सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

एनपीएल क्रिकेट : चर्चित अस्ट्रेलियन क्रिकेटर हज सुदूरपश्चिम रोयल्सका प्रमुख मेन्टर

सोमबार, २८ असोज २०८१, १० : ०३
सोमबार, २८ असोज २०८१

काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ ।

४९ वर्षीय हज आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । उनले अस्ट्रेलियाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले टेस्ट क्रिकेटमा बनाएको उच्च स्कोर अविजित दुई सय तीन रन हो ।

यसैगरी, यी प्रभावशाली क्रिकेटरले एकदिवसीय क्रिकेटमा देशका लागि शतक बनाएका छन् । उनी स्पिन बलर पनि हुन् । उनको आगमनले टोलीको मनोबल उच्च भएको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले जनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले हजको रेखदेखमा आफ्नो टोलीले आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि लिएको छ । हजले कोलकाता नाइट राइडर्सको तर्फबाट विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन् ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक भने जगत टमाटा हुन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडरका रूपमा आबद्ध छन् ।

ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।

केही समयअघि भएको अक्सनमा सुदूरपश्चिम रोयल्सले एक खेलाडी आरिफ शेखलाई अधिकतम १५ लाख रुपैयाँमा खरिद गरेको थियो । अक्सनमा सुदूरपश्चिम रोयल्सले अविनाष बोहरालाई १२ लाख रुपैयाँमा आफ्नो टोलीमा भित्राएको थियो ।

यसैगरी, सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीका लागि भने १० लाख रुपैयाँ खर्चिएको थियो । ईशान पाण्डेलाई सुदूरपश्चिम रोयल्सले नौ लाख ५० हजार रुपैयाँमा किनेको थियो । यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सले अर्जुन कुमाललाई सात लाख ५० हजार तथा खड्कबहादुर बोहरा र नरेश बुढाऐरलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो ।

यसैगरी, सुदूरपश्चिम रोयल्सले अक्सनमार्फत भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा किनेको थियो । सुदूरपश्चिम रोयल्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप