शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
रोचक

जहाँ साइत नहेरी घाँस काट्न पाइँदैन..

सोमबार, २८ असोज २०८१, ०६ : ०५
सोमबार, २८ असोज २०८१

पोखरा । मनाङको नार्पा भूमि गाउँपालिका, फू गाउँकी नाङसाङ छ्योकी मध्यरातमै उठेर घाँस काट्न क्याङ पुगिन् । उज्यालो हुँदा उनीसहित गाउँभरिका किसानहरू क्याङमा भरिभराउ थिए ।

फूबाट क्याङ जान करिब साढे ३ घण्टा हिँड्नुपर्छ । यहाँ घाँस काट्नका लागि लामाले साइत जुराउनु पर्छ । सोही साइत अनुसार नाङसाङ लगायत गाउँलेहरू मध्यरातमै क्याङतर्फ लागेका हुन् ।

लामाले घाँस काट्न निकालेको साइतबारे अघिल्लो दिन नै कटुवालमार्फत गाउँलेलाई सूचित गरिएको थियो । डाँडामाथिबाट कटुवालले चिच्याएर गाउँलेलाई साइतबारे जानकारी दिन्छन् ।

फूका किसानको गोठभरि याक–चौंरी र घोडा छन् । हिउँदमा तिनै पशुलाई खुवाउन अहिले नै घाँस काटेर राख्नुपर्छ ।

पहाड र तराइतिर कुनै विशेष काम गर्नका लागि साइत हेर्ने चलन छ । तर हिमाली क्षेत्रमा घाँस काट्ने पनि विशेष काम हो । मनाङको नार्पाभूमिका नागरिकले वर्षभरिमा ३ दिनमात्रै घाँस काट्न पाउँछन् । हिउँदमा हिउँले ढाकिने भएकाले उनीहरू बेंसी झर्छन् । त्यही हिउँदमा पशु बस्तुलाई खुवाउन अहिले नै घाँस काटेर थन्क्याउने चलन छ ।

तर घाँस काट्नुअघि लामाले विशेष दिनको साइत हेर्छन् । उक्त साइतबारे कटुवालले गाउँभरिका मान्छेलाई सञ्चार गर्छन् ।

नारका फुर्पा ठेले लामा हिउँ परेको समयलाई सहज बनाउन घाँस काटेर राख्ने गरिएको बताउँछन् । ‘यो पशुपालन गर्ने ठाउँ हो । हिउँ परेपछि पशु जोगाउन गाह्रो हुन्छ । हरियो घाँस पाइँदैन,’ उनले भने, ‘पशुपालन धेरै भएको हुँदा बेलैमा जोहो गरिएन भने हिउँद साह्रै कष्टकर हुन्छ । हिउँदका लागि जोहो गरिएको हो ।’

cutting grass

नारका किसानहरू च्याँखु र मेतासम्म घाँस काट्न झर्छन् भने फू गाउँका चाहिँ क्याङमा जान्छन् ।

उनीहरूले ३ दिनसम्म गाउँमै घाँस काट्छन् । ३ दिन वनमा र बाँकी ३ दिन बेँसीमा गएर घाँस काट्ने गर्छन् । ‘घाँस धेरै उम्रेको वर्षमा ३ दिनसम्म काट्छौँ । घाँस नहुँदा २ दिनसम्म काटिन्छ,’ लामाले भने, ‘अनुकूल समय हेरेर समाजको काम र मौसमसमेत आकलन गरेर लामाले साइत निकाल्नुहुन्छ ।’

लामाको गोठमा ६ वटा याक र २ वटा घोडा छन् । हिउँदयाम सुक्खा हुँदा पशुपालनमा निकै सास्ती पर्ने उनको भनाइ छ ।

तीन दिन काटेको घाँसले किसानहरू हिउँदभरिलाई पुर्‍याउँछन् । एक हिसाबले घाँस काट्ने समय पर्वजस्तै उत्सवमय हुन्छ । हुन त बेँसीमा चरन क्षेत्र छुट्ट्याइएको छ । नार र फूमा बर्खाका बेला बेँसीमा वस्तु झार्न प्रतिबन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन ।

बर्खाको समय खेती गरिन्छ । खेती मास्ने डरले पशुहरू लेकतिर चराउँछन् । ‘गाउँमा घाँस काट्ने ठाउँ छैन । वनमा पनि खासै घाँस भएन । हिउँ परेन भने जसोतसो चल्ला नत्र त बस्तुहरू भोकै मर्छन्,’ अर्की किसान पाल्मा सांगी भन्छिन् ।

गाउँलेहरू हिउँदका लागि बसाईं पनि सर्छन् । नार गाउँका मानिसहरू च्याँखु र मेतामा सर्छन् भने फू गाउँकाहरू क्याङमा आउँछन् । केहीचाहिँ आफन्त भेट्न र सानोतिनो व्यापारका लागि काठमाडौँ, पोखरा र नेपालका विभिन्न सहरमा पुग्छन् । यो उनीहरूको वार्षिक तालिका नै हो ।

हिमाली क्षेत्र भएकाले नबिग्रिने मौसम हेरेर पात्रोबाट उपयुक्त समय निकालिने नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताए ।

‘मौसम सफा भएको र पानी नपर्ने समय पात्रोबाट लामाले खोजी गर्छन् । लामाले निकालेको समयभित्रै घाँस र खेती थन्क्याइसक्नु पर्छ,’ उनले भने, ‘भ्याइएन भने पनि त्यसपछि काम गर्न पाइँदैन । खासगरी लामाले फसल नकुहिने समयको खोजी गर्ने हो ।’

तराई र पहाडमा जस्तो यहाँ मन लागेको बेला बाली भित्र्याउन पनि पाइँदैन । घाँस काट्न पनि पाइँदैन ।

प्रायःजसो भदौको अन्तिम र असोजको पहिलो साता घाँस काट्ने उपयुक्त समय निस्किन्छ । यो समय घाँससँगै करु भित्र्याउने चटारो पनि किसानलाई हुन्छ । उपयुक्त समय खोजी गर्न धावाशेर्पा नामको छुट्टै समिति गठन भएको हुन्छ । सात सदस्यीय समितिमा लामासहित गाउँका अगुवाहरू हुन्छन् ।

‘अनुसासनका लागि यो नियम लागु गरिएको हो । धावाशेर्पाले निकालेको मितिभन्दा तलमाथि कोही जाँदैनन् । सबैले नियम मान्छन्,’ पालिका अध्यक्ष लामाले भने, ‘मन लाग्यो भनेर जतिबेला पनि घाँस काट्न पाइँदैन । एक जनाले बदमासी गर्‍यो भने गाउँभरिको तालिका बिग्रिन्छ ।’

पशु सहजै नपसुन् भनेर नार र फूका दुवै गाउँमा गेट लगाइएको छ । त्यहाँको ढोका लागेपछि अन्यत्रबाट पशुमात्रै होइन, मान्छे पनि छिर्न सक्दैनन् । पशुहरू गेटबाट भित्र छिरे भने कारबाही नै हुन्छ । पशुधनीले क्षतिपूर्ति तिर्नुपर्छ ।

गाउँपालिकाका उपाध्यक्ष मिङमर फुन्चो लामाका अनुसार निषेधित समयमा कुनै पशु महेन्द्रपुल कट्यो भने पाँच सय रुपैयाँ प्रतिगोटा जरिवाना लाग्छ । पुल नकटेकाले ३ सय तिर्नुपर्छ । जरिवाना लिन गोठालाको समूह छ । समूहले भनेको नमाने आमा समूह र युवा क्लबमा उजुरी गरिन्छ ।

घाँस काट्दा र बाली थन्क्याउँदा साइत हेर्ने चलन मनाङसँगै उत्तरी मुस्ताङ र डोल्पा तथा उत्तरी गोरखामा पनि प्रचलनमा छ । उच्च हिमाली क्षेत्रका नागरिकहरू कात्तिकदेखि चैतसम्म बेंसी झर्छन् । हिउँ पर्न कम हुन थालेपछि गाउँ उक्लिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप