्यवस्था गर्न लागेको हो । त्यसका लागि प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ । अब प्रतिष्ठानले नै आवश्यक सीप सम्बन्धी तालिम दिनुका साथै परीक्षा गरेर प्रमाणपत्र समेत प्रदान गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप