सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

पर्सामा किन हुन्छ यतिसारो पार्टी फेरबदल ?

आइतबार, २७ असोज २०८१, १५ : २५
आइतबार, २७ असोज २०८१

काठमाडौँ । नेपालमा सबभन्दा बढी पार्टी प्रवेश गर्ने जिल्ला कुन हो ? भनेर प्रश्न गर्‍यो भने त्यसको उत्तर आउँछ – मधेस प्रदेशको पर्सा जिल्ला ।

पर्सा जिल्ला यस्तो जिल्ला हो जहाँ प्रत्येक महिना दुई तीन पटक पार्टी प्रवेशका कार्यक्रम भइरहेका हुन्छन् । जुनसुकै दलका ठुला नेता पर्सा गए भने त्यहाँ दुई चार जनालाई पार्टी प्रवेश गराएकै हुन्छन् । त्यसमध्ये सबभन्दा बढी पार्टी प्रवेश गराउनेमा मधेस केन्द्रित दल पर्छन् । मधेस केन्द्रित दलले पटक–पटक पर्सामा पार्टी प्रवेश गराउँछन् ।  

गत असोज २५ गते मात्र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले छुट्टा छुट्टै पार्टी प्रवेश कार्यक्रम राखेका थिए । दुवै पार्टीले विभिन्न नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराए । 

राई नेतृत्वको जसपाले जसपा नेपालका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गरायो भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनमत पार्टीबाट धेरैलाई आफ्नो पार्टीमा प्रवेश गरायो । 

त्यसअघि असोज ५ गते अशोक राई नेतृत्वको जसपाले पार्टी प्रवेशको आयोजना गरेको थियो । त्यसमा थुप्रै नेताहरू पार्टी प्रवेश गरेका थिए । त्यसपछि जनमत पार्टीले आयोजना गरेको एक कार्यक्रममा पनि नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेका थिए । 

जनमत पार्टीभन्दा पहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आयोजना गरेको एक कार्यक्रममा पनि थुप्रै नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेका थिए । पर्सामा यो सिलसिला चलिरहेकै हुन्छ । कहिलेकाहीँ नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि पार्टी प्रवेश कार्यक्रममा आयोजना गरेका हुन्छन् । 

२०८० जेठ २८ गते लोकतान्त्रिक पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका शशी कपुर मियाँ असोज २५ गते जसपा नेपालमा प्रवेश गरे । हामीले नेता शशी कपुर मियाँलाई सोधेका थियौँ – जनमत पार्टीमा प्रवेश गर्नुभएको एक वर्ष नपुग्दै किन त्यो पार्टी छाडेर जसपा नेपालमा जानु भयो ?

उनको सिधा जवाफ थियो, ‘जनमत पार्टी कुनै सैद्धान्तिक वैचारिक पार्टी होइन, उद्देश्यविहीन राजनीतिक संगठन भएको कारण त्यो पार्टी छाडेर निस्केँ ।’ 

बैठकहरू हुँदा जनमत पार्टीले लेबी उठाउनु बाहेक अरू केही नगर्ने, बैठकमा पार्टीका अध्यक्ष सिके राउत र उनका दाइ जयकान्त राउतले आफ्नो मन्तव्य राख्ने तर अरू कसैलाई बोल्न पनि नदिने पनि नेता मियाँले आरोप लगाए । 

‘पार्टीमा कुनै पनि एजेन्डामा कहिले छलफल हुँदैन, सिके राउतको कुरा सुन्नुपर्छ । उनको कुरा सकिएपछि एकैपटक निर्णय आउँछ, जसलाई बाध्य भएर सबैले स्वीकार गर्नुपर्छ’ उनले भने । मियाँले कुनै पनि राजनीति गर्ने व्यक्ति त्यहाँ टिक्न नसक्ने बताउँदै जनमत पार्टी पुरै परिवारवादमा चलेको पार्टी रहेको आरोप लगाए ।

छठपछि पुनः पार्टी प्रवेश कार्यक्रम राख्ने योजना मियाँले सुनाए । उनले भने, ‘चाडपर्व भएको कारणले धेरै मान्छे सहभागी हुन पाएनन् । ३० जना मात्र प्रवेश गराएँ । छठपछि पाँच हजारभन्दा बढी नेता तथा कार्यकर्ता जसपा नेपालमा प्रवेश गराउने तयारी छ ।’ 

मियाँ मात्र होइन, जनमत पार्टीलाई करिमा बेगमले पनि छाडेकी छिन् । २०८० जेठ २८ गते उनी पनि जसपा नेपाल छाडेर जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । मियाँ र बेगमसहित ३० जना शीर्ष नेताहरू जनमत पार्टी छाडेर जसपा नेपालमा प्रवेश गरेका छन् । जसमध्ये पाँच जना केन्द्रीय नेता थिए ।  

तर जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम सर्राफ भन्छन्, ‘उहाँहरू पार्टी डुलुवा हुनुहुन्छ । विभिन्न पार्टी चाहर्दै जनमत पार्टीमा आउनु भएको थियो । डुलुवा भएपछि एक ठाउँमा थोडै टिक्न सक्नु हुन्छ फेरि अर्को पार्टीमा जानुभयो यसले जनमत पार्टीलाई कुनै फरक परेको छैन ।’

बरु उनीहरू पार्टी छाडेर गएपछि पार्टीमा उत्साह थपिएको, अवसर नपाएकाहरू अवसर पाउने र नेतृत्वको विकास हुने भन्ने कुराले पार्टीमा उत्साह भरिएको उनले दाबी गरे ।   

मधेस राजनीतिका जानकार र पर्सामा लामो समय बिताएका श्रीमननारायण भन्छन्, ‘पर्सा व्यापारिक नगरी हो । यहाँ हरेक कुरालाई व्यावसायिक हिसाबले हेरिन्छ । जसलाई जहाँ फाइदा हुन्छ त्यहाँ जान्छन् । पार्टीको विचार र सिद्धान्तको कुनै अर्थ रहँदैन, फाइदा बेफाइदा मात्र हेर्छन् र त्यही हिसाबले पार्टी चहारी रहेका हुन्छन् ।’

पर्सामा पञ्चायतको प्रभाव निकै बलियो रहेको र अहिले पनि पञ्चायती सोचमा थुप्रै नेताहरू पर्सामा रहेको उनको भनाई छ । त्यत्रो मधेस आन्दोलन भएर पनि अझै सोचमा परिवर्तन नआएको उनी बताउँछन् । कुनै पनि दलमा स्थिर नरहनुको मुख्य कारण नै त्यही रहेको उनको बुझाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप