जुम्लाका इनोभेटर टक्क
काठमाडौँ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ जुम्लाको तातोपानी गाउँपालिका–५ का टक्कबहादुर नेपाली (सार्की)मा सानैदेखि विज्ञान र प्रविधि क्षेत्रमा रुचि थियो ।
आफू सरहका बालबालिका गाउँघरमा परम्परागत खेल खेलेर रमाइरहँदा उनी भने गाडी, प्लेनजस्ता खेलौना बनाउने गर्थे । पढाइमा भने उनी औसत थिए । २०५८ सालमा एसएलसी फेल भएका उनी दोस्रो प्रयासमा उत्तीर्ण भए ।
घरको आर्थिक अवस्था कमजोर रहेका कारण टक्कबहादुरले उच्च शिक्षा पढ्न पाएनन् । २०६० सालतिर उनी हाउस वायरिङ सम्बन्धी तालिम लिन नेपालगञ्ज आए । तालिम लिँदै गर्दा साथीहरूबाट उनले वैदेशिक रोजगारीबारे जान्ने मौका पाए ।
विदेशमा राम्रो कमाइ हुने, उताबाट कमाएर ल्याएको पैसाले नेपालमै राम्रो काम गर्न सकिने भन्ने भएपछि उनले पनि विदेश जाने सोच बनाए । उनी २०६२ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए ।
मलेसियामा एक वर्ष काम गर्दा भोगेको दुःख तथा पीडा नै टक्कबहादुरको जीवनको सिकाइ बनेको छ । गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा प्रोडक्सन असिफरका रूपमा काम गर्दा उनले मासिक ४१० मलेसियन रिंगेट तलब पाउँथे । ओभरटाइम काम गरेर कुनै महिना उनी १००० रिंगेटसमेत कमाउँथे । तर, सामान्यतया ६/७ सय रिंगेट जतिमात्रै मासिक कमाइ हुन्थ्यो । त्यो पैसाले उनलाई त्यहीँ खान–बस्नसमेत धौधौ हुन्थ्यो ।
‘मलेसियामा जुन प्रकारको सम्झौता भएको थियो, त्यो अनुसार काम थिएन । एकदमै दुःखको काम थियो । काम गर्न नसकेर एक वर्षमै म नेपाल फर्किएँ,’ ४१ वर्षीय टक्कबहादुरले भने ।
काम गर्न नसक्ने र त्यति दुःख नेपालमै गरे धेरै कमाइ गर्न सकिने मनसायसहित उनी २०६३ सालमा नेपाल फर्किए । २०६४ सालमा उनी एउटा स्कुलमा पढाउन थाले ।
आफ्नो घरबाट चार घण्टाको दुरीमा रहेको सिद्धिबाबा निमावि जुम्लामा उनले विज्ञान शिक्षकको रूपमा जागिर पाए । ‘मेरो पढाइ एसएलसी भए पनि कक्षा ७ सम्म विज्ञान विषय पढाउँथेँ,’ उनले भने ।
आफ्नो रुचि अनुसार कै विषय पढाउन थालेका उनले विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासमा बढी जोड दिए । स्कुलमा पढाउँदा पढाउँदै उनले विद्युतीय भोटिङ मेसिन बनाएका थिए । उनले बनाएको भोटिङ मेसिनको चर्चा चुलियो । सञ्चारमाध्यमले उनले गरेको आविष्कारको समाचार बनाए । त्यतिबेला साविकको गाविस कार्यालयले उनलाई १० हजार रुपैयाँ दिएर पुरस्कृत गर्यो ।
त्यसपछि तत्कालीन जिल्ला विकास समिति (जिविस) ले समेत उनलाई बोलाएर सम्मान गर्यो । उनलाई त्यो भोटिङ मेसिन काठमाडौँ लगेर निर्वाचन आयोगलाई देखाउन सुझाव दिइयो । उनी भोटिङ मेसिन बोकेर जुम्लाबाट काठमाडौँ आए । उनले भोटिङ मेसिन निर्वाचन आयोगमा देखाए । निर्वाचन आयोगले सबै कुरा परीक्षण गर्यो र एकदम राम्रो रहेको भन्यो ।
त्यसपछि त्यो भोटिङ मेसिनको ‘पेटेन्ट राइट’ परीक्षण गराउन उनलाई नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानमा जान भनियो । प्रतिष्ठानमा गएर परीक्षण गराउँदा त्यो मेसिनको पेटेन्ट राइट भारतसँग रहेको पत्ता लाग्यो ।
उनले भने, ‘यो मेसिन इण्डियामा बनेको रहेछ । उहाँहरूले यसको पेटेन्ट राइट इण्डियासँग छ, अब यो मेसिन बनाउनतिर नलाग्नुस् भन्नुभयो ।’
यही क्रममा आफूलाई दिइएको सुझाव अनुसार टक्कबहादुर त्रिपुरेश्वरमा रहेको घरेलु तथा साना उद्योगको कार्यालय पुगे । त्यहाँ उनलाई खान–बस्नसमेत व्यवस्था गरेर सिक्ने व्यवस्था मिलाइयो । त्यहाँ उनले विभिन्न काम थाले, जुन सफल नभए पनि उनको जीवनको महत्त्वपूर्ण सिकाइ बन्यो ।
‘क्याप टोपीमा सोलार सिस्टम राखेर मोबाइल चार्ज गर्न मिल्ने बनाएँ । त्यस्तै साइकल चलाउँदा चार्जिङ हुने डायनामा समेत बनाएँ । त्यो दुवैले खासै प्रगति भएन,’ टक्कबहादुरले भने, ‘तर, त्यहाँबाट मलाई व्यवसाय गर्ने आइडिया आयो ।’
त्यहाँ काम सकेपछि उनले कर्णाली इनोभेटिभ टेक्नोलोजी डेभलपमेन्ट नामक कम्पनी दर्ता गरे । अहिले उनी सोही कम्पनीमार्फत काम गर्दै आएका छन् ।
सुरुवातमा उनले ५ लाख रुपैयाँ कृषि ऋण लिएर काम थाले । ‘सुरूमा ग्रिल, सटरहरू बनाउने काम गरेँ । अहिले कृषि यन्त्रहरू बनाउने, मर्मत गर्ने, बिक्री गर्ने काम गर्र्दै आएको छु,’ उनले भने, ‘अघिल्लो वर्ष लगभग ७६ लाखको कारोबार गरेको थिएँ । त्योभन्दा अघिल्लो वर्ष एक करोड १६ लाख रूपैयाँको कारोबार गरेको थिएँ ।’
टक्कबहादुरले एक वर्षमा जुम्लामा मात्रै १०० भन्दा बढी हाते ट्याक्टर बिक्री वितरण गरेका थिए । उनले नेपालगञ्ज तथा काठमाडौँबाट किनेर ल्याउने र जुम्लामा बिक्री वितरण गर्ने गरेका छन् ।
उनले कृषि यन्त्रहरूको बिक्री तथा मर्मत सेन्टरको रूपमा काम गर्दै आएका छन् । उनीसँग भएका सामानहरू गाउँपालिकाहरू, कृषि ज्ञान केन्द्र लगायतले किन्ने गरेका छन् र उनीहरूले किसानहरूलाई अनुदानमा दिने गरेका छन् ।
काम गर्दै जाँदा टक्कबहादुरले २०७७ सालमा प्याराग्लाइडिङसमेत बनाएका थिए । त्यो बनाए बापत उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएका थिए ।
उनले युट्युब हेरेरै बनाएको प्याराग्लाइडिङको परीक्षण सफल भएको थियो । त्यो बेला उनले विभिन्न निकायबाट सात लाख रुपैयाँ जतिको पुरस्कार समेत पाएका थिए । तर, व्यावसायिक उडान अनुमति नपाएपछि उनले बनाएको प्याराग्लाइडिङ त्यत्तिकै थन्किएको छ ।
त्यस्तै उनले साइकल चलाउँदा बत्ती बल्ने प्रविधिसमेत बनाएका थिए । साइकलमा डायनामा फिट गरेर उनले बत्ती बल्ने तथा चार्ज गर्न सकिने बनाएका थिए । उनले प्लेनसमेत बनाउँदैछन् । त्यसको ३५ प्रतिशत काम भएको उनको भनाइ छ । त्यसको इन्जिन बाहिरबाट ल्याउनुपर्ने र धेरै महँगो पर्ने भएकाले मगाउन नसकेको उनले बताए ।
‘हामीले बनाएको प्याराग्लाईडिङमा सामग्री ब्राण्डेड नभएकाले अनुमति पाएनौँ । यी कुरा मैले मेरो सौखको लागि मात्रै बनाउने गरेको हुँ । नेपालीले समेत बनाउन सक्छन् भन्ने देखाउन म यस्ता सामग्री बनाइरहन्छु,’ टक्कबहादुरले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत उनलाई सम्मान गरेको छ । ७५ हजार रुपैयाँ नगदसहित श्रम मन्त्रालयले २०८० सालको उद्यमी राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मानित गरेको हो ।
‘विदेशमा काम गर्दा मलाई एक खालको आँट आयो । उद्योग कसरी चल्छ ? व्यवस्थापन पक्ष कसरी सबल बनाउनुपर्छ ? नाफा घाटा के हो ? लगानी के हो ? भन्नेजस्ता कुरा सिकियो । नेपालमै केही गर्नुपर्छ भन्ने सिकायो । जसले मलाई काम गर्न सहज भयो,’ उनले भने ।
- भावी योजना
सुरूमा ५ लाख रुपैयाँ कृषि ऋण लिएर व्यवसाय सुरु गरेका टक्कबहादुरको अहिले एक करोड बराबरको चल–अचल सम्पत्ति छ । यतिबेला उनले वार्षिक एक करोडको कारोबार गर्दै आएका छन् ।
अहिले उनले ३० लाख रुपैयाँ कृषि ऋण लिएका छन् । आगामी दिनमा नयाँनयाँ इनोभेसन गर्दै जाने उनको योजना छ । ‘यसलाई अझै बढाउँदै लैजाने भन्ने छ । अहिलेको चल–अचल सम्पत्तिलाई बढाएर १ अर्ब पुर्याउने भन्ने लक्ष्य छ,’ उनले भने ।
त्यसका लागि टक्कबहादुरलाई घर परिवारको समेत पूर्ण साथ र सहयोग मिलिरहेको छ । उनको पूरै परिवार त्यही पेसामा आश्रित बनेको छ । खेतीपाती सबै छाडेर आमा, बुबा, श्रीमती, भाइ सबै यसै काममा खटिएको उनको भनाइ छ ।
घरका सदस्यहरू बाहेक कामको चापका आधारमा बाहिरबाट समेत उनले कामदार मगाउने गरेका छन् । सिजनल कामका लागि उनले नेपालगञ्जबाट समेत कामदार मगाउने गरेका छन् ।
टक्कबहादुरले सिक्न चाहनेहरूलाई काम पनि सिकाउँछन् । काम सिकेपछि आफैँले काम दिने गरेको उनको भनाइ छ । उनले २०६८ सालदेखि व्यावसायिक रूपमा काम गर्दै आएका हुन् ।
‘धेरै समस्या भोगियो । उधारोमा सामान लैजाने समस्या पनि निकै भोगे । लगानी गर्ने कुरामा धेरै समस्या भयो । त्यस्तै बत्तीको समस्या थियो । जेनेरेटरबाट काम गर्थें । मार्केट पनि सजिलै सबैले पत्याउन सकिने अवस्था थिएन । कन्भिन्स गराउन गाह्रो छ,’ टक्कबहादुरले भने ।
जे जति समस्या आए पनि हरेस नखाइ अघि बढिरहेको उनले सुनाए । उनले उद्योग स्थापना गर्ने बेला डेढ लाख रुपैयाँ तिरेर बत्तीको लाइन जडान गरेका थिए । ‘त्यो बेला लोडसेडिङको समस्या थियो । त्यसपछि जेनेरेटरबाट काम गर्नुपर्ने अवस्था थियो । विद्युत् आएपछि पनि घरबेटीले त्यो लाइनबाट काम गर्न दिँदैनथ्यो,’ उनले भने, ‘उद्योगका लागि थ्री फेजको लाइन चाहिन्थ्यो । घरबेटीले घरको लाइनबाट काम गर्न नदिने । नयाँ लाइन राख्न पनि नदिने ।’
त्यसपछि उनले एक जनाको डेढ लाख रुपैयाँ बराबर बिजुलीको बक्यौता तिरेर त्यही लाइनबाट थ्री फेजको विद्युत् जडान गरेका थिए । अहिले भने उनलाई काम गर्न निकै सहज छ । उनले आफूलाई चाहिने कच्चा पदार्थ तथा सामानहरू नेपालगञ्ज तथा काठमाडौँबाट मगाउने गरेका छन् ।
‘अहिले राज्यले पनि धेरै राम्रो काम गरेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण समितिबाट मैले २/३ पटक अनुदान पाएको छु । त्यस्तै सुपरजोनबाट समेत अनुदान पाएँ,’ टक्कबहादुरले भने, ‘श्रम मन्त्रालयले समेत पुरस्कार दियो । खेलकुद मन्त्रालयले समेत पुरस्कार दियो । राज्यले अझै गर्न धेरै बाँकी छ ।’
काम गर्नेहरूलाई राज्यले सहुलियत दरमा ऋण दिएको खण्डमा धेरै राहत मिल्ने उनको भनाइ छ । कम ब्याजदरमा ऋणको व्यवस्था मिलाइदिएको खण्डमा काम गर्न धेरै सहज हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण
-
चम्पावती हाइड्रोपावर लिमिटेडकाे सार्वजनिक सेयर निष्कासन हुने
-
पर्यटन क्षेत्रको विकास गर्न बौद्ध सर्किट महत्त्वपूर्ण छ : मुख्यमन्त्री आचार्य
-
टुँडिखेलमा मनाइयो उधौली साकेला, तस्बिरहरू
-
भारतीय दूतावासमा मनाइयो ध्यान दिवस
-
पोखरामा ९ पुसदेखि पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव