बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टोली काठमाडौँमा

आइतबार, २७ असोज २०८१, १० : ३२
आइतबार, २७ असोज २०८१

काठमाडौँ । नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन पाकिस्तानको टोली काठमाडौँ आइपुगेको छ । प्रतियोगितामा सहभागी हुन नेपाल आउने पाकिस्तान पहिलो टोली हो ।

पाकिस्तानी टोलीका खेलाडी र पदाधिकारीलाई आइतबार बिहान १२ः१५ बजे काठमाडौँ आइपुगेको हो । पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसैगरी, प्रतियोगितामा सहभागी हुन माल्दिभ्सको टोली सोमबार दिउँसो १२ः१५ बजे, बंगलादेशको टोली मंगलबार बिहान १०ः१५ बजे, श्रीलंकाको टोली मंगलबार दिउँसो १२ः१५ बजे, भारतको टोली मंगलबार साँझ १६ः०० बजे र भुटानको टोली बुधबार बिहान ०८ः३० बजे काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ ।  

साफ महिला च्याम्पियनसिप आगामी कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ ।

प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान र साबिक विजेता बंगलादेश रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताका सहभागी टोलीहरुलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकालीस्थित खेल मैदान र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले प्रमुख प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षकत्वमा तयारी गरिरहेको एन्फाले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच खेलिने छ । नेपाली टोलीले भने आफ्नो पहिलो खेल कार्तिक २ गते साँझ भुटानसँग खेल्नछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप