पहिलो संस्करणको विजेता इङ्ल्यान्डलाई पहिलो जितको खोजीमा रहेको स्कटल्यान्डको चुनौती
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको नवौँ संस्करणमा आइतबार पहिलो संस्करणको विजेता इङ्ल्यान्डले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाह स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा इङ्ल्यान्ड र स्कटल्यान्ड समूह ‘बी’ मा रहेका छन् । इङ्ल्यान्डले तेस्रो र स्कटल्यान्डले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । इङ्ल्यान्डको सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो छ भने स्कटल्यान्ड यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
विश्वकपको नवौँ संस्करणमा इङ्ल्यान्ड हालसम्म अपराजित छ । इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २१ रनले र दोस्रो खेलमा साबिक उपविजेता दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको थियो ।
स्कटल्यान्ड भने आफ्नो पहिलो खेलमा बंगलादेशसँग १६ रनले, दोस्रो खेलमा वेस्ट इन्डिजसँग ६ विकेटले र तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ८० रनले पराजित भएको थियो । आफ्नो पहिलो सहभागितामा स्कटल्यान्ड सबै खेल हार्दै उपाधि होडबाट बाहिरिने सम्भावना प्रबल छ ।
समूह ‘बी’ तालिकामा चार खेल खेलेको दक्षिण अफ्रिका ६ अङ्कसहित पहिलो, तीन खेल खेलेको वेस्ट इन्डिज चार अङ्कसहित दोस्रो, दुई खेल खेलेको इङ्ल्यान्ड चार अङ्कसहित तेस्रो, चार खेल खेलेको बंगलादेश दुई अङ्कसहित चौथो र तीनवटै खेलमा पराजित भएको स्कटल्यान्ड पाँचौँ स्थानमा छन् ।
स्कटल्यान्डसँग बंगलादेश पनि उपाधि होडबाट बाहिरिएको छ । अब तीनवटा टोलीबिच प्रतियोगिताको सेमिफाइनलमा पुग्न चर्को प्रतिस्पर्धा छ । स्कटल्यान्डसँग पराजित भए पनि इङ्ल्यान्डको अगाडि बढ्ने सम्भावना कायमै रहने छ । तर, यस्तो स्थितिमा भने इङ्ल्यान्ड चर्को दबाबमा रहने छ ।
इङ्ल्यान्डले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । हालसम्म इङ्ल्यान्डले एकपटक उपाधि जितेको छ । इङ्ल्यान्डले सन् २००९ मा घरेलु मैदानमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।
यसका अतिरिक्त इङ्ल्यान्ड तीनपटक फाइनलमा पराजित भएको छ । सन् २०१२ मा सम्पन्न तेस्रो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई अस्ट्रेलियाले चार रनले हराएको थियो । सन् २०१४ मा सम्पन्न चौथो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई अस्ट्रेलियाले ६ विकेटले हराएको थियो ।
यसैगरी, सन् २०१८ मा सम्पन्न छैटौँ संस्करणको फाइनलमा पनि अस्ट्रेलियाले नै इङ्ल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । यसको विपरीत स्कटल्यान्डले भने महिला टी–२० विश्वकपको पहिलो पटक सहभागिता जनाएको हो ।
जारी विश्वकपमा स्कटल्यान्डको टोली क्याथरिन ब्राइसको कप्तानीमा छ । २७औँ वर्ष प्रवेशको सँघारमा रहेकी क्याथरिन टोलीकी अलराउन्डर खेलाडी हुन् । प्रभावशाली ब्याटर क्याथरिनले टोलीका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सराह ब्रायस टोलीकी उपकप्तान हुन् ।
यसैगरी, इङ्ल्यान्ड यसपटक अनुभवी खेलाडी हिथर नाइटको कप्तानीमा रहेको छ । ३३ वर्षीया हिथर नाइट इङ्ल्यान्डकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेकी छन् । उनको बलिङ पनि उत्कृष्ट छ ।
महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।
सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?