सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा स्थानीयमाथि समूहद्वारा सांघातिक आक्रमण

आइतबार, २७ असोज २०८१, १४ : ४४
आइतबार, २७ असोज २०८१

रौतहट । रौतहटको कटहरिया बजारका स्थानीय राकेश गिरी माथि एक समूहले सांघातिक आक्रमण गरेको छ। ३५ वर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको क्रममा आईतवार बिहान ९ बजे वडा ८ पिप्रापोखरिया गाउँबाट दर्जनौँको सङ्ख्यामा आएका मानिसहरूले आक्रमण गरेका हुन्। 

उनीहरूले गिरी माथि सँगै ल्याएको बाँसको लाठी भाटा, दाउरा र डुङ्गा प्रहार गरेका थिए। गिरी लाई अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साहुनीलाई समेत चोटपटक लागेको छ। सांघातिक आक्रमणबाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन्। 

त्यसैगरी चिया पसल साउनी ६० बर्षिया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोटपटक लागेको कारण सामान्य उपचार पछि दुवैजना लाई थप उपचारको लागि वीरगन्ज पठाईएको सई शर्माले जानकारी दिएका छन्। मोटरसाइकल, साईकल र पैदल आएका आक्रमणकारीहरु घटना पछि भाग्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले ४ जना लाई पक्राउ गरेको छ। 

डुमरिया गाउँका ७२ वर्षीय तेजिलाल यादव,३६ वर्षीय सिकिन्दर यादव र २८ वर्षीय परशुराम विक्रम साह लाई घटनास्थल को केही दूरी बाट पक्राउ गरिएको थियो। त्यस्तै तेजिलालको छोरा ३५ वर्षीय जितेन्द्र यादवलाई घटनास्थल बाट २ किलोमीटर टाढा कटहरिया गाउँ छेउको बाँसको रुख माथि चढेर लुकिबसेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो। 

घटनापछि थप विवाद हुन नदिन कटहरिया बजारमा व्यापक रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्की ले बताएका छन्।

कटहरिया बजारमा दुर्गा पूजाको अवसरमा आयोजित मेलामा गएराति नाच भईरहेको थियो। सोही क्रममा पोखरीया गाउँका एकजना युवक मदिरा सेवन गरी पटकपटक नाचको स्टेजमा चढ्न खोज्दा त्यहाँ रहेका स्थानीय राकेश गिरी र अन्य केही युवाले सामान्य कुटपिट गरी भगाएको प्रत्यक्षदर्शी विनोद साहले बताएका छन्। 

सोही विषय लिएर पिप्रापोखरिया गाउँका दर्जनौँ मानिस राति नै आएर गिरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले उनीहरूलाई धपाएका थिए। आज बिहान गिरीमाथि पुनः आक्रमण भएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप