सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट इतिहासका रोचक प्रसङ्ग

सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !

सोमबार, २८ असोज २०८१, ०७ : ३४
सोमबार, २८ असोज २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटको तीन ढाँचामध्ये टी–२० ढाँचालाई ब्याट्सम्यानहरूको ढाँचा मानिन्छ । विश्व क्रिकेटको सबैभन्दा छोटो टी–२० ढाँचामा ब्याट्सम्यानहरू आक्रामक रूपमा प्रस्तुत हुन्छन् र उल्लेख्य सङ्ख्यामा रन पनि बनाउँछन् । 

तर, विश्व क्रिकेटमा केही यस्ता बलर पनि छन्, जसले टी–२० ढाँचाको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास पनि चरेका छन् । टी–२० ढाँचामा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको कीर्तिमान यस्तो खेलाडीको नाममा जसलाई धेरै समर्थकले चिनेका नै छैनन् ।

उनी हुन्, युगान्डका दायाँ हाते बलर फ्रान्क सुबुगा । ४४ वर्षीय फ्रान्क सुबुगाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी मेडन ओभर फालेका छन् । उनले हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १७ वटा मेडन ओभर फालेका छन् । 

उनले हालसम्म युगान्डका लागि ५६ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । त्यसमा उनले कुल ५७ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन दिएर तीन विकेट रहेको छ । 

यसै गरी, सर्वाधिक मेडन ओभर फाल्ने बलरको सूचिमा दोस्रो स्थानमा भारतका जसप्रित बुमराह रहेका छन् । ३० वर्षीय तीव्र गतिका बलर बुमराहले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ मेडन ओभर फालेका छन् । ७० वटा टी–२० अन्तर्राष्ट्रिय खेलेका उनले ८९ विकेट लिइसकेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल सात रन खर्चिएर तीन विकेट हो ।

यसै गरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक मेडन ओभर फाल्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा केन्याका शेम ओबाडो एनगोचे रहेका छन् । छोटो कदका यी बायाँ हाते स्पिन बलरले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वटा मेडन ओभर फालिसकेका छन् । 

३५ वर्षीय शेम ओबाडो एनगोचेले केन्याका लागि ९३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । यो ढाँचाको क्रिममा उनले हालसम्म एक सय आठवटा विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन भने १४ रन खर्चिएर चार विकेट हो ।

यो सूचिमा चौथो स्थानमा तान्जिनियाका बलर सञ्जय कुमार ठाकुर छन् । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । ३४ वर्षीय सञ्जयले तान्जिनियाका लागि ५८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले यो ढाँचाको क्रिकेटमा हालसम्म ११ वटा मेडन ओभर फालेका छन् । 

यसै गरी, सर्वाधिक मेडन ओभर फाल्ने बलरको सूचिमा भारतका भुवनेश्वर कुमार पाँचौँ स्थानमा छन् । तीव्र गतिका बलर भुवनेश्वर कुमारले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १० वटा मेडन ओभर फालेका छन् । उनले यो ढाँचाको क्रिकेटमा ९० विकेट लिइसकेका छन् । 

रमाइलो कुरा त के भने, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक मेडन ओभर फाल्ने खेलाडीको सूचिमा जर्मन बलर पनि रहेका छन् । जर्मनीका बलर गुलाम अहमदीले टी–२० अन्तर्राष्ट्रियमा १० वटा मेडन ओभर फालेका छन् । 

यो सूचिमा छैटौँ स्थानमा रहेका गुलाम अहमदीले जर्मनीका लागि ५६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल्दै ५२ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने केवल २३ रन खर्चिएर पाँच विकेट रहेको छ । 

यसै गरी, सर्वाधिक मेडन ओभर फाल्ने बलरको सूचिमा सातौँ स्थानमा युगान्डाका अल्पेश रविलाल रामजानी रहेका छन् । ३० वर्षीय स्पिनर अल्पेशले हालसम्म टी–२० अन्तर्राष्ट्रियमा आठवटा मेडन ओभर फालेका छन् । 

अल्पेशका अतिरिक्त युगान्डाका दिनेश नकरानी, युगान्डाकै हेनरी सिनयोन्डो, कुवेतका मोहम्मद नवफेर अस्लम, बंगलादेशका मुस्तफिजुर रहमान र जिम्बाबेका रिचर्ड एनभाराभाले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आठ–आठवटा मेडन ओभर फालेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप