काठमाडौंँ । कुमार बस्नेत चर्चित लोकगायक हुन् । नेपाली लोकसङ्गीतमा उनको योगदान अतुलनीय छ । पूरै जीवन लोकगीत सङ्कलन र गायनमा बिताएका बस्नेतले ५ दशक अगाडि बजारमा ल्याएका थुप्रै गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।
लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारी लगायतका स्रष्टाले आफूलाई ‘गाउँको गीत, जस्ताको तस्तै गाउन सुझाव दिने गरेको बस्नेतले सुनाए । त्यसैले उनले ‘छोरीभन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगर्नी’ जस्ता थुप्रै गीत बनाए ।
यस्ता गीतका कारण बस्नेतलाई कतिपयले छाडा गायकको आरोप पनि लगाए । उनको गीतको चर्चा, ठेट लोकभाका र शब्दले सबै आरोपलाई फिक्का बनाइदिन्छ ।
समाजका विकृति, विसङ्गति लगायत धेरै पक्ष लोकगीत मार्फत मिठासपूर्ण तवरले बाहिर ल्याउन माहिर बस्नेतका चर्चित ६ गीतका किस्सा उनकै शब्दमा–
यो गीत २०१८/०१९ सालमा रेकर्ड भएको हो । त्यो समय रेडियो नेपालमा यो गीत दिनको १० पटकभन्दा बढी बज्थ्यो । त्यतिबेला म गायक भइसकेको थिइनँ, डान्सरमात्र थिएँ । यो गीत २००७ सालमा मैले काठमाडौँबाटै सङ्कलन गरेको थिएँ ।
त्यो समय हाम्रो परिवार दोलखाबाट आएर काठमाडौँको कमलपोखरीमा बस्थ्यो । कोकिल गुरुङ भन्ने मेरो साथी थिए । हामी दुवै भैरवबहादुर थापासँग नृत्य सिक्थ्यौँ । आमाले मलाई मकै र गहँुको सातु पिसेर खाजा पठाउनु हुन्थ्यो । कोकिल चिनी ल्याउँथेँ । कमल पोखरीमा हरेराम बाजे भन्नेको पसल थियो । हामी त्यहाँ बसेर गफ गर्दै खाजा खान्थ्यौँ ।
त्यो समय एउटा मानसिक रोगी मानिस बोराको कुम्लो बोकेर डिल्लीबजार, कमलपोखरी हिँडिरहन्थ्यो । स्थानीयले उसलाई ‘बहुला लप्टन’ भन्थे । रातको ११ बजे म कमलपोखरीतिर जाँदै थिएँ । त्यो मानिसले थाल ट्याकट्याक बजाएर गीत गाएको सुनेँ ।
उसले ‘ओई नाना, ओई नाना’ भनेर गुनगुनायो । निकै राम्रो लाग्यो । नजिकैको पसलबाट चिया, दुई वटा चुरोट किनेर उसलाई दिएँ । अनि मैले ‘गीत पनि गाउनुस् बा’ भनेँ ।
उनले पूरै गीत गाएर सुनाए । मलाई त्यो एकदमै आकर्षक लाग्यो । उनले गाउँदै गर्दा सुटुक्क कागज झिकेर सारेँ ।
केही समयपछि एक कार्यक्रमको सिलसिलामा नाचघरमा गायिका गंगा राणा दिदीसँग भेटभयो । मैले त्यो गीत देखाएँ । उहाँले दुई जानाले गाउने भनेपछि केटा र केटीको भर्सनमा त्यही बनाएँ । गीत बाहिर आएपछि सुपरहिट भयो । त्यतिबेला सीपी लोहनीले माला सिन्हासँग प्रेम गर्दा यही गीत गाएको भनिन्थ्यो । यो गीत अहिले लण्डनको म्युजियममा पनि छ रे ।
२०२२ सालमा राजा महेन्द्र दिल्ली जाँदा भ्रमण टोलीमा म पनि छानिएँ । त्यो समय दिल्लीमा जवाहरलाल नेहरुको अगाडि पनि मैले गाएको थिएँ । नेहरुले अँगालो हालेर धाप मार्दै भने, ‘बेटा ! अच्छा करते रहो ।’
२०४८ सालमा यो गीत म्युजिक नेपालमा रेकर्ड भएको हो । त्यो समय म साथीहरूसँग चरौंदी खोलामा माछा मारेर काठमाडाँै फर्किदै थिएँ । मोटरसाइकलमा फर्किदै गरेका हामीले मलेखुभन्दा अलि माथि बाटोको छेउको एक घरमा पञ्चेबाजासहित जन्ती भेट्यौँ । हामी मोटरसाइकल रोकेर बाजा सुन्न थाल्यौँ । त्यो समय म अलिअलि गायकको रुपमा चिनिन्थेँ ।
विवाह घरका केही केटाले मलाई चिने । अनि कर गरेर घरमा लगे । साँझको ४/५ बजेको समय थियो । विवाहमा आउने र जानेको भिड । एक महिला शृङ्गारपटार गरेर निकै राम्री भएर आएकी थिइन् । तिनलाई देखेर त्यहाँको एउटा केटाले प्याच्च भन्यो, ‘ओहो ! कति शृङ्गारिएको ? छोरीभन्दा आमा तरुनीजस्तो भएर आएकी ।’
त्यो भाइले गज्जबको शब्द निकाल्यो भन्ने लाग्यो । त्यो भाइलाई शब्दहरू कलेक्सन गर्न जिम्मा लगाएर म काठमाडौंँ फर्किएँ । काठमाडौँ आएपछि ती शब्द मनमा खेलिरह्यो । छोरीभन्दा आमा तरुनी के गर्दा हुन्छ भनेर सोच्न थालेँ । विभिन्न व्यक्तिसँग कुरा गरेँ । धेरै व्यक्तिबाट पाएको प्रतिक्रियाको सेट मिलाएर गीत पूरा गरेँ । गीत रेकर्ड भयो, छिटै चर्चित भयो ।
महिलालाई नराम्रो भनियो भनेर ठाउँठाउँमा गीत बन्द गर्न जुलुस निस्कियो । पुरुषहरू पनि रोक्नुहुन्न भन्दै सडकमा आए । यसले मलाई चर्चित बनायो । गीतको विषयमा तत्कालीन मन्त्रीकहाँ जुलुुस पुग्यो ।
२०४९ सालको चुनावमा कर्मचारीको हिसाबले म धनकुटा पुगेको थिएँ । त्यहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुको सम्बोधन थियो । त्यो कार्यक्रममा मैले यो गीत गाएँ । नगाउन धम्की पनि आयो । त्यो विषय स्टेजबाट सुनाएँ । गीत कसैप्रति लक्षित छैन भनेर स्पष्ट परेँ । त्यसपछि फेरि रेडियो नेपालमा यो गीत बज्न थाल्यो । अहिले लाग्छ, त्यो समय भिडियो बनाउन पाएको भए विवाद हुँदैन थियो ।
२०५२/०५३ तिरको हो यो गीत । गीतको शब्द तथा लय जंगबहादुर गन्धर्वको हो । जंगबहादुर एकपटक दाङ गएका थिए । त्यहाँबाट फर्किर आउँदा उनले मलाई यो गीत दिए । पहिले गीत विवादमा पर्छ कि भन्ने सोचँे ।
त्यो समय डल्ली, पुड्की, भुन्टी भनेर सम्बोधन गर्ने चलन थियो । गीतमा मगर भाइले प्रेम गरेर आफ्नो प्रेमिकालाई डल्ली मगर्नी भनेर सम्बोधन गरेर फकाएको पाएँ ।
गायक राम थापा पनि मगर समुदायको भएकाले मैले पहिला उहाँलाई देखाए । राम थापाले पनि गाउँदा हुन्छ भनेपछि म अघि बढेँ । नेपाल एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् । पर्यासी, गर्यासी भन्ने जस्ता भाषा उनले बोल्थेँ । त्यो भाषा पनि हालेर गीत रेकर्ड गरेँ । गीत बाहिर आएपछि मगर्नीलाई डल्ली भन्यो भनेर धेरै गाली खाएँ । त्यो समय गीतलाई राजनीतिकरण समेत गरियो ।
दाङको एक प्रोफेसर (जसको नाम मैले बिर्सिएँ)ले भने, ‘कुमार दाइ ! तपाईलाई गीतको कारणले धेरै गाली गरिरहेका छन् । मैले सहन सकिरहेको छैन । गीत १५ पटक सुनेँ, कसैलाई गाली गरेकोजस्तो लागेन ।’
गीत दिने जंगबहादुर गन्धर्वले पनि धेरै गाली खाएँ । कतिले त उनलाई भनेछन्, ‘यस्तो गीत किन सिकाइस् ?’
त्यो गीतमा माया प्रेम थियो । नबुझ्नेले गाली गरे ।
एकपटक पूर्वअर्थमन्त्री वर्षमान पुनले जिरीमा भेट हँुदा यो गीत गाउँदा मैले खाएको गालीको विषयमा दुःख लागेको बताउनुभयो । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले पनि गीतको चर्चा गर्नुभयो । यो गीत अहिले पनि पपुलर छ ।
२०२३ सालतिरको गीत हो यो । यो गीत र ‘लैबरी लै’ मैले सँंगसँगै रेकर्ड गरेको थिएँ । यो गीत मैले सिकार खेल्न जाँदा धादिङको गल्छीबाट टिपेर ल्याएको हो ।
२०२२ सालतिर साथीहरूसँग हामी काठमाडौँ फर्किंदै थियौँ । त्यहाँ एउटा मानिस आफ्नो बन्दुकको तलपट्टीको काठ भाँचिएर फेर्दैरहेछ । त्यो समय बन्दुक बनाउनु गैरकानुनी थियो । हामी ४/५ जना भएकाले हामीलाई देख्ने बित्तिकै ती मानिस आत्तिए ।
ऊ डराएको देखेपछि हामीले पुलिस होइन भनेर सान्त्वना दियौँ । त्यो मानिस बल्ल ढुक्क भयो । पछि उसकै घरमा हामीले कुखुरा, मदिरा किन्यौँ । त्यहीँ बस्यौँ । त्यो मानिस बच्चा काखमा लिएर मादल बजाउन थाल्यो ।
बच्चाहरूले गाउन थाले– ‘तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते ।’
मलाई यो शब्द राम्रो लाग्यो । गीतको बोल त्यहाँबाट टिपेर ल्याएँ । जीवनका विभिन्न भोगाइ उतारेर गीत पूरा गरेँ । गीत गाएपछि छिटै पपुलर भयो । त्यो समय ‘कुमार बस्नेतले खाली छाडा गीत गाउँछ’ भनेर मलाई आरोप लाग्यो । मैले भनेँ, ‘घरमा बसेर बनाएको होइन, कतैबाट ल्याएको हो ।’
नेपालको धेरै बिक्री भएको गीतमा यो पर्छ ।
यो गीत मैले २०१७/०१८ सालमै बनाएको हो । यो गीतको पृष्ठभूमि एकदमै तगडा छ । यो गीतले राणा शासनको समयको कथा बोलेको छ । त्यो समय राणाहरूले काठमाण्डुकी नेवार्नी, रुम्जाटारे गुरुङ, थाकखोलाकी थकाल्नी, हेलम्बुकी शेर्पिनी र सिन्धुपाल्चोककी तामाङनीमा राम्रा छानेर दरबारमा सुसारे, धाईआमा लगायत राख्ने चलन रहेछ ।
त्यही विषयमा जानकारी दिँदै एउटाले मलाई यो गीत सिकाएको थियो । मैले यो गीतमा जुनजुन ठाउँका महिलाको कुरा गरेँ, त्यहाँको जातको भन्दा पनि सुन्दरताको प्रसङ्गमा गीत बनेको थियो ।
गीत २०२०/०२२ तिर एकदमै पपुलर भयो । रेडियो नेपालमा समेत यो गीत दिनमै २० पटकसम्म बज्थ्यो ।
त्यो समय एकपटक म दैलेखबाट काठमाडौँ फर्किदै गर्दा सुर्खेत पुगेँ । राजा वीरेन्द्र र रानी ऐश्वर्या सुर्खेतमा हुँनुहँुदो रहेछ । भेटमा भन्नु भयो, ‘कुमार ! गीत गाउँ न ।’
मैले यो गीत गाएको थिएँ । उहाँहरू दुवै जना नाच्नु भएको थियो । अहिले भए यो गीत गाउन कहाँ पाइन्थ्यो !
एकदमै तगडा राष्ट्रप्रेम गीत लाग्छ मलाई यो । नेपालीहरूले सम्झिदैन, बुझ्दैन भने के गर्ने ? त्यस्तै २०१७/०१८ तिर होला । जाउलाखेलमा युवक संगठनको कार्यक्रम थियो । युवक संगठनका एक नेताले कार्यक्रममा ‘हेर्दा राम्रो फेवाताल’ गीत गाएका थिए ।
त्यो गीतका विषयमा जापानको एनएचके टेलिभिजन रिसर्चका लागि नेपाल आएको थियो । कसैले मलाई थाहा छ भनेर भनिदिएछन् । रिसर्चका लागि उनीहरूलाई लिएर म पोखरा पुगेँ । पोखरामा त्यो टेलिभिजनले नेपालका गीतहरूको बारेमा रिसर्च थाल्यो । त्यो क्रममा पोखराका गाइनेहरू भेला गरेर एउटा गीत गाउँ भन्दै पैसा दिन थाल्यौँ ।
त्यो समय बुद्धि परियार आएर रेडियोबाट बज्ने मेरो गीत गाउन थाल्यो । हामीले यस्तो गीत खोजेको होइन । मैले उसलाई भनेँ, ‘यस्तो होइन, गाउँको गीत खोजेको ।’
त्यसपछि उनले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गीत गाए । त्यो एकदमै मनपर्यो । मैले सोधेँ, ‘म गाउँछु हुन्छ ? ।’
त्यो गीत यसको हो कि हैन भनेर जाँच्नका लागि भनेँ, ‘लेखेर देऊ ।’
उसले लेखेर दियो । मैले गाएपछि गीत विवादमा पर्यो । यो गीतको दमाई भन्ने शब्द विवादित भयो । यो गीत रि–रेकर्डमा भने त्यो शब्द झिकँेको छु । गीतमा तिमीहरू जस्तो ठग, काम नलाग्ने हो र, हामी दमाई एउटा सियो बोकेर परिवारको ज्यान पालेर हिँड्छौँ भनेको छ । मानिसहरुले बुझ्दै नबुझी विवाद गरे । यो गीत जापानमा आयोजित सन् १९७० को एक्स्पोमा नेपालबाट छानिएको थियो ।
प्रतिक्रिया