बलिउड : शब्दको राजनीति
हालका केही वर्षयता हलिउड–बलिउडको चर्चा निकै उफानमा छ । तर, आश्चर्यको कुरा के हो भने यी सबै चर्चा ‘बलिउड’ शब्दमाथि हुने गरेका छन् न कि त्यस शब्दमा लुकेको अर्थबोध र अवधारणामा । मूलतः सञ्चारमाध्यममा र केही गम्भीर छलफल कार्यक्रमहरूमा समेत ‘बलिउड शब्द तपाईँलाई कस्तो लाग्छ ?’, ‘बलिउड शब्द आफैमा उपयुक्त हो वा होइन ?’ वा ‘बलिउडले भारतीय सिनेमालाई नयाँ पहिचान दिन सफल भएको छ वा छैन ? भनी यस्ता छलफलहरूको इतिश्री गर्ने गरिएको छ ।
जनवरी २००३ मा क्यालिफोर्नियामा ‘पाम स्प्रिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ आयोजित गरिएको थियो । त्यहाँ अपर्णा सेन, मणि रत्नम, अदूर गोपालकृष्णन, बुद्धदेव दास गुप्त र मेरो सिनेमा प्रदर्शन गरिएको थियो । त्यहाँ हलिउड–बलिउड शीर्षकको एउटा विशेष खण्ड थियो । यति मात्र होइन हलिउड–बलिउड नाममा चार घण्टाको एउटा छुट्टै सेमिनार पनि आयोजित गरिएको थियो ।
तपाईंहरूलाई थाहा छँदैछ– अधिकांश सेमिनारहरूमा हुने जस्तै त्यहाँ पनि शोधपत्र प्रस्तुत गरिए र लामा–लामा भाषणका शृङ्खला चले, जबकि त्यहाँ सबै भारतीय वक्ताको उपस्थिति थियो । ‘बलिउड’ पछि के त ? भन्ने विषयमा थोरै चर्चा–परिचर्चा भए पनि मूलतः भारतीय मूलधारको सिनेमालाई ‘बलिउड’ शब्दले सम्बोधन किन गर्न थालियो ? र त्यसको राजनीति के हो ? भन्ने विषयमा छलफल गर्ने साहस कसैमा देखिएन ।
सिनेमाको सेतो पर्दाले साँच्चै सत्य उद्घाटित गर्थ्यो भने विश्वभर आज उसले क्रान्तिको मसाल जलाई सकेको हुन्थ्यो । तर, अहिले हामी ढुक्कले सुत्न सक्छौँ किनभने सिनेमालाई डोज पुग्ने गरी अफिम खुवाएर साङ्लामा बाँधिएको छ ।
सामान्यतः के देखिन्छ भने जब वक्तासँग खास भन्नु पर्ने कुरा केही हुँदैन वा आफूलाई मध्यमार्गी धारमा उभ्याएर अवसरको फाइदा लिनु पर्ने हुन्छ त्यति बेला उनीहरू अलिकति ‘हो, हो’ र अलिकति ‘होइन, होइन’ भनी आफ्नो वक्तव्य दिन्छन् । आजका दिन सिनेमा र टेलिभिजनमा काम गर्ने झन्डै ९० प्रतिशत व्यक्तिको स्थिति यस्तै छ ।
कलात्मक अभिव्यक्तिका जति पनि माध्यम छन्, तिनमा सिनेमा सबै भन्दा शक्तिशाली माध्यम हो । तपाईं सिनेमामा मूर्खतालाई सबै भन्दा उच्च दाममा बेच्न सक्नु हुन्छ । र, यहाँ प्रश्न उठाउँदा पनि कहिल्यै कुनै गम्भीर बहस हुँदैन । यस क्षेत्रमा काम गर्ने गन्यमान्य व्यक्ति पक्ष–विपक्ष दुबैतर्फ उपस्थित हुन्छन् र बडो इमानसाथ वा भन्नुस् बेइमानीसाथ बजारको हित रक्षामा खटिएका हुन्छन् ।
यहाँ ध्यान दिनु पर्ने विषय के छ भने हलिउड र अन्य विदेशी सिनेमाले भारतीय सिनेमा उद्योगको कुल ५ प्रतिशत राजस्व मात्रै ओगट्ने गर्छ । त्यसो भए त्यस्तो कुन आकर्षणले गर्दा हो भारतीय मनोरञ्जन प्रधान सिनेमालाई हलिउडको पछि लाग्नु पर्ने तर्क दिइन्छ ।
भारतमा प्रत्येक वर्ष झन्डै सात सयदेखि नौ सय सिनेमा निर्माण हुने गर्छन् । सङ्ख्याका आधारमा भारत सिनेमा निर्माणमा संसारकै अग्रणी स्थानमा पर्छ । युरोपमा प्रायः मानिस मलाई सोध्ने गर्छन्– विकासशील देश भएर पनि भारतमा यति धेरै सिनेमा बन्न कसरी सम्भव भयो होला ? र, त्यसको खपत कहाँ हुन्छ ? हामी विकसित देश भएर पनि वर्ष दिनमा जम्मा १०–१५ सिनेमा वा धेरै भन्दा धेरै २० वटा सिनेमा मात्र बनाउन सक्छौँ । कहाँसम्म भने अमेरिका जसको सम्पूर्ण संसारकै बजारमा कब्जा छ, जसले संसारभरका साना देशहरूको सिनेमालाई निल्दै गई रहेको छ, उसले पनि भारतले जति सिनेमा निर्माण गर्न सक्दैन किन ?
कुनै तथ्याङ्क नपस्कीकनै म भन्ने गर्छु– हाम्रो देश निकै ठुलो छ । यहाँ ७० प्रतिशत जनता गरिब छन् । भन्नलाई त हामी ‘थर्ड वर्ल्ड’ मा पर्छौँ तर हाम्रोमा त ‘फोर्थ वर्ल्ड’ र ‘फिप्थ वर्ल्ड’ पनि छ । र, त्यो थर्ड वर्ल्डमा बसोबास गर्ने धनी पुँजीपति वर्गको दृष्टिकोण ठ्याक्कै त्यस्तै छ, जस्तो पहिलो दुनियाँका अमेरिका, ब्रिटेनको अन्य दुनियाँलाई हेर्ने दृष्टिकोण छ ।
हलिउडमा मुख्यतः तीन प्रकारका सिनेमा बनाउने गरिन्छ । यी तीनै प्रकारका सिनेमा ढाँचाबद्ध फर्मुलामा बनाउने गरिन्छ र ती अमेरिकी साम्राज्यवादी नीतिलाई अघि बढाउन सहयोगी साबित हुने गरेका छन् ।
हाम्रो देशका मानिस दिनभर हाड खिइने गरी काम गर्छन् र त्यसको ५० प्रतिशत रकम त्यही साँझ त्यस्ता सिनेमा हेर्न खर्च गर्छन्, जसमा उनीहरूको आफ्नो भन्ने केही हुँदैन । यसबारे सबै भन्दा राम्रो गरी लुइस बून्युएल (स्पेनमा जन्मिएका फ्रेन्च सिनेमाकर्मी) ले भनेका छन्, ‘सिनेमाको सेतो पर्दाले साँच्चै सत्य उद्घाटित गर्थ्यो भने विश्वभर आज उसले क्रान्तिको मसाल जलाई सकेको हुन्थ्यो । तर, अहिले हामी ढुक्कले सुत्न सक्छौँ किनभने सिनेमालाई डोज पुग्ने गरी अफिम खुवाएर साङ्लामा बाँधिएको छ ।’
यस्ता सिनेमाबाट सरकारले ट्याक्स पाउँछ भने निर्माताले धन । जनता जहाँ छन्, जस्ता छन्, उनीहरू अफिम खाएर मस्त निदाई रहेका छन् । बजार र सत्ताको गठबन्धनमा यो खेल बडो लोकतान्त्रिक ढङ्गले चली रहेको छ ।
आज कुनै निर्माताले आफ्नो लागतको २०–२५ गुणा लाभ नपाउने हो भने फलानो फिल्मले आफ्नो लागत नै उठाउन सकेन त्यसैले सिङ्गो सिनेमा उद्योग नै सङ्कटमा छ भनी मिडियामा नयाँ बहस सुरु हुन थाल्छ । तर, ९५ प्रतिशत सिनेमाले आफ्नो लागत खर्च उठाई सक्छन् भन्ने निकै न्यून व्यक्तिलाई मात्र थाहा हुन्छ । उनीहरूले भने जस्तै हुन्थ्यो भने प्रत्येक वर्ष बन्ने सात सयदेखि नौ सय सिनेमाको सङ्ख्या घटेर ५०–६० हुँदैनथ्यो त ?
पत्रपत्रिकामा छापिने ‘बलिउड खतरामा छ’ जस्ता शीर्षकको सोझो अर्थ हो– पाँच करोड लागतको सिनेमाले २५ करोड कमाउनु पर्यो । त्यसका लागि तपाईँले त्यस्तो वातावरण बनाउनु पर्ने हुन्छ, जसले गर्दा सरकारलाई थोरै राजश्व बुझाउनु परोस् वा सरकारले कुनै न कुनै छुट दिन बाध्य होस । कतिले त आफू सङ्कटमा रहेको हौवा पिटेर उधारोमा काम गर्ने कलाकारले नै पैसा माग्न नसक्ने वातावरण बनाउँछन् ।
किनभने ‘ठुलो बजेट–ठुलो कमाई’ को नारा अविकसित देशमा धेरै कारगर साबित हुने गरेको छ । उदाहरणका लागि ठुलो बजेटको सिनेमा ‘देवदास’ लाई नै लिनुस् न । त्यसको बजेट ५० करोडको भनिएको थियो । कसरी र के–केमा कति खर्च भयो कसैलाई थाहा छैन । यस विपरीत ‘नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेसन’ को सिनेमाको सामान्य बजेट ५० लाख हुने गर्छ । उनीहरूको सिनेमा निर्माणमा लागेको सम्पूर्ण खर्च विवरण सार्वजनिक रूपमै हेर्न सकिन्छ ।
हलिउड सिनेमाको संरचना र विषयवस्तु साम्राज्यवादी सोच विस्तारका हतियार हुन् । होइन भने अमेरिकी राज्यसत्ता र अमेरिकी सेनाले अन्तरिक्षका शक्तिहरूमाथि पटक–पटक विजय प्राप्त गरेको देखाउनुको के अर्थ ?
सामान्य ढङ्गले भारतमा एउटा सिनेमा एक करोडमा बन्न सक्छ भने देवदासमा ५० सिनेमा सामेल छन् । मेरो तर्क के हो भने ठुला बजेटको सिनेमा निर्माणमा के कुनै युनिटका सदस्यलाई सामान्य सिनेमाको तुलनामा ५० प्रतिशत धेरै पारिश्रमिक दिइयो ?
जे होस... यो लामो भूमिका पछि, आउनुस् हलिउड–बलिउड अन्तरसम्बन्धका तानाबानालाई विस्तारमा केलाऊँ । हलिउडमा मुख्यतः तीन प्रकारका सिनेमा बनाउने गरिन्छ । यी तीनै प्रकारका सिनेमा ढाँचाबद्ध फर्मुलामा बनाउने गरिन्छ र ती अमेरिकी साम्राज्यवादी नीतिलाई अघि बढाउन सहयोगी साबित हुने गरेका छन् ।
पहिलो श्रेणीमा त्यस्ता सिनेमा पर्ने गर्छन्, जुन सामान्य या ‘बी ग्रेड’ का तीन सिनेमामध्ये एउटा हुन्छ । यस्ता सिनेमामा मनोवैज्ञानिक रोगले ग्रसित हत्यारा हुने गर्छ । उसले बिना कारण कसैको पनि हत्या गर्न सक्छ । आफ्नो जीवन घोर असुरक्षाले ग्रसित छ भन्ने एउटा औसत अमेरिकीको जीवन विश्वास हो । संसारभर तमाम नियमहरू लादेर तथा लोकतन्त्रको जामा लगाएर पनि सिङ्गो पुस्तालाई डरमा बाँच्न अभिसप्त बनाइएको छ । र, व्यक्तिलाई झनै व्यक्तिवादी तथा स्वार्थी बनाउने षडयन्त्र सिनेमाबाटै मलजल गरिँदै छ ।
दोस्रो श्रेणीमा ‘हरर’ सिनेमा पर्ने गर्छन् । यी सिनेमामा कल्पनाशीलताको ठुलो खडेरी हुने गर्छ । यस्ता सिनेमामा कुनै खुँखार जीव, प्रत्येक दुई मिनेटमा आउँछ र आगामी चार–पाँच मिनेटसम्म मानिसलाई रगताम्य बनाएर आफ्नो आतङ्क फैलाउने गर्छ । उसैले सहरका सहर भग्नावशेषमा परिणत गरिदिन्छ ।
यिनीहरूबिच तेस्रो खाले सिनेमा सबै भन्दा धेरै लोकप्रिय छ । यी सिनेमामा अमेरिकामाथि अन्य ग्रहबाट हमला भएको देखाइन्छ । अर्थात् पृथ्वीमा उनीहरूलाई चुनौती दिन सक्ने केही पनि छैन किनभने पृथ्वीमा सबै उनीहरूकै अधीनमा छन् । कसैले अलिकति पनि उनीहरूको विरोध गर्यो भने वा कसैले आफ्नो शक्ति थोरै पनि बढाउन चाह्यो भने उसलाई इराक बनाउन तयार छन् उनीहरू । शीतयुद्ध ताकाको केही सिनेमालाई बिर्सने हो भने लाग्छ अमेरिकालाई सबै भन्दा धेरै खतरा मंगल ग्रहबाट छ ।
हलिउडका सिनेमाको यति विस्तृत विवरण दिनुको अर्थ के हो भने उनीहरूको सिनेमाको संरचना र विषयवस्तु उनीहरूको साम्राज्यवादी सोच विस्तारका हतियार हुन् । होइन भने अमेरिकी राज्यसत्ता र अमेरिकी सेनाले अन्तरिक्षका शक्तिहरूमाथि पटक–पटक विजय प्राप्त गरेको देखाउनुको के अर्थ ? हलिउडका सिनेमालाई मानसपटलमा राख्दै बम्बईका हिन्दी लोकप्रिय सिनेमामाथि विचार गर्नुस्, जसका लागि ‘बलिउड’ शब्दको रचना गरियो ।
निकै सामान्यझैँ लाग्ने तर धूर्त तर्कका साथ हिन्दी सिनेमा, बजारका सबै सर्तहरू पुरा गर्छ र राज्यसत्तासँग गठजोड गरेर शुद्ध रूपमा आफ्नो मुनाफालाई दिन दुईगुना रात चौगुना बनाउँछ ।
त भन्न खोजेको के भने यहाँ पनि त्यही साम्राज्यवादी विस्तार स्पष्ट रूपमा देखिन्छ । उदाहरणका लागि यहाँका प्रायः सबै सिनेमामा उत्तर भारतीय उच्च जात र उच्च वर्गका परिवारका व्यक्तिहरूलाई मुख्य पात्रका रूपमा टिपेर ल्याइन्छ । बलिउडका सिनेमामा भारतमा बसोबास गर्ने फस्ट वर्ल्ड अर्थात् उच्च वर्ग र जातका मानिसलाई केन्द्रमा राखेर निर्माण गरिन्छ । त्यस भन्दा तलका व्यक्ति, समुदायलाई प्रदर्शित गर्न केही विशेष पात्र फर्मुलाबद्ध ढङ्गले त्यहाँ राखिन्छन् ।
उदाहरणका लागि तमिल, तमिल उच्चारणका साथ बिग्रेको हिन्दी बोल्दै हाँसो–मजाक गरेको देखाइन्छ । कुनै पात्र सरदारको हाउ–भाउ वा पन्जाबी भाषामा बोल्दै मूर्खको जस्तो व्यवहार गर्दै गरेको देखाइन्छ । कुनै मुसलमान देखाउन परे पान खाएर अनावश्यक काम गर्दै गरेको देखिन्छ । अर्को भोपाली भेटिन्छ, जो कमेडीको नाममा भद्दापनले लतपतिएको हुन्छ । अनि घरको नोकर कुनै बिहारी वा नेपाली भेटिन्छ । यी नोकरहरू सधैँ दयाका पात्रका रूपमा देखाइन्छन् ।
हिन्दी सिनेमाको सम्पूर्ण विषय संरचनामा यी मुस्लिम/भोपाली/सिख/तमिल/नेपाली/बिहारी आदि सिनेमाको गति अघि बढाउन, फ्रेमलाई ब्यालेन्स गर्न तथा नायक/नायिकासँग उभिनका लागि प्रयोग गरिएका हुन्छन् । त्यसैले यी पात्रहरूको आफ्नो कुनै अस्थित्व हुँदैन । तर, कसैले हिम्मतसाथ ती पात्रहरूलाई नयाँ नाम, आयाम र आवाज दिने प्रयास गरे भने त्यस पहललाई आर्ट सिनेमाको श्रेणीमा राखेर नजरअन्दाज गर्ने गरिएको छ ।
अर्थात् सीमान्तकृत कुनै पात्रलाई तपाईँले केन्द्रीय भूमिकामा ल्याउनु भयो भने त्यो सिनेमा नै सीमान्तकृत बन्ने डर छ । संक्षेपमा भन्दा हिन्दी सिनेमाको प्रत्येक संवाद, कथा र दृश्य पितृसत्तात्मक उच्च वर्गीय वा भारतमा बसोबास गर्ने पहिलो दुनियाँका मानिसको मूल्य मान्यतालाई पोषित गर्दै गरेको फेला पार्नु हुनेछ । उनीहरू यो सबै जनताको आवश्यकता हो भन्ने तर्कका आधारमा देखाउँदैन बरु त्यस विरुद्ध यो समाजमा जे छ हामीले त्यही देखाउनुपर्छ भन्ने तर्कका आधारमा यो सबै देखाउँछन् ।
कला भनेको सधैँ आत्मसम्मान र संवेदनशीलताबिचको सहकार्यबाट पोषित हुने गर्छ । जो बलिउडका माध्यमबाट आफूलाई गौरवान्वित महसुस गर्दै छन्, उनीहरू न त सिनेमालाई कला मान्छन्, न उनीहरूको कुनै आत्मसम्मान छ, न उनीहरू संवेदनशील छन् ।
निकै सामान्यझैँ लाग्ने तर धूर्त तर्कका साथ हिन्दी सिनेमा, बजारका सबै सर्तहरू पुरा गर्छ र राज्यसत्तासँग गठजोड गरेर शुद्ध रूपमा आफ्नो मुनाफालाई दिन दुईगुना रात चौगुना बनाउँछ ।
यसबाट के स्पष्ट हुन्छ भने बलिउड शब्दको रचना नै साम्राज्यवादलाई स्वीकार गरेर भएको हो । खासमा भारतीय साम्राज्यवादी व्यवस्थाले अमेरिकाको विश्वस्त साम्राज्यवादी व्यवस्थाबाट प्रेरणा र आश्रय लिई रहेको छ, त्यसैले मानसिक गुलामहरूले उनीहरूको दासत्व स्वीकार गर्दै हलिउडबाट बलिउडको प्रेरणा लिन कुनै लाज मानेनन् ।
यहाँ ध्यान दिनु पर्ने विषय के छ भने सन् ९० को दशकमा जति बेला भारतले खुला बजार अर्थतन्त्रलाई अङ्गाल्यो त्यति नै बेला ‘ग्लोबलाईजेशन’ (वैश्विकरण) को युग पनि सुरु भई सकेको थियो । तर, वास्तवमा यो ग्लोबलाईजेशन भारतीय साम्राज्यवादी र पश्चिमी साम्राज्यवादीबिचको गठबन्धन थियो, जसलाई ‘ग्लोबलाईजेशन’ जस्तो सुन्दर नाम दिएर तेस्रो विश्वका मानिसलाई धोका दिइएको थियो । र, त्यति बेलादेखि नै बम्बईको फिल्म उद्योगलाई ‘बलिउड’ भन्न थालिएको हो ।
तर, यसबिच धेरैले के बिर्से भने कला भनेको सधैँ आत्मसम्मान र संवेदनशीलताबिचको सहकार्यबाट पोषित हुने गर्छ । जो बलिउडका माध्यमबाट आफूलाई गौरवान्वित महसुस गर्दै छन्, उनीहरू न त सिनेमालाई कला मान्छन्, न उनीहरूको कुनै आत्मसम्मान छ, न उनीहरू संवेदनशील छन् ।
किनभने...
गुलाम भई राख्न सजिलो छ तर स्वतन्त्रता वास्तवमै कठिन संघर्षबाट हासिल हुन्छ ।
(जमालले एक दशकसम्म प्रसिद्ध डक्युमेन्ट्रीहरूको निर्माण गरेपछि सन् २००२ मा पहिलो फिचर फिल्म ‘स्वराज द लिटल रिपब्लिक’ निर्देशन गरे । हाल उनी अन्तर्राष्ट्रिय सिनेमा समारोहका लागि भारतीय सिनेमाको चयन समितिमा छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफोनमा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा
-
गाजामा रातभर इजरायली हवाई आक्रमण, दर्जनौँको मृत्यु
-
सरकारको सहयोग नपाएपछि विश्वकप खेल्न बस र रेलबाटै पाकिस्तान गयो नेपाली टोली
-
भाइले गरे ५६ वर्षीय पुरुषको हँसिया प्रहार गरी हत्या
-
गौतम अडानीलाई आजै समात्नु पर्छः राहुल गान्धी
-
‘तेल भिसा’ले कति पाउँदै देशभर सो ?