पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन ।
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।
“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उहाँले भन्नुभयो “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घटनास्थलबाट ल्याउने प्रयास सफल भएको छैन ।”
बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । सम्बद्ध ट्रेकीङ कम्पनीले अनुकूल मौसम भएमा सोमबार शव ल्याउन हेलिकप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए ।
आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।
‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतारोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद