बेजोड कलाका धनी कुलमान
सुर्खेत । कुलमान नेपाली बेजोड कलाका धनी छन् । खासगरी झ्याउने नृत्यमा उनी चर्चित छन् । उनको नृत्यबाट तत्कालीन राजा वीरेन्द्रसमेत मोहित भएका थिए ।
०४५ सालमा तत्कालीन रानी ऐश्वर्यको जन्मदिनको अवसरमा देशव्यापी सांस्कृतिक कार्यक्रम भयो । स्काउटका तर्फबाट सुर्खेती नाचको नेतृत्व गरेर कुलमान नेपाली गएका थिए । त्यहाँ उनको टोली नृत्य प्रतियोगितातर्फ देशकै प्रथम भयो ।
उक्त नृत्यबाट प्रभावित भएका राजा वीरेन्द्रले दरबारमै बोलाएर उनको टोलीलाई सम्मान गरेका थिए । कुलमानले भने, ‘त्योभन्दा ठुलो कुरा सम्मान हाम्रालागि अरु केही थिएन । दरबारमा विभिन्न जिल्लाको नामबाट बस्ने ठाउँको नामकरण गरिएको रहेछ । हामी रोल्पाघरमा बसेका थियौँ । त्यो दिन खाना पनि त्यहीँ खाइयो ।’
सुर्खेत त्यसअघि ०३९ सालदेखि ०४४ सालसम्म आफ्नो मौलिक गीत तथा नृत्य प्रस्तुत गरेर लगातार नेपाल प्रथम भइसकेको थियो । जसका कारण सुर्खेती नाचको विशिष्ट स्थान बनिसकेको थियो ।
सुरुवाती चरणमा गंगा केसीको नेतृत्वमा सुर्खेतको टोलीले प्रतियोगिता भाग लिन्थ्यो । कुलमान नृत्यमा निकै जमिसकेका थिए । ०४४ सालसम्म आउँदा उनी नृत्य सिकाउन थालिसकेका थिए । शिक्षा तथा संस्कृति मन्त्रालयले गर्ने देशव्यापी हरेक सांस्कृतिक प्रतियोगितामा सुर्खेतले प्रथम स्थान हासिल गर्थ्यो । अन्तको तुलनामा सुर्खेतको नाच विशिष्ट र मौलिक खालको भएकाले पटक–पटक प्रथम स्थान लिन सफल भएको कुलमान बताउँछन् ।
‘राजाको पालामा कला, संस्कृतिलाई धेरै मान्यता दिइन्थ्यो,’ कुलमानले भने, ‘अहिले संस्कृतिलाई माया गर्ने न राज्य भयो, न नेताहरू ।’
सार्क शिखर सम्मेलनका बेला भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धी नेपाल आएको समयमा पनि सुर्खेती नाचको चर्चा भयो । सोल्टी होटलमा साँझपख सांस्कृतिक कार्यक्रम देखाउनुपर्ने भयो । ‘त्यहाँ हामीले नाच देखाएपछि निकै प्रशंसा भएको थियो,’ उनले भने, ‘त्यसैका कारण आज सुर्खेती झ्याउरे नाच र गीतको स्थान विशिष्ट बनेको छ ।’
- कुलमानको करियर
२०२२ सालमा पश्चिम सुर्खेतको धनरासमा जन्मिएका कुलमान दुई वर्षकै हुँदा उनको परिवार वीरेन्द्रनगरको इत्राममा आएर बस्यो ।
हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राममा रहेको स्कुलमै उनको पढाइ सुरु भयो । त्यहाँका एक नेपाली शिक्षक कला, साहित्यका पारखी थिए । कुलमान उनीबाट प्रभावित हुन्थे ।
चार कक्षापछि उनी जनमाविमा पढ्न थाले । त्यहाँ गएपछि गंगा केसीसँग सामीप्यता बढ्यो । केसी शिक्षकसँगै सुर्खेती माटोमा जन्मिएका बुलन्द कलाकार हुन् । गाउँघरमा कतै मादल बज्यो भने कुलमान हेर्न गइहाल्थे । ‘यसरी बजाउन पाएको भए.., नाच्न पाएको भए...’ भन्ने सोच्थे उनी । कुलमानले भने, ‘त्यसप्रतिको लगावका कारण ९ वर्षकै उमेरदेखि कलाकारितातर्फ अग्रसर बनेँ ।’
३० को दशकमा उनले वीरेन्द्रनगरको बाल पुस्तकालयबाट हुने नाटकहरूमा भाग लिए । कुलमानको रुचि विशेषगरी नृत्यमा थियो । सुर्खेती कलाकारहरू गंगा केसी, टेकराज भारतीहरूको छत्रछाया र नेतृत्वमै कलाकारितामा हुर्केका उनले पहिलो पटक ०३९ सालमा राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने मौका पाए ।
कुलमानले भने, ‘त्यो बेला काठमाडौँ जानु सपनाजस्तै हुन्थ्यो । अहिलेको अमेरिका जानुभन्दा पनि ठुलो लाग्थ्यो त्यतिबेला काठमाडौँ जाने कुरा । त्यसमा पनि राजारानीका अगाडि नृत्य देखाउनु निकै ठुलो कुरा हुन्थ्यो ।’
पहिलो पटक काठमाडौँ जाँदा पैदल नेपालगञ्ज र त्यहाँबाट भारत हुँदै काठमाडौँ गएको उनले सुनाए । उक्त प्रतियोगिता नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले आयोजना गर्थ्यो । ‘हामी जिल्ला शिक्षा, क्षेत्रीय शिक्षा निर्देशनालय (नेपालगञ्ज) हुँदै काठमाडौँ पुग्थ्यौँ,’ उनले भने, ‘सबै खर्च शिक्षा मन्त्रालयले नै बेहोर्थ्यो ।’
पहिलो पटक आफू गएकोबेला ७५ जिल्लाकै प्रतिस्पर्धा भएको र त्यसमा सुर्खेतले प्रथम स्थान हासिल गरेको उनले बताए । प्रथम भएर आइसकेपछि प्लेनबाट सुर्खेत आएको र विमानस्थलमा स्वागत गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी नै पुगेको उनको भनाइ छ । उनले भने, ‘त्यो बेला कलाकारको निकै सम्मान हुन्थ्यो ।’
- २५ पटक नेपाल प्रथम
आफ्नो नृत्य र आफ्नो निर्देशनमा गरिएका नृत्य २५ पटक नेपाल प्रथम भएको कुलमानको दाबी छ । शिक्षा मन्त्रालय, स्काउट, सांस्कृतिक संस्थान, नेपाली सेना, पर्यटन बोर्ड, सांस्कृतिक मञ्च, प्रज्ञा प्रतिष्ठानबाट आयोजना हुने विभिन्न देशव्यापी प्रतियोगितामा सुर्खेत प्रथम भएको उनले बताए ।
०४४ सालसम्म नाचमा उनी निकै प्रख्यात भइसकेका थिए । अहिलेसम्म पनि उनले नेपाली मौलिक कला र संस्कृतिको विकासमा निरन्तर लागिरहेका छन् ।
- मौलिक नृत्यका प्रवर्द्धक
कुलमानले नेपाली मौलिक लोक नृत्यलाई प्रवर्द्धन गरे । मौलिक नाच सिकाउन भनेर उनी नगएको ठाउँ नेपालमा सायदै होला ।
मौलिक नृत्य, त्यसमा पनि सुर्खेती झ्याउरे नृत्यका माली हुन् कुलमान । आज पनि उनले मौलिक संस्कृति तथा नृत्यलाई गोडमेल गर्न छाडेका छैनन् ।
पूर्वदेखि पश्चिमसम्मका हरेक गाउँबस्तीमा गएर उनले नाच सिकाए । उनले सम्झे अनुसार अहिलेसम्म देशभरका तीन सयभन्दा बढी विद्यालयमा नाच सिकाएका छन् ।
कुलमानले ३५ वर्ष लगातार नेपाली सेनालाई नाच सिकाए । थुप्रै राष्ट्रभक्ति गीतमा उनले सेना र प्रहरीलाई नृत्य प्रशिक्षण दिए । विभिन्न सङ्घसंस्थामा काम गर्न सुर्खेत आएका तीन सयभन्दा बढी विभिन्न देशका नागरिकलाई नृत्य सिकाएको उनले बताए । उनले भने, ‘उनीहरू हाम्रो मौलिक संस्कृति देखेर निकै रमाउँथे ।’
कुलमानको माग यति हुन्थ्यो कि पढाउन छाडेर पनि कहिलेकाहीँ सेना, प्रहरीलाई नाच सिकाउन काठमाडौँ जानुपर्थ्यो । कलाकारिता बाहेक उनी आफू पढेकै स्कुलमा शिक्षण पनि गर्थे, जसबाट उनको घर खर्च चल्थ्यो ।
सशस्त्र युद्धका बेला विद्रोही माओवादीका कलाकारहरूलाई समेत उनले नाच सिकाए । ०५८ कार्तिक २५ गते माओवादीका केही कार्यकर्ता उनको घरमा आए । नाच सिकाउन जानुपर्यो भने । ‘जान मिल्दैन, म शिक्षक छु’ भन्दा पनि उनीहरूले कर गरिरहे । सरकारी जागिरे, कलाका माध्यमबाट चिनिएको व्यक्ति, दुवैतर्फबाट उनी परिबन्दमा परे ।
कुलमानले त्यो बेलाको स्मरण सुनाए, ‘जानै पर्ने भएपछि मलाई दिउँसो नहिँडाउनुहोस्, ज्यान जोगाउनुहोस् भनेँ । वीरेन्द्रनगर, गोठिकाँडा, लेखगाउँ हुँदै घुँडाआँखे भन्ने ठाउँमा लगे । त्यहाँ क्रान्तिकारी तरिकाले पूरै सम्मान भयो मेरो ।’
नाच सिकाउन सुरु भयो । उनले भने, ‘उहाँहरूका गीत फेरि पूरै क्रान्तिकारी । जस्तो गीत छ, त्यसै गरी मैले पनि सिकाएँ । गोली हान्ने, लडाइँ गर्ने जस्ता गीत हुन्थे । मैले सिकाएको नृत्यबाट उहाँहरू प्रभावित हनुभयो ।’
त्यसपछि जनवादी कलाकारले आफूसँगै बस्न कुलमानलाई भने । ‘अब यही बस्नुपर्छ भन्नथाले, भएन त बर्बाद !,’ उनले भने, ‘हजुर ! म यहाँ बस्न मिल्दैन । बरु केही दिन बसेर सिकाउँछु भनेर १३ दिन सिकाएँ । नराम्रो व्यवहार भएन । चार हजार रुपैयाँ, मैनफलको लौरो, उहाँहरूले लगाउने कपडा र एउटा खुकुरीसहित दुई जना सुरक्षाकर्मी दिएर पठाउनुभयो ।’
कुलमानका अनुसार घर फर्कने क्रममा ०५८ मंसिर ८ गते राज्य पक्षको सेनाले माओवादीविरुद्ध धेरै ठाउँमा आक्रमण गर्यो । आधा बाटोमा आउँदै गर्दा जताततै लडाइँ उत्कर्षमा पुगेपछि आफूलाई निकै तनाव भएको उनले बताए ।
माओेवादीले दिएका कपडाहरू झिकेर खोलामा फालेर डरैडरमा आफू घर पुगेको स्मरण गर्छन् उनी । ‘घर आउँछु त चिन्ताले भात खानै मन नलाग्ने,’ उनले भने, ‘मंसिर १५ गते बिहानै सेनाको गाडी घरमै आयो । मेरो मुटुले ठाउँ छाड्यो ।’
ब्यारेकमा लगेर आफूलाई ‘चिफ साप आउने कार्यक्रम छ, ४/५ वटा नाच सिकाउनुपर्यो’ भनिएको उनले सुनाए । उनले भने, ‘त्यसपछि ढुक्क भएर नाच सिकाइयो ।’
हरेक प्रकारका नाचलाई सहज रूपमा सिकाउनु कुलमानको कला हो । तर उनको प्राथमिकता भनेको संस्कृति झल्काउने नाच र गीत हो । उनले ०५२ सालमा एमालेको जनसांस्कृतिक मञ्चका कलाकारहरूलाई एमाले मुख्यालय बल्खुमा प्रशिक्षण दिए । त्यतिबेला उनीसँग नृत्य सिकेकाहरू कोही चर्चित कलाकार बने त कोही सांस्कृतिक संस्थानमा जीएम बने ।
जेबी टुहुरेदेखि हरिहर शर्मा, शम्भुजित बास्कोटादेखि अम्मर गुरुङ र समकालीन लोक दोहोरी क्षेत्रका मूर्धन्य कलाकारहरू उनको नृत्यबाट प्रभावित हुन्थे ।
- कलाकार उत्पादक, फिल्ममा नयाँ आयाम
मोफसलमै बसेर पनि ५ दशकसम्म थुप्रै कलाकार उत्पादन गरेका छन् कुलमानले । चर्चित नृत्य निर्देशक तथा कलाकार शंकर बिसीलाई सुरुमा उनैले नाच सिकाएका हुन् । बाँकेका विभिन्न विद्यालयमा नाच सिकाउने क्रममा बिसीले धेरै पटक कुलमानको प्रशिक्षणमा भाग लिएका थिए । पछि काठमाडौँ जाँदा पनि बिसीलाई नृत्य सिकाएको कुलमान सम्झन्छन् ।
अहिलेकी चर्चित नायिका दीपाश्री निरौलालाई पहिलो पटक नाच सिकाउने व्यक्ति पनि कुलमान नै हुन् । एउटा टेलिफिल्मको सुटिङ ०५३ सालमा सुर्खेतको झुप्रामा भएको थियो । त्यो बेला निरौला भर्खरै कलाकारितामा बामे सर्दै थिइन् ।
दिलिप रायमाझी, निरुता सिंह, प्रशान्त तामाङ लगायतका थुप्रै चर्चित कलाकारलाई पनि कुलमानले नाच सिकाएका छन् । कुलमान र उनी रहेको ‘बागिना समूह सुर्खेत’ले देशमा थुप्रै कलाकार जन्माएको छ ।
टीका पुन, नन्दा बस्याल, अर्जुन सुनाम, शिव संगीत लगायतका कलाकार उनकै छत्रछायामा रहेर नेपाली संगीत आकाशमा चम्किरहेका छन् ।
ऐतिहासिक चलचित्र बन्धकी, बाटुली, गोरखा पल्टन लगायतका फिल्ममा उनकै नृत्य निर्देशनका मौलिक गीत समावेश छन्, जुन निकै लोकप्रिय भए । नृत्यबाहेक उनी समाजमा रहेका पुराना कुराहरूलाई सङ्कलन गरेर गीत बनाउने र त्यसमा संस्कृति झल्काउने गरी नृत्य भर्छन् । उनी आफूलाई संस्कृतिकर्मीका रूपमा चिनाउन मन पराउँछन् ।
सलल बगेको भेरी नदी उर्लदै कर्नालीमा भेल
मै बुझ्न सकिनँ जिन्दगीमा ए हजुर पिरतीको खेल,
हे...जान त साइँली जाने हो घर,
तिमी बाहेक अरु पो को छ र......
बाटुली फिल्मको यो गीतको नृत्य निर्देशन तथा परिकल्पनाकार कुलमान नै हुन् । फिल्मभन्दा बाहिर यो गीतमा आफूले बागिना समूह र सुर्खेतलाई तीन पटक नेपाल प्रथम गराएको उनले बताए । ‘लाहुरेको जीवनसँग सम्बन्धित रहेर परिकल्पना गरेको थिएँ,’ उनले भने, ‘यो गीत यति चर्चित भयो कि जताततै छायो । यो सुर्खेती झ्याउरे गीत र नृत्यमा आधारित भएर लोकप्रिय भएको हो ।’
हे..भमरा पछि लागेर आउँदा फूलैको नजिक आइयो
सपनी राम्रो देखेथेँ आज, दर्शन हजुर पाइयो
साथी हो... सङ्गी हो....
मादल ठोकी नाचौँ गाऔँ, लाइयो माया लाइयो
....सुर्खेतमा बुलबुले ताल
चौतारीमा भेट भयो यही साल...
कुलमान आफैले लेखेको, नृत्य सिकाएको यो झ्याउरे गीतले सुर्खेत र बुलबुले ताललाई देशभर चिनायो । यसको संगीतमा सुरेश अधिकारीले उनलाई सहयोग गरेका थिए । बन्धकी फिल्मको गीतको सुटिङ पनि सुर्खेतकै भएको थियो ।
बन्धकी फिल्मको ‘सिरीरी बतासै चल्यो लैलै’ भन्ने गीतमा दिलिप रायमाझी र निरुता सिंहलाई नाच सिकाउँदाको एउटा स्मरण सुनाए कुलमानले– ‘रायमाझीले यो इन्डियनले धेरै राम्रो नाच सिकायो भने । म काले–काले भएकाले त्यसो भनेको होला । फिल्मका निर्माता डा.सिंह गुरुङले कहाँ इन्डियाको हो, मेरो सुर्खेतको हिरा हो भन्नुभयो ।’
नारायण रायमाझी पनि कुलमानका प्रशंसक भएकाले गोरखा पल्टन र प्रदेश–२ मा नृत्य निर्देशक कुलमानलाई नै राखे । मौलिक फिल्म बनाउने भएकाले कुलमानले नै ती गीतमा कलाकारलाई नाच सिकाए ।
गोरखा पल्टनको सान्नानीले झुक्यायो मलाई, घामको माया, जुनको माया, जाउला रेलैमा गोरखा पल्टन गीतको नृत्य निर्देशन उनले नै गरेका हुन् ।
पछिल्लो समय ‘हातमा बाला सोल्टिना, घर कहाँ हो नानीको, चिनाजानी गरौँ न’ लगायतका चर्चित झ्याउरे गीतको संगीत तथा निर्देशन उनले गरेका छन् । बलिदान फिल्मको गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ गीतमा केही स्टेप नाच आफूले सिकाएको उनले बताए ।
- मोफसलमै बसेर कहलिए मौलिक लोक नृत्य स्रमाट
सुर्खेती झ्याउरेलाई नृत्यमार्फत देश तथा विदेशमा चिनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले झ्याउरे सम्राटका रूपमा सम्मान गरेका छन् । मोफसलमै बसेर ५० वर्षदेखि निरन्तर कला, संस्कृतिको विकास र विस्तारमा लागिरहे उनी ।
कलाकारिताबाट आर्थिक हैसियत राम्रो बनाउन नसके पनि त्यसबाट पाउने सम्मान–पुरस्कारले सन्तोष दिने गरेको कुलमान बताउँछन् ।
उनको घर सम्मानपत्र र पुरस्कारले भरिएको छ । ५ सयभन्दा बढी सम्मान, पदक तथा प्रमाणपत्र छन् उनीसँग । गत वर्ष सरकारले उनलाई जनसेवाश्रीबाट विभुषित गर्यो । यस्तै, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्र, संस्कृति मन्त्रालय, नेपाली सेना, स्काउट लगायतका सङ्घसंस्थाद्वारा आयोजित दुई दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा उनले निर्देशन गरेका लोक नृत्यहरू सर्वोत्कृष्ट भइ इतिहास रच्न सफल भएको र मनोरञ्जन मात्र नभइ समाज रुपान्तरणको अभियानसँग जोडेर योगदान गरेको भन्दै ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पुरस्कार–०७९’ प्रदान गरेको थियो ।
मोफसलमै बसेर पनि राष्ट्रिय प्रज्ञा पुरस्कार ०७९, राष्ट्रिय शिक्षा स्वर्ण पदक ०७२, नेपाल चलचित्र बोर्ड नृत्य पुरस्कार २०६८, नेपाल संगीत नाट्य नृत्य पुरस्कार ०७४ लगायतका ठुला पदक तथा पुरस्कार पाइसकेका छन् उनले ।
‘चाहेको भए काठमाडौँलाई कर्मथलो बनाउन सक्थेँ । आर्थिक अवस्था पनि समृद्ध हुन्थ्यो,’ कुलमानले भने, ‘०६० सालतिर सांस्कृतिक संस्थानमा बसौँ कि भन्ने सोच आयो ।’ तर त्यहाँका जीएमले ‘तिमी यहाँ बस्यौ भने कर्नाली क्षेत्र कसले धान्छ ? त्यहाँका मौलिक नाच यहाँ कसले ल्याउँछ ?’ भनेपछि उनी फेरि सुर्खेतमै केन्द्रित भए ।
हिरा खोज्न तल (गाउँ) नै जानुपर्छ सोचेर फर्किएको कुलमानले बताए । आफू विनास्वार्थ संस्कृतिको विकासमा लागेको उनी बताउँछन् । मोफसलमै बसेर उनले देश डुले, लोक कला, संस्कृतिलाई उचाइमा पुर्याउन ठुलो योगदान गरे । केही वर्षअघि सुर्खेत महोत्सवमा गायक बद्री पंगेनीले भनेका थिए, ‘सबै काठमाडौँमा बसेर देश हल्लाउँछन्, तर कुलमान नेपाली सुर्खेतमा बसेर देश हल्लाइरहनु भएको छ । उहाँ हिरा हो ।’
पुराना फिल्म निर्देशक चेतन कार्की उनको नृत्यका प्रशंसक थिए रे । कुलमानले सुर्खेती झ्याउरेलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रियस्तरमा चिनाए । झ्याउरे भन्ने बित्तिकै गण्डक क्षेत्रलाई लिइन्छ तर अहिले जताततै सुर्खेती झ्याउरेको चर्चा हुन्छ ।
‘अरु झ्याउरे गीत र नाचको स्पिड ६० हुन्छ तर सुर्खेती झ्याउरेको स्पिड १०० हुन्छ,’ कुलमानले भने, ‘छिटो मादल अनि छिटो नृत्य, यो हामीले बनाएको ब्राण्ड हो ।’
त्यसैले सुर्खेती झ्याउरेको विशिष्ट स्थान बनेको उनको भनाइ छ । सुर्खेत कला, संस्कृतिको उर्वर भूमि हो । गंगा केसी, टेकराज भारती, भीमबहादुर कार्की, प्रेमदेव गिरीहरूसँगै सुर्खेतले जन्माएको, नेपाली मौलिक झ्याउरे कला, संस्कृतिका हिरा हुन् कुलमान । उनी कुनै पनि हालतमा संस्कृतिलाई बिसर्न नहुने बताउँछन् ।
सुर्खेतलाई सुर्खेती झ्याउरेको खानी र कलाकारिताको उर्वर भूमि भनेर चिनाउन उनको ठुलो योगदान छ । साथै उनी राष्ट्रियस्तरका भलिबल खेलाडी पनि हुन् ।
- राज्यप्रति गुनासो
अहिलेका राजनीतिक दल र नेताहरूलाई संस्कृतिको माया नभएको कुलमानको टिप्पणी छ । देशको कला, संस्कृतिको उत्थान र उन्नतिका लागेका कलाकारलाई राज्यले संरक्षण नगरेकोप्रति उनी दुःखी छन् ।
‘सारा जिन्दगी यसैमा बिताइयो तर आर्थिक रूपमा निकै कमजोर भइयो । श्रीमतीको सुन धरौटी राखेर पनि कलाकारलाई काठमाडौँ लगेर सुर्खेती र कर्णालीको पहिचानलाई झल्काउने काम गरियो,’ उनले भने, ‘तर राज्यले हामी कलाकारलाई कहिल्यै हेरेन ।’
कुनै बेला इत्राम स्कुलमा पढाउने उनी अहिले पनि त्यहीँबाट आएको पेन्सनबाट घरखर्च चलाइरहेका छन् । उनका छोरा शिव संगीत पनि गीत–संगीतमै छन् ।
कुलमानको एउटै माग छ, ‘कला, संस्कृतिका लागि योगदान पुर्याएका कलाकार वर्गीकरण गरेर पेन्सनको व्यवस्था गरियोस् । खाली विकास भनेको डोजर चलाउने मात्रै भयो । कला संस्कृतिको उन्नतिमा कुनै लगानी भएन ।’
मौलिक संस्कृति हराउँदै गएकोप्रति उनी चिन्तित् छन् । मिडियाहरूले पनि यस्ता कलाकारलाई स्थान नदिएको उनको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री