शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
उद्यम

जङ्गल छाडेर उद्यमशील बन्दै वनकरिया

सोमबार, २८ असोज २०८१, ०६ : ५०
सोमबार, २८ असोज २०८१

मकवानपुर । १० वर्ष अघिसम्म वनकरिया समुदाय कस्तो होला भन्ने कौतुहलता समाजमा व्याप्त थियो । वनकरिया समुदायका मानिस, उनीहरूको दिनचर्या, रहनसहनका विषयमा मै हुँ भन्ने प्रशासक र व्यक्तिहरू पनि जिज्ञासु हुन्थे ।

एक दशका अघिसम्म वनकरिया समुदायको बारेमा जान्न त्यति सहज पनि थिएन । कतिपयले वनकरिया र चेपाङ समुदाय उस्तै हुन् भन्थे । तर, यी दुई समुदायका विषयमा व्यापक भिन्नता छ । केही विषयमा समानता देखिए पनि परम्परा, रीतिरिवाज र दैनिकीमा फरकपन छ ।

दुई दशकअघि वनकरिया समुदाय जङ्गलबाट गाउँ आएका हुन् । यद्यपि उनीहरू समाजमा त्यति घुलमिल भएका थिएनन् । उनीहरू मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा बस्दै आएका छन् । त्यसअघि जङ्गलमै बस्ने गरेका वनकरिया समुदायले अहिले गाउँ बसाएका छन् ।

जङ्गलमा फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख वनकरिया समुदायको सहज जीवनयापनका लागि गाउँमा स्थानान्तरण गरिएको थियो । जीवनलाई सहज बनाउन सरकारले २०६२ मा मुसेधापस्थित कबुलियती वनमा उनीहरूलाई बस्ने स्थान उपलब्ध गराएको थियो ।

bankariya shop (2)

अहिले बसोबास गरेकै स्थानको जग्गाको लालपुर्जा उपलब्ध गराइदिन सरकारले तयारी पनि गरेको थियो । तर, विविध कारणले त्यो पूरा हुन सकेन । सरकारको आश्वासन पाएकाले उनीहरू अझै पनि सो क्षेत्रको जग्गाको लालपुर्जा माग गर्दै आएका छन् ।

मकवानपुरको मनहरी–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जमिन नभएको वडा अध्यक्ष प्रकाश थापाले बताए । उनीहरू पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसोबास गर्दै आएको उनले बताए ।

‘उनीहरू धर्तीपुत्र हुन् । तर उनीहरूकै नाममा एक धुर जमिन छैन । धर्तीपुत्र भएर पनि सुकुमबासी बन्न परेको छ । उनीहरू अहिले बसोबास गरिरहेको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ,’ वडाध्यक्ष थापाले भने, ‘आफू अहिले बसोबास गर्दै आएको थातथलोको जमिन आफ्नो नाममा गरिदिने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने उनीहरूको अपेक्षा छ ।’

हाल मुसेधापमा २२ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् । सरकारले २०६६ सालदेखि लोपोन्मुख १० वटा जातिलाई मुलुकको मूलधारमा ल्याउने उद्देश्यले वनकरिया समुदायलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

  • साबुन उत्पादन गर्दै महिला

वनकरिया समुदाय अहिले उद्यमशीलतातर्फ अग्रसर छ । सो समुदायका महिलाले अहिले साबुन उत्पादन गर्न थालेका छन् ।

साढे दुई दशकअघिसम्म जङ्गलमा फिरन्ते जीवन बिताएका वनकरिया महिला साबुन उद्योग खोलेर आयआर्जनमा जोडिएका छन् ।

bankariya shop (4)

स्थानीयस्तरमा खेर गइरहेको जडीबुटीबाट साबुन उत्पादन गरेर आम्दानीमा जोडिएका छन् वनकरिया समुदाय । उनीहरूले विगत १० महिनादेखि गाउँमै भाडा माझ्ने, लुगा धुने र नुहाउने साबुन उत्पादन गरिरहेका छन् ।

उनीहरूले घिउकुमारी, तितेपाती र निमका पातबाट गत मङ्सिर महिनादेखि साबुन उत्पादन थालेका हुन् । उनीहरूले घरेलु उद्योगका रुपमा दर्ता गरेर साबुन उत्पादन गरेर बिक्री गरिरहेका छन् । समुदायका २५ जना मिलेर वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेका हुन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरूलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा जोडिने अवसर प्राप्त भएको सन्तोषी वनकरियाले बताइन् ।

साबुन उत्पादन गर्न आवश्यक औजारसमेत मञ्चले उपलब्ध गराएको थियो भने उनीहरूले उत्पादन गरेका साबुन गाउँमै खपत हुने गरेको समुदायकी अगुवा महिला सन्तोषीले बताइन् ।

bankariya shop (5)

तालिम दिएको संस्थाले फर्मा र साबुन बनाउन आवश्यक सामग्रीसहित २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उनीहरूले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएका थिए ।

‘साबुनका लागि निमको बोट आफ्नै बारीमा रोपेका छौँ । घिउकुमारी पनि बारीमै छ । तितेपातीको खासै दुःख छैन, जताततै पाइन्छ,’ सन्तोषीले भनिन्, ‘साबुन बनाउन मेहनत पर्छ । तितेपाती टिप्न जानुपर्‍यो, केलाउनुपर्‍यो, पकाउनुपर्‍यो,’ सन्तोषीले भनिन् ।

उत्पादित साबुनले घाउ खटिरा, चिलाउने समस्या भएका र छालाका रोगीलाई राम्रो हुने उनीहरूको भनाइ छ ।

घिउकुमारी, निमको पात र तितेपातीको पेस्ट बनाएर, झन्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्मामा हालिन्छ । मञ्चले समूहका लागि साबुन निर्माणका लागि ५ वटा फर्मा दिएको छ । जसमा कुनैमा एक पटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकै पटक २४ वटासम्म साबुन बनाउन सकिन्छ ।

bankariya shop (7)

उत्पादित साबुन २० देखि ६० रुपैयाँ सम्ममा बिक्री हुने गरेको सन्तोषीले बताइन् । साबुन विभिन्न संघ संस्था र होटल व्यवसायमा प्रयोग गर्नेगरी बिक्री भइरहेको छ भने स्थानीयस्तरमा पनि साबुन बिक्री भइरहेको उनको भनाइ छ ।

‘सानो, मध्यम र ठुलो साबुन प्रतिगोटा २० देखि ६० रुपैयाँसम्ममा बेच्छौँ । तालिम दिने संस्थालेसमेत खरिद गरिदिने गरेको छ । अहिले बिक्रीको समस्या छैन,’ सन्तोषीले भनिन्, ‘पालिकाका विभिन्न कार्यालय र गाउँमा यही साबुन खरिद गरेका छन् । बस्तीका २२ घर परिवारले यही साबुन प्रयोग गर्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप