शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
व्यवसायी

होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन

मासिक एक लाखभन्दा बढी आम्दानी
आइतबार, २७ असोज २०८१, ०६ : ०८
आइतबार, २७ असोज २०८१

सुर्खेत । सानैदेखि सीताकुमारी खाम्चा पढाइमा लगनशील थिइन् । उनको एउटा सपना थियो– पढेर सरकारी जागिर खाने ।

१० कक्षामा अध्ययन गर्दागर्दै परिवारको दबाबमा उनले विवाह गर्नुपर्‍यो । सुर्खेतको लेकबेशी नगरपालिका–९, गंगटेकी सीताले सोही ठाउँका सन्तोष खाम्चासँग विवाह गरिन् ।

विवाह पश्चात् उनको पढाइ छुट्यो । उनका पति सन्तोषले स्कुल छाडिसकेका थिए । सीतालाई विवाह पश्चात् स्कुल जान लाज लाग्यो । अर्कातिर घरको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । यद्यपि सीताको मनमा जिन्दगीमा केही न केही गर्नुपर्छ भन्ने अठोट थियो ।

सोही अठोटलाई सीताले अहिले व्यवहारमा लागु मात्रै गरेकी छैनन्, व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी पनि गरेकी छन् । उनी भन्छिन्, ‘असफलता र सङ्घर्ष नै सफलताका सूत्र रहेछन् ।’

  • मासिक एक लाखभन्दा बढी आम्दानी

भैँसी पालन व्यवसायबाट अहिले महिनामा एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको सीताले सुनाइन् । उनका अनुसार दुई वर्ष अघिसम्म गोठमा जम्मा दुई वटा भैँसी थिए । ‘हामी आफ्नो खाँचो पूर्तिका लागि मात्रै परम्परागत खेती र भैँसी पाल्ने गर्थ्यौँ,’ सीताले भनिन्, ‘व्यावसायिक रूपमा कसरी अघि बढ्ने भन्ने आइडिया थिएन ।’

त्यही बेला कृषि मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले व्यावसायिक कृषि र पशुपालन सम्बन्धी साक्षरता तालिम दियो । त्यो तालिममा सिकेको कुरालाई उनले व्यवहारमा उतारिन् । अहिले उनीसँग १३ वटा भैँसी (४ पाडा, १ राँगोसहित) छन् भने तीन वटा गाई छन् ।

सीताका अनुसार ५ वटा भैँसी दुहुना छन् । खेतबारीमा घाँसपात प्रशस्तै हुने भएकाले भैँसीपालन व्यवसायलाई रोजेको उनले बताइन् ।

प्रतिदिन बिहान र साँझ गरी ३० लिटर दुध उत्पादन हुने सीता बताउँछिन् । उक्त दुध प्रतिलिटर ६३ रुपैयाँको दरले वीरेन्द्रनगर सहकारी संस्थाले सञ्चालन गरेको वीरेन्द्रनगरको दुग्ध डेरीमा बिक्री हुन्छ । ‘अहिले कुनै महिना एक लाख त कुनैमा एक लाख १० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भनिन् ।

  • मरिसकेको आशा भैँसी व्यवसायले फर्कायो

सीताकुमारी खाम्चाको परिवारलाई कुनै बेला असफलता नै असफलताले लपेटिरह्यो । सानैमा विवाह गरेकी उनको परिवार ०५८ सालतिर होटल व्यवसाय गर्ने भनेर सहर पस्यो । उनीहरूले वीरेन्द्रनगरको बसपार्क नजिकै ‘सन्तोष नास्ता पसल’ चलाए ।

सुरुवाती चरणमा राम्रै चले पनि देशमा सशस्त्र द्वन्द्वका कारण सङ्कटकाल सुरु भएपछि मान्छेको आवत–जावत घट्यो र व्यवसाय कमजोर बन्दै गयो ।

‘दिन प्रतिदिन व्यवसाय कमजोर हुँदै गयो, घरभाडा तिर्न धौधौ हुने अवस्था आयो,’ सीताले भनिन्, ‘केही नलागेपछि होटलमा भएको सामान बेचेर पुनः हामी गाउँ फर्किएका थियौँ ।’

सहरबाट गाउँ फर्केको सीताको परिवारले आफ्नै बारीमा परम्परागत खेतीपाती गरेर गुजारा चलाए । यो बिचमा उनीहरूले न व्यावसायिक रूपमा खेतीपाती गर्न सके, न त राम्रो आम्दानी । परम्परागत रूपमा गरिने खेतीपातीले वर्षभरि परिवारको हातमुख जोर्न पनि धौधौ हुन्थ्यो । पुर्खाको जमिन टन्नै भए पनि सिँचाइ अभावका कारण उत्पादन नहुने ।

यसरी कति दिन चलाउने भनेर पुनः ऋण गरी स्थानीय गंगटे बजारमा ‘लेकबेशी फेन्सी पसल’ चलाएको सीता बताउँछिन् । फेन्सी पसल केही वर्ष ठिकै चलेको थियो । त्यही बिचमा कोरोना महामारी सुरु भयो ।

pankha news 1

सरकारले लकडाउन घोषणा गर्‍यो । बजार तथा पसलहरू बन्द भए । मान्छेको आवत–जावत पूर्ण रूपमा बन्द भएपछि व्यवसाय चल्न छाड्यो । भाडामा सञ्चालन गरेको पसल बन्द हुँदा पनि घरभाडा तिर्नुपर्ने अवस्थाले सीताको परिवार फेरि ऋणमा डुब्यो । ‘त्यसपछि हामी पसल बन्द गर्नुपर्ने बाध्यतामा पुग्यौँ,’ उनले भनिन्, ‘आफूले परिवार तथा आफन्तजनसँग ऋण सापटी गरी लगानी गरेको ४ लाख रुपैयाँ पनि डुब्यो ।’

सीताको परिवार फेरि उही परम्परागत खेतीबाट छाक टार्न थाल्यो । पटक–पटक नयाँ उमङ्ग र आशा बोकेर सङ्घर्षमा लाग्दा पनि असफलता नै असफलताले लपेटिरह्यो । उनले भनिन्, ‘उमेर बढ्दै गएपछि आशा पनि मर्दै जाने रहेछ । जे गर्दा पनि सफलता नमिल्ने रहेछ भन्ने सोचाइ आउँथ्यो ।’

त्यही बेला सीता गाउँकै जनअपेक्षा सहकारी संस्थामा आबद्व भइन् । अहिले उनी त्यसको सदस्य छिन् । कृषि क्षेत्र विकास कार्यक्रमसँगको सहलगानीमा जनअपेक्षा सहकारी संस्थामार्फत व्यावसायिक भैँसी पालन व्यवसायबारे त्यहाँ तालिम दिइन्थ्यो ।

कृषि क्षेत्र विकास कार्यक्रममार्फत भकारो सुधार, घाँस काट्ने मेसिन सहयोग तथा तालिममा सहभागी भएपछि सीताले व्यावसायिक भैँसी पालन गर्ने सोच बनाइन् । त्यसअघि परम्परागत रूपमा उनले पालेका दुई भैँसी गोठमै थिए । उनले आफ्नो सोच श्रीमान् र सासु–ससुरालाई पनि सुनाइन् । लगत्तै ०७९ सालमा आफ्नै नाममा उनले सीता कृषि तथा पशुपन्छी फार्म दर्ता पनि गरिन् ।

‘मेरो त आशा मरिसकेको थियो तर सङ्घर्ष गर्न छाड्नु हुन्न रैछ,’ सीताले भनिन्, ‘म कुनै बेला सरकारी जागिर गर्ने सपना देखेको मान्छे, अहिले भैँसी पालन व्यवसायमा रमाइरहेको छु ।’

दुध बेचेकै आम्दानीले एउटा अटो किनेको उनले बताइन् । उनका श्रीमान् सन्तोषले त्यही अटो चलाएर आम्दानी गरिरहेका छन् । सन्तोषले भने, ‘अहिले त आनन्द छ नि, दिउँसो अटो चलाउँछु । बिहान–बेलुका सीतालाई सघाउँछु ।’

छोराछोरीले पनि फुर्सदमा सीतालाई सघाउँछन् । सन्तोषको अहिले ६ जनाको परिवार छ । आमा–बुबा, बुढाबुढी, दुई छोरी र एक छोरा । उनका अनुसार छोराछोरीको स्कुल खर्चदेखि घरखर्च सबै गरेर मासिक १ लाख रुपैयाँसम्म बचत हुन्छ ।

  • ६५ भैँसी पुर्‍याउने लक्ष्य

खाम्चा परिवारले भैँसी पालन व्यवसायलाई अझै बढाउने लक्ष्य राखेको छ । ‘दुःख गरेरमात्र हुने रहेनछ, आइडिया पनि जान्नु पर्ने रहेछ,’ सीता भन्छिन्, ‘व्यावसायिक पशुपालन सम्बन्धी तालिम पश्चात् नयाँ आइडिया आए । १३ भैँसीबाट ६५ पुर्‍याउने सोच बनाएको छु ।’

त्यसका लागि १५ लाख जति लगानी गरेर भइरहेको गोठलाई थप व्यवस्थित गरेर निर्माण गरिएको छ । अबको एक वर्षभित्र ६५ वटासम्म भैँसी पुर्‍याउने लक्ष्य छ सीताको । कृषि विकास बैँकबाट ५० लाख सहुलियत कृषि ऋण स्वीकृत भइसकेको पनि उनले बताइन् । पहिलो किस्ता बापत २८ लाख लगिसकेको र बाँकी प्रक्रियामै रहेको उनको भनाइ छ ।

सीताका अनुसार भैँसीका लागि घाँसको कुनै समस्या छैन । आफ्नै पुर्ख्यौली एक बिघा जमिनमा नेपियर घाँस खेती गरिएको छ । ‘घाँसखेती बाहेकको जमिनमा अन्नबाली लगाउछौँ,’ सीताले भनिन्, ‘उत्पादन पनि राम्रै हुन्छ ।’ उनका अनुसार कृषि क्षेत्र विकास कार्यक्रमको सहयोगले स्थानीय कोलखोला सिँचाइ कुलो बनेपछि उत्पादनमा पनि वृद्धि भएको छ । पहिला सिँचाइ सुविधा नहुँदा उत्पादन राम्रो थिएन । उत्पादन भएको अन्नबालीले केही महिना धान्न पनि पुग्थेन । तर अहिले घरमा खाएर पनि केही बिक्री गर्न पाइएको सीता बताउँछिन् ।

अहिले घरमै पोषण बगैँचा निर्माण गरेको सीताले बताइन् । ‘पढेर सरकारी जागिर गर्ने सपना थियो, सकिएन,’ उनले भनिन्, ‘बिचमा थुप्रै हण्डर खाइयो, निकै पीडा हुन्थ्यो । अहिले त निकै खुसी छु । अबको बाँकी समय यही पशुपालन र कृषि व्यवसायमै रमाउने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप