१४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गरेका हार्भीलाई हारको बदला लिने हतारो
काठमाडौँ । जुन उमेरमा केटाकेटीहरू विद्यालयको होमवर्कमा व्यस्त रहन्छन् वा साथीहरूसँग भिडियो गेममा रमाउने गर्छन् त्यो उमेरमा एक किशोरले अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गर्न भ्याइसकेका छन् । उनी हुन्, टक्र्स एन्ड काइकोस आइल्यान्ड्सका किशोर फुटबलर सामी हार्भी ।
उनी टक्र्स एन्ड काइकोसको राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन् । उनले गत महिना नै अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गरिसकेका छन् । तर, यी किशोर गोलरक्षकको अन्तर्राष्ट्रिय ‘डेब्यू’ सोचेजस्तो उत्साहजनक भने रहेन ।
उनले गत महिना कनकाकाफ नेशन्स लिगअन्तर्गत एंगुइलाविरुद्धको खेलमा ‘डेब्यू’ गरेका थिए । टक्र्स एन्ड काइकोस र एंगुइलाविरुद्धको उक्त खेलमा एउटा दृश्य गजबको थियो । टक्र्स एन्ड काइकोसको गोल पोस्टमा उभिने गोलरक्षकको उमेर केवल १४ वर्ष थियो भने विपक्षी टोली एंगुइलाको गोल पोस्टको जिम्मा पाएका गोलरक्षकको उमेर ठिक विपरीत ४१ वर्ष रहेको थियो ।
दुर्भाग्य, हार्भीको ‘डेब्यू’ खेलमा उनको टोली टक्र्स एन्ड काइकोस ०–२ गोलले पराजित हुन पुग्यो । तर, टक्र्स एन्ड काइकोसले त्यो हारको बदला लिने अवसर फेरि पाएको छ । आइतबार टक्र्स एन्ड काइकोस र एंगुइला एकपटक फेरि आमने–सामने हुँदैछन् ।
हार्भी आफूले पाँच वर्षको उमेरदेखि कुशल फुटबलर बन्ने सपना देख्न थालेको बताउँछन् ।
‘आफ्नो डेब्यू खेलमा गोल बचाउन मैले सके जति प्रयास गरेँ । तर, केही लागेन । त्यो खेलमा पराजित भएपछि म निकै रोएँ । मलाई लाग्यो, पहिलो खेलले नै मलाई असफल बनाएको छ,’ करिब एक महिलाअघिको क्षण सम्झँदै उनले सञ्चारकर्मीसँग भनेका छन् ।
हार्भीले राष्ट्रिय टोलीका प्रशिक्षकप्रति आभार पनि व्यक्त गरेका छन् । ‘मेरो आँखाबाट निरन्तर आँसु खसिरहेको थियो । सुरु हुनासाथ खेल जीवन सकियो भन्ने मेरो बुझाइ थियो । तर, प्रशिक्षकले आएर मेरो हिम्मत बढाउनु भयो । उहाँले मेरो उमेर भर्खर १४ वर्ष भएको स्मरण गराउनु भयो । म उहाँप्रति आभारी छु,’ हार्भीले भनेका छन्, ‘त्यो मेरा लागि गजबको अनुभव थियो ।’
हार्भीले आफू राष्ट्रिय टोलीका प्रशिक्षक एरोन लरेन्सकै प्रेरणाले फुटबलमा लागेको पनि बताए । ५४ वर्षीय लरेन्स आफै पनि जमैका पूर्वखेलाडी हुन् । लरेन्सले जमैकाको तर्फबाट गोलरक्षकको भूमिकामा सन् १९९८ को फिफा विश्वकप पनि खेलेका थिए ।
‘प्रशिक्षक लरेन्स मेरो आदर्श हुनुहुन्छ । उहाँले रोएर भन्दा पनि कडा परिश्रम गरेर मात्र सफलता हात पार्न सकिने थुप्रै उदाहरण दिनु भयो । अहिले म उहाँकै पदचिह्न पछ्याउने क्रममा छु । मैले आफूलाई बलियो पनि बनाएको छु,’ हार्भी भन्छन् ।
यतिबेला उनी र उनका साथीहरू एंगुइलासँग अघिल्लो हारको बदला लिने योजना बुनिरहेका छन् । ‘हामी आइतबार हुने खेलमा कुनै पनि हालतमा एंगुइलालाई हराउन चाहन्छौँ । तर, प्रतिद्वन्द्वी कमजोर पटक्कै छैन । यसका लागि हामीले कडा परिश्रमी गर्नु आवश्यक छ,’ उनी आफ्नो योजना सुनाउँछन् ।
प्रशिक्षक लरेन्जससँगै उनी इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका गोलरक्षक एलिसन र म्यानचेस्टर सिटीका गोलरक्षक एडर्सनबाट पनि आफूले धेरै कुरा सिकेको बताउँछन् । ‘म नियमित रूपमा उहाँहरूको नयाँ र पुरानो भिडियो खोजेर हेर्छु अनि आफूलाई तिखार्ने प्रयास गर्छु,’ हार्भी भन्छन् ।
हार्भी आफूले पाँच वर्षको उमेरदेखि कुशल फुटबलर बन्ने सपना देख्न थालेको बताउँछन् । उनले आफू फुटबलप्रति आकर्षित हुनुमा बहिनीको पनि ठुलो योगदान रहेको बताए । ‘पहिले म डिफेन्डरको भूमिकामा खेल्थेँ तर, प्रशिक्षक लरेन्सले मलाई गोलरक्षक बन्न प्रेरित गर्नुभयो,’ उनको कथन छ ।
६ वर्षअघि कनकाकाफ नेशन्स लिग फुटबल प्रतियोगिता सुरु भएको थियो । सन् २०१८ मा यो प्रतियोगिता सुरु हुँदा त्यस क्षेत्रका टक्र्स एन्ड काइकोस, एंगुइलाजस्ता राष्ट्रसँग बलियो फुटबल टोली थिएन ।
हार्भी केवल १४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गर्ने पहिलो खेलाडी भने होइनन् । यसअघि टक्र्स एन्ड काइकोस आइल्यान्ड्सकै क्रिस्टोफर लुइस र जिन लुइसले पनि केवल १४ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गरिसकेका छन् । यी दुवै खेलाडी हाल १९ वर्षका छन् र उनीहरू राष्ट्रिय टोलीका सदस्य पनि हुन् ।
टक्र्स एन्ड काइकोस आइल्यान्ड्स क्यारेबियन राष्ट्र हो । यो टापु राष्ट्रको जनसङ्ख्या केवल ५९ हजार तीन सय ६७ रहेको छ । विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा टक्र्स एन्ड काइकोस आइल्यान्ड्स २०६औँ स्थानमा आसीन छ । एंगुइला भने पछिल्लो फिफा वरीयताको २०९औँ स्थानमा छ ।
खासमा ६ वर्षअघि कनकाकाफ नेशन्स लिग फुटबल प्रतियोगिता सुरु भएको थियो । सन् २०१८ मा यो प्रतियोगिता सुरु हुँदा त्यस क्षेत्रका टक्र्स एन्ड काइकोस, एंगुइलाजस्ता राष्ट्रसँग बलियो फुटबल टोली थिएन । त्यसैले यी राष्ट्रहरूका लागि कनकाकाफ नेशन्स लिग एउटा गतिलो अवसर बनेर आयो ।
यी राष्ट्रहरू स–साना स्कुले विद्यार्थीहरूलाई भेला गरेर फुटबल टोली बनाउनतर्फ लाग्यो । त्यसैले यस क्षेत्रका अधिकांश टोलीमा किशोर खेलाडीहरूकै बाहुल्य देख्न पाइन्छ । सन् २०२३ मा टक्र्स उन्ड काइकोस आइल्यान्ड्सको प्रशिक्षक बनेका लरेन्सले पनि यही परम्परालाई निरन्तरता दिँदै हार्भीजस्ता युवा खेलाडीहरूलाई तिखार्न सुरु गरेका हुन् ।
‘कनकाकाफ नेशन्स लिगजस्ता प्रतियोगिताहरू निकै महत्त्वपूर्ण छन् । यस्तो प्रतियोगिताले युवा र प्रतिभाशाली खेलाडीहरूलाई अगाडि आउने बाटो खुला गर्छ । हार्भीजस्ता युवा खेलाडीको मनोबल बढाउन पनि यस्ता प्रतियोगिता महत्त्वपूर्ण छन्,’ प्रशिक्षक लरेन्स भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले केन्द्रीय समिति बैठक सुरु, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
-
बागमती प्रदेश प्रमुख देवकोटालाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण
-
सिंगापुरमा किन बढ्दैछ नक्कली बिहे ?
-
‘एक्टरः टेक वन’ को ‘के भरोसा गरम’ गीत : दिव्या र आनासँग रोमान्टिक प्रदीप
-
बेवारिसे स्कार्पियो गाडी गौर भन्सारमा बुझाइयो
-
दीपक मनाङेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक