सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

सोमबार, २८ असोज २०८१, ०६ : ४७
सोमबार, २८ असोज २०८१

कास्की । चिकित्सकहरुले डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याए ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए । “डेंगु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नुपर्दैन, डेंगुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ”, उनले भने, “प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभाबी औषधि सेवन गर्नु हुँदैन ।” कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उहाँको भनाइ छ । 

डेंगुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताए । डेंगु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न दिन नहुने उनले बताए । 

डेंगु फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए । 

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेंगु सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजार बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । डेंगुबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहुँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम्म डेंगुको सङ्क्रमण बढी फैलने गर्छ ।

उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेंगु तीव्र रूपमा फैलिएको बताए । डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । 

चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनको भनाई छ । डेंगुको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप