सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

लामो समयका लागि मैदानबाट बाहिरिए अस्ट्रेलियन अलराउन्डर क्यामरुन ग्रिन

सोमबार, २८ असोज २०८१, १० : ४३
सोमबार, २८ असोज २०८१

काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली युवा अलराउन्डर क्यामरुन ग्रिन लामो समय मैदानमा देखा नपर्ने भएका छन् । २५ वर्षीयले जारी सिजनको बाँकी सबै खेल गुमाउने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।  

क्रिकेट अस्ट्रेलियाका अनुसार, ग्रिनको ढाडमा लामो समयदेखि समस्या देखिँदै आएको थियो । त्यसैले उनको मेरुदण्डको शल्यक्रिया गरिने भएको छ । शल्यक्रियापछि कम्तिमा पनि ६ महिना उनी मैदान बाहिर रहने बताइएको छ ।

उनी गत सेप्टेम्बर २४ तारिखमा इङ्ल्यान्ड भ्रमणका क्रममा घाइते भएको समाचारमा जनाइएको छ । ग्रिनकैजस्तो समस्या यसअघि अस्ट्रलियाका जेसन बेहरेन्डर्फ, जेम्प प्याटिन्सन, बेन ड्वारसुइस तथा न्युजिल्यान्डका शेन बोन्ड र म्याट हेनरीले पनि भोग्नु परेको थियो ।

ग्रिनले अस्ट्रेलियाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले २८ टेस्टको ४३ पालीमा कुल एक हजार तीन सय ७७ रन बनाएका छन् । टेस्टमा उनले दुई सतक र ६ वटा अर्धसतक पनि प्रहार गरेका छन् ।

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ७४ रन हो । उनले टेस्ट क्रिकेटमा ३५ विकेट पनि लिएका छन् । ग्रिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि २८ खेल खेल्दै कुल ६ सय २६ रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिमा दुई अर्धसतक बनाएका छन् भने उनको उच्च स्कोर अविजित ८९ रन हो । उनले यो ढाँचाको क्रिकेटमा २० विकेट पनि लिएका छन् ।

यसैगरी, ग्रिनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १३ खेल खेल्दै कुल दुई सय ६३ रन बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा तीन अर्धसतक प्रहार गरेका छन् भने उनको उच्च स्कोर अविजित ६२ रन हो । उनले यो ढाँचाको क्रिकेटमा पनि १२ विकेट लिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप