शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

सेमिफाइनल पुग्ने होडमा रहेका दुई महारथी अस्ट्रेलिया र भारत आपसमा भिड्दै

आइतबार, २७ असोज २०८१, १४ : ०६
आइतबार, २७ असोज २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको नवौँ संस्करणमा आइतबार विश्व क्रिकेटका दुई महारथी अस्ट्रेलिया र भारतबिच भिडन्त हुँदैछ । उक्त खेल संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा अस्ट्रेलिया र भारत समूह ‘ए’ मा रहेका छन् । यी दुवै टोलीले यसअघि तीन–तीन खेल खेलिसकेका छन् । अस्ट्रेलियाले आफ्नो तीनवटै खेलमा जित हात पारेको छ । भारत भने तीनमध्ये दुई खेलमा विजयी र एक खेलमा पराजित भएको छ ।

अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियन टोलीले दोस्रो खेलमा बलियो न्युजिल्यान्डलाई ६० रनले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई नौ विकेटले हराएको थियो ।

388896

यसैगरी, भारतीय टोली आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ५८ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भारतीय टोलीले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने भारतले श्रीलंकालाई ८२ रनले हराएको थियो ।

समूह ‘ए’ मा श्रीलंका (चार खेल) वाहेक सबै टोलीले तीन–तीन खेल खेलेका छन् । ६ अङ्कसहित साबिक विजेता अस्ट्रेलिया पहिलो र चार अङ्कसहित भारत दोस्रो स्थानमा छन् । चार अङ्कसहित न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।

तीन खेलबाट दुई अङ्क बटुलेको पाकिस्तान तालिकाको चौथो स्थानमा आसीन छ । पाकिस्तानको पनि अगाडि बढ्ने सम्भावना जीवितै छ । आफ्नो चारवटै खेलमा पराजित भएको श्रीलंका भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । दुवै समूहबाट अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

भारत र अस्ट्रेलियाबिच हालसम्म महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ३४ खेल खेलिएको छ । त्यसमध्ये २६ खेलमा अस्ट्रेलियाले भारतलाई हराएको छ । आठ खेलमा भने भारतीय टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ ।  

अस्ट्रेलिया र भारत दुवैले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । अस्ट्रेलिया टी–२० महिला विश्वकपको सर्वाधिक सफल राष्ट्र हो । न्युजिल्यान्डले भने दुईपटक फाइनलमा पुगेर पनि उपाधि चुम्न सकेको छैन । आईसीसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ ।

388758

अस्ट्रेलियाले हालसम्म ६ पटक महिला टी–२० विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलियन टोलीले सन् २०१० (दोस्रो संस्करण) मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई तीन रनले हराएको थियो ।

यसैगरी, सन् २०१२ मा पनि अस्ट्रेलिया च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई चार रनले हराएको थियो । सन् २०१४ को उपाधि पनि अस्ट्रेलियाले नै चुमेको थियो । अस्ट्रेलियाले फाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो ।

यसैगरी, अस्ट्रेलियाले सन् २०१८ मा चौथो पटक उपाधि उचालेको थियो । त्यतिबेला पनि फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई नै आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियाले सन् २०२० मा पाँचौँ पटक उपाधि चुमेको थियो । फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो ।

यसैगरी, अस्ट्रेलियन टोलीले सन् २०२३ मा छैटौँ पटक उपाधिमाथि कब्जा जमाएको थियो । त्यतिबेला अस्ट्रेलियन टोलीले फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधिमा दोस्रो पटक ह्याट्रिक गरेको थियो ।

यसका अतिरिक्त अस्ट्रेलिया एकपटक महिला विश्वकपको फाइनलमा पराजित पनि भएको छ । सन् २०१६ मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियालाई वेस्ट इन्डिजले आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलिया टी–२० महिला विश्वकपको साबिक विजेता पनि हो ।

यसको विपरीत, भारतले भने हालसम्म एकपटक पनि महिला टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन । भारत एकपटक फाइनलमा भने पुगेको थियो । सन् २०२० मा सम्पन्न विश्वकपको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँग ८५ रनले पराजित भएको थियो ।

388773

भारतीय टोली यसपटक हरमनप्रित कौरको कप्तानीमा रहेको छ । ३५ वर्षीया कौर टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेकी छन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा त सतक पनि बनाएकी छन् । उनी टोलीकी प्रभावशाली बलर पनि हुन् । स्मृति मन्धना टोलीकी उपकप्तान हुन् ।

यसैगरी, यसपटकको अस्ट्रेलियन टोली एलिसा जिन हेलीको कप्तानीमा रहेको छ । ३४ वर्षीया अनुभवी खेलाडी हेली टोलीकी प्रभावशाली ब्याटर पनि हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगितामा अब्बल प्रदर्शन गरेकी छन् । ताहलिया म्याकग्रा अस्ट्रेलियन टोलीकी उपकप्तान हुन् ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप