शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
मानव बेचबिखन

पछिल्ला ६ वर्षमा नेपालबाट बेचिएका एक हजार ८३४ जनाको उद्धार

एक हजार २८७ जना पक्राउ
आइतबार, २७ असोज २०८१, १४ : ५५
आइतबार, २७ असोज २०८१

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारका घटनामा नयाँ प्रवृत्ति देखिँदै छन् । नेपालबाट चीन, भारत, गल्फ मुलुक, युरोप र अमेरिकामा मानिस बेचिने प्रहरीको भनाइ छ । नेपालभित्रै पनि आन्तरिक बेचबिखनका घटना भइरहेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार पछिल्ला ६ वर्षमा बेचबिखनमा परेका एक हजार ८३४ जनालाई उद्धार गरिएको छ । भारत तथा मध्यपूर्वी एसियाका मुलुकहरूबाट पीडितलाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

उनका अनुसार उद्धार गरिएकामध्ये महिला धेरै छन् । आर्थिक वर्ष २०७५/०७६ देखि अहिलेसम्म आन्तरिक र बाह्य बेचबिखनमा परेका ९७८ जना महिलालाई प्रहरीले उद्धार गरेको छ । सो अवधिमा ४८३ जना पुरुष, २९ जना बालक र ३४४ जना बालिकाको उद्धार गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ पछि मानब बेचबिखनमा संलग्न एक हजार २८७ जनालाई पक्राउ गरिएको छ । सो अवधिमा २ हजार १८६ जना आरोपितविरुद्ध मुद्दा दर्ता भएको छ । बेचबिखनमा संलग्न ८९९ जना अपराधी प्रहरीको फरार सूचीमा छन् ।

cfly

तथ्याङ्क स्रोतः मानव बेचबिखन अनुसन्धान ब्यूरो

  • कस्तो छ अपराध प्रवृत्ति ?

मानव बेचबिखनको अपराध प्रवृत्ति आन्तरिक र बाह्य दुई प्रकारका छन् । आन्तरिक प्रवृत्ति अन्तर्गत मनोरञ्जन क्षेत्रमा नेपालभित्र महिला र बालिकालाई यौन धन्दामा लगाइन्छ ।

बाह्य प्रवृत्ति अन्तर्गत चीन, गल्फ मुलुक, दक्षिण एसिया, युरोप र अमेरिकासम्म नेपालीहरू बेचिने गरेका छन् । नेपालबाट महिला र युवतीहरू सबैभन्दा धेरै भारत र मध्यपूर्वी एसियामा पर्ने मुलुक दुबई, ओमान, कुवेत, इराक र सिरियामा बेचिन्छन् ।

होटल तथा कल कारखानामा ‘काम पाउने’ आसा बोकेर नेपालबाट महिला र युवतीहरू भारतका ठुला सहरमा पुग्छन् । तर, त्यहाँ लगेर विभिन्न समूहले वेश्यालयमा बेच्ने गरेको ब्यूरोका एसपी गौतम मिश्रले बताए । उनले भने, ‘हामीले नियन्त्रणको प्रयास गरिरहेका छौँ तर, पुराना समूह भत्कने र नयाँ समूहले काम थाल्ने गर्छन् ।’

मिश्रका अनुसार गिरोहले भारतबाट नेपालीलाई बेच्नका लागि तेस्रो मुलुकमा पनि पठाउँछन् । मध्यपूर्वी एसियामा पर्ने गल्फ मुलुकमा चाहिँ भिजिट भिसाको दुरुपयोग गरेर मानव तस्करी हुने प्रवृत्ति रहेको उनले बताए ।

मानव तस्करीमा संलग्न गिरोहले नेपालबाट ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’को नाममा पहिले दुबई पठाउँछन् । दुबईबाट ओमान, कुवेत र इराक तथा सिरियासम्म लगेर बेचबिखन हुने गरेको पाइन्छ । प्रहरी उपरीक्षक मिश्र भन्छन्, ‘ती मुलुकमा लगेर घरेलु कामदारको रूपमा बेच्ने र गिरोहले मोटो रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’

उनका अनुसार बेचिएका महिला खाडीमा बन्धक भएर घरेलु कामदारमात्रै बन्दैनन्, यौन शोषणको सिकार पनि हुन्छन् ।

दक्षिण एसियामा थाइल्याण्ड हुँदै लाओस, म्यानमार र कम्बोडियामा नेपालीहरू बेचिन्छन् । कम्बोडियामा चाइनिज नागरिकले सञ्चालन गरेको कम्पनीमा बन्धक बनाएर नेपाली युवा–युवतीलाई ठगी धन्दामा प्रयोग गर्ने गरिएको ब्यूरोका अनुसन्धान अधिकृत बताउँछन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘चाइनिजहरूले त्यहाँ कम्पनी नै स्थापना गरेर स्क्याम गर्दा रहेछन् । नेपालीहरूलाई बन्धक बनाएर त्यसमा प्रयोग गरिन्छ ।’

त्यस्तोमा कम्प्युटर जानेका पुरुष र महिला प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । चिनियाँ पुरुषहरूले नेपाली महिलालाई ‘अदालती विवाह’ गरेर लैजाने र त्यसरी लगिसकेपछि शोषण गर्ने प्रवृत्ति पनि देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तस्करले मोटो रकम लिएर युरोप र अमेरिकामा पनि मानव तस्करी गर्छन् । अवैध रुटबाट नक्कली कागजात बनाएर एक करोड रुपैयाँसम्म लिएर युरोप र अमेरिकामा मानव तस्करी हुने गरेको एसपी मिश्रले बताए । उनले भने, ‘तस्करको सञ्जाल ब्रेक भएपछि मानिसहरू अलपत्र पर्ने गरेका छन् ।’

आन्तरिक बेचबिखनमा होटल, डान्स, मसाज, खाजाघर र दोहोरीमा कुक र वेटरमा जागिर लगाउने नाममा चेलिबेटीहरू बेचबिखनमा पर्छन् । एसपी मिश्रले भने, ‘मनोरञ्जन क्षेत्रमा हेल्पर र वेटर राखेर बिस्तारै वेश्यावृत्ति गर्न उकास्ने र दबाब दिने गरिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप