आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय
पर्यटन

नेपालीको आकर्षणमा किन छैन खुम्बु क्षेत्रको पदयात्रा ?

विदेशीको पहिलो रोजाइको सगरमाथा क्षेत्रमा जानै चाहँदैनन् नेपाली, स्वदेशीको ८० प्रतिशत हिस्सा अन्नपूर्णमा
शनिबार, २६ असोज २०८१, १८ : १५
शनिबार, २६ असोज २०८१

काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको सबैभन्दा पहिलो रोजाइ हो खुम्बु क्षेत्र । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको उक्त क्षेत्रसम्म पुग्नु र हिमाललाई आफ्नै आँखाले प्रत्यक्ष रुपमा नियाल्नु उनीहरूको एउटा ठूलो सपना हुन्छ । त्यसैले नेपालमा ट्रेकिङ गर्न आउनेमध्ये करिब ४० प्रतिशत मानिस खुम्बु क्षेत्रतिरै लाग्ने प्रवृत्ति रहेको व्यवसायीहरू बताउँछन् । 

सगरमाथा क्षेत्र अन्तर्गत ६ वटा ट्रेल (रुट) का लागि ट्रेकिङ एजेन्सीहरुले प्याकेज बेच्दै आएका छन् । यसका लागि कम्तीमा ५ दिनदेखि बढीमा १९ दिनसम्म लाग्ने गरेको ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष नवराज दाहालको भनाइ छ । 

  • यस्तो छ खुम्बु क्षेत्रको छवटा ट्रेकिङ ट्रेल

खुम्बु क्षेत्रको छवटा ट्रेकिङ गन्तव्यमध्ये पहिलो र सबैभन्दा छोटो ट्रेल काठमाडौंबाट लुक्ला, नाम्चेबजार हुँदै एभरेष्ट भ्युसम्म पुगेर फर्किनेगरी बनाइएको छ । यो प्याकेज अन्तर्गत लुक्लाबाट फाक्डिङ हुँदै नाम्चेबजार र त्योभन्दा माथि यो ३८८० मिटरको उचाइमा रहेको ‘एभरेष्ट भ्यु’सम्म पुगिन्छ । विश्वकै सबैभन्दा माथिल्लो उचाइमा रहेको सो क्षेत्रबाट सगरमाथालाई नियाल्नु नै यो ट्रेकिङको अन्तिम गन्तव्य हो, त्यसपछि यहाँबाट फर्किने क्रम सुरु हुन्छ । यसका लागि पाँच दिनको समय लाग्ने व्यवसायी बताउँछन् । 

Khumbu-Trek-Map

दोस्रो ट्रेलअन्तर्गत लुक्ला हुँदै सगरमाथा आधारशिविरसम्म पुगिन्छ । यो विदेशी पर्यटकको लागि नेपालकै सबैभन्दा प्रचलित ट्रेकिङ ट्रेल समेत हो । नाम्चे बजारबाट पूर्वोत्तर लागेपछि सान्सा, दिङ्बोचे, लुबोचे हुँदै गोर्सेपसम्म पुगिन्छ । त्यहाँबाट  छुट्छाछुट्टै बाटो हुँदै कालापत्थर र सगरमाथा आधार शिविरसम्म पुग्ने गरिन्छ । त्यसमध्ये कालापत्थर ट्रेकिङमा जाने पर्यटक पुग्न पाउने सबैभन्दा उचाइको विन्दु हो, जहाँ नेपालले मन्त्रिपरिषद् बैठकको आयोजना गरेर जलवायु परिवर्तनमाथिको नियन्त्रणका लागि विश्वको ध्यानाकर्षण समेत गराएको थियो । योभन्दा माथिल्लो विन्दुमा पुग्नको लागि भने हिमाल आरोहणको अनुमति चाहिन्छ । यो ट्रेकिङ ट्रेल पूरा गर्न १३ दिनको समय लाग्ने बताइन्छ । 

त्यस्तै, तेस्रो ट्रेल अन्तर्गत लुक्लाबाट नाम्चेबजार हुँदै ‘एभरेष्ट भ्यु’सम्म पुगिन्छ । त्यहाँबाट सगरमाथा नियालेपछि भने नाम्चेबजारमै फर्किएर उत्तरपश्चिम दिशामा रहेको ४८०० मिटर उचाइमा पर्ने गोक्यो तालसम्मको यात्रा तय हुन्छ । नाम्चेबाट गोक्यो हिमालको आधार शिविर मानिने गोक्यो तालसम्म पुगेर फर्किन ६ दिनको समय लाग्छ । काठमाडौंबाट यो यात्रा पूरा गर्न भने १३ दिनकै समय लाग्ने टे«ेकिङ एजेन्सीका सञ्चालकहरु बताउँछन् ।    

अर्को महत्वपूर्ण ट्रेल भनेको थ्रि—पासेस् हो जुन खुम्बु क्षेत्रको सबैभन्दा लामो ट्रेकिङ गन्तव्य समेत हो । यस अन्तर्गत खुम्बु क्षेत्रका तीनवटा पासहरू कोङमा–ला, चो–ला र रेञ्जो–लासम्म पुगिन्छ । सगरमाथा आधारशिविर, कालापत्थरदेखि र गोक्यो हिमालको आधार शिविरसम्म पुगिने भएकोले पर्याप्त समय र धेरै खर्च गर्ने क्षमता भएकाहरूले यो ट्रेल प्याकेज रोज्ने गरेका छन् । यसका लागि करिब १९ दिनको समय व्यवसायी बताउँछन् ।  

पाँचौं ट्रेल भने लुक्लाको सट्टा फाप्लु विमानस्थल हुँदै सुरु हुन्छ । त्यहाँबाट नुन्थला, खरिखोला करे–ला पास हुँदै नाम्चेबजार पुग्न मात्रै झण्डै पाँच दिनको समय लाग्छ । नाम्चेबाट दोस्रो ट्रेलकै बाटो भएर एभरेष्ट बेसक्याम्प, कालापत्थर पुगिन्छ । त्यहाँबाट ्नाम्चेबजार, लुक्ला विमानस्थल हुँदै काठमाडौं फर्किनेगरी प्याकेज बनाइएको छ । यसका लागि करिब १६ दिन लाग्ने व्यवसायी बताउँछन् । यो ट्रेलमार्फत् पूर्व क्षेत्रका करे–ला लगायत क्षेत्र समेटिने भएको र लुक्लाबाट एभरेष्ट बेसक्याम्पका अधिकांश भाग समेत गाइने भएकोले यो रुट पनि विदेशीको रोजाइमा पर्ने गर्छ । तर, यसका लागि समय भने केही धेरै लाग्छ, यो गन्तव्यका लागि १६ दिनको समय चाहिने व्यवसायी बताउँछन् ।  

mount-amadablam

छैटौै तथा अन्तिम ट्रेल भने दोलखाको चरिकोटबाट सुरु हुन्छ । त्यहाँबाट सिमिगाउँ हुँदै गौरीशंकर हिमालको आधार शिविर मानिने केलेची पुगिन्छ । त्यहाँबाट ना–गाउँ, थेङ्पो हुँदै नाम्चेबजार जाने बाटो छ । नाम्चेबजारबाट फाक्डिङ हुँदै लुक्ला झरेर उडानमार्फत् काठमाडौं फर्किनेगरी यात्राको तयारी गरिएको हुन्छ । रोवाल्बिङ खुम्बु ट्रेकिङ ट्रेल भनेर चिनिने यो रुटका लागि करिब १४ दिनको समय लाग्छ, यद्यपि यो रुटले सगरमाथा र गोक्यो हिमाल दुवैको कुनै पनि क्षेत्र छुँदैन । 

  • खुम्बु क्षेत्र : नेपालीको पहुँच न आकर्षण

सगरमाथा क्षेत्र अन्तर्गत पर्ने यो ट्रेकिङ गन्तव्य विदेशीका लागि सबैभन्दा आकर्षणको केन्द्र भए पनि नेपालीको आकर्षणमा छैन । कहिलेकाहीँ भने आकर्षण भएर पनि पुहँचबाट टाढा हुँदा यी क्षेत्र नेपालीको रोजाइमा पर्ने गरेको छैन । त्यही कारणले अहिले खुम्बु क्षेत्रमा पदयात्राको लागि जानेमध्ये नेपालीको संख्या मुस्किलले पाँच प्रतिशत मात्रै हुने गरेको टानका उपाध्यक्ष विष्णु लम्सालको भनाइ छ । यो पनि पछिल्ला केही वर्षमा नेपालीको संख्या बढ्दा देखिएको परिदृश्य हो । 

यो क्षेत्रमा नेपालीको रोजाइ र आकर्षण नहुनुमा विविध कारण छन् । टानका पूर्व अध्यक्ष दाहाल यसमा ट्रेकिङको औसत समय, लचकता, जोखिम, खानपान वा बसाइँको लागत, हवाइ भाडा लगायत रहेको बताउँछन् । 

खासगरी, सगरमाथा क्षेत्रको ट्रेकिङमा जानेले राम्रोसँग घुम्ने हो भने २० दिनको समय छुट्याउनैपर्छ, एउटा प्याकेजमा घुम्ने हो भने पनि १२–१३ दिन त चाहिन्छ नै । तर, पेशा, व्यवसाय वा रोजगारीमा रहेका नेपालीका लागि यति लामो समय छुट्याउनु असम्भवप्रायः देखिन्छ । दशैं तिहार जस्ता चाडवाड बाहेक छुट्टी नै मिल्दैन । यो बेलामा पनि यति लामो समय मिलाउन गाह्रो हुन्छ, त्यसैले यो रुटमा नेपालीहरु अक्सर जाने गरेका छैनन् । समय छोट्याउन परे अनिवार्य रुपमा हेलिकोप्टरको मगाउनुपर्छ जुन छोइनसक्नु छ । 

mount-nuptse-everest

खुम्बु क्षेत्र समाान्य रुपमा लाग्ने लागतको हिसाबले समेत महँगो छ । यो क्षेत्रमा अहिले पनि पर्याप्त मोटरबाटो छैन । त्यसैले अधिकांश सामान हवाइजहाजबाट वा खच्चडलाई बोकाएर लैजानुपर्छ । त्यसैले यो क्षेत्र तुलनात्मक रुपमा महँगो स्वभाविक छ, त्यसमाथि यहाँका सीमित व्यापारीको सिन्डिकेटले मनलाग्दी मुल्य लिने गरिएको छ । यस्तो मूल्यबाट ट्रेकिङ एजेन्ट र गाइडहरू समेत हैरान छन्, सरकारी निकाय यो क्षेत्रमा पुग्न सकेको छैन ।

त्यसो त, काठमाडौंबाट लुम्लासम्म पुग्न र त्यहाँबाट फर्किन लाग्ने हवाइ भाडा नै महँगो छ । नेपालीले नै यसका लागि करिब १६ हजार तिर्नुपर्छ । यो क्षेत्रमा जान जहाजमा लाग्ने खर्चले अन्नपूर्ण, लाङटाङदेखि अन्य क्षेत्रमा ४–५ दिनको पदयात्रा गरेर फर्किन पुग्ने व्यवसायीको अनुभव छ । त्यसो त, विदेशीसँग महँगो शुल्क लिन पाउने र स्वदेशीले धेरै नतिर्ने कारणले हवाइ जहाजदेखि पथ प्रदर्शक समेतको रोजाइमा नेपाली पर्दैनन् । होटल व्यवसायीले पनि नेपालीलाई त्यति रुचाउँदैनन् । यसले गर्दा पनि नेपालीको उपस्थिति यो क्षेत्रमा कम देखिन्छ । 

  • नेपालीको पहिलो ट्रेकिङ गन्तव्य अन्नपूर्ण क्षेत्र

अहिले एक दिनभन्दा लामो स्वदेशी पदयात्राका लागि अन्नपूर्ण क्षेत्र निर्विकल्पजस्तै छ । टानका पूर्व अध्यक्ष दाहाल यो क्षेत्रमा मात्रै यस्ता ८० प्रतिशत पदयात्री जान्छन् । सगरमाथा क्षेत्रका समस्याहरुमा अन्नपूर्ण लचिलो रहेको कारण यो क्षेत्र पहिलो रोजाइमा परेको हुनसक्ने उनी बताउँछन् । 

दाहालका अनुसार खासगरी माथिल्लो क्षेत्रसम्म सडक पूर्वाधार पुगिसकेकोले आफ्नो समय अनुसार ट्रेकिङको समय निर्धारण गर्नसक्ने अवस्था यो क्षेत्रमा छ ।  ‘अन्नपूर्ण क्षेत्रमा ४–५ दिनदेखि २०–२१ दिनसम्मको ट्रेकिङ गर्न सकिन्छ, त्यो अवस्था खुम्बु क्षेत्रमा छैन,’ दाहाल भन्छन्, ‘त्यही कारण यो रुट नेपालीको सबैभन्दा रोजाइको गन्तव्य बनेको छ । एकदिनभन्दा लामो ट्रेकिङ गर्नेमध्ये ८० प्रतिशत नेपाली यही क्षेत्रमा आउने गरेका छन् ।’

यो क्षेत्रको खाना र आवासको लागत समेत तुलनात्मक रुपमा सस्तो छ । मात्रै मनाङको माथिल्लो क्षेत्रदेखि अपर मुस्ताङसम्म सडक पुगेकोले त्यहाँसम्म व्यक्तिगत सवारीसाधन समेत लैजान सकिन्छ । त्यसैले यी क्षेत्रमा खान बस्न सस्तो भएको हो । खुम्बु क्षेत्रजस्तो यहाँ धेरै सिन्डिकेटको अवस्था पनि नभएको व्यवसायीको अनुभव छ ।    

यो क्षेत्र रोजाइमा पर्नुको अर्को महत्वपूर्ण कारण हो मरुभूमि । पानी निकै कम पर्ने हिमालपारीका मनाङ र मुस्ताङ अन्नपूर्ण सर्किट अन्तर्गत नै पर्छ । पहाडी र तराई मूलमा बसेका नेपालीलाई यो क्षेत्रमा नयाँ अनुभव समेत हुने गरेको छ । त्यसो त, ८० प्रतिशत हिन्दु रहेका नेपालीको महत्वपूर्ण तीर्थस्थल मानिने मुक्तिनाथ समेत यही क्षेत्रमा भएका कारणले धार्मिक महत्वका हिसाबले समेत यो क्षेत्र भ्रमण गर्नेको संख्या अधिक छ जबकी सगरमाथा क्षेत्रमा यस्ता कुनै पनि तीर्थस्थल नभएकोले त्यस्ता पर्यटकलाई खिच्न सकेको छैन । 

यीनै कारणहरु हाबी हुँदा अन्नपूर्ण क्षेत्र विदेशीको लागि समेत दोस्रो प्रमुख गन्तव्य बनेको छ । पदयात्राका लागि आउने विदेशी पर्यटकमध्ये यो क्षेत्रले १५ देखि २० प्रतिशत हिस्सा ओगट्ने गरेको टानका पूर्व अध्यक्ष दाहालको भनाइ छ । त्यस्तै, लाङटाङ सर्किटले १० देखि १२ प्रतिशत तथा बाँकी सबै गन्तव्यले ३० देखि ३५ प्रतिशत हिस्सा ओगट्ने गरेको उनको अनुभव छ । अहिले अन्नपूर्ण क्षेत्र अन्तर्गत सातवटा ट्रेकिङ रुट महत्ववूर्ण छन् । 

  • कुन ट्रेकिङ सर्किटमा कति छन् रुट ? 

खुम्बु र अन्नपूर्ण क्षेत्र अन्तर्गतको बारेमा त माथि चर्चा भइसकेकै छ । अन्नपूर्ण सर्किटको विकल्पको रुपमा रहेको गोरखाको मनासलु क्षेत्रमा तीनवटा रुट रहेका छन् । गोरखाकै चुङभ्याली पुग्ने दुईवटा रुट छन् । त्यस्तै, डोल्पाको डोल्पो क्षेत्रमा तीनवटा रुट रहेको बताइन्छ ।

त्यस्तै, ताप्लेजुङको कञ्चनजंघा सर्किटमा तीनवटा, संखुवासभाको मकालु सर्किटमा चारवटा, मुगुको रारा ताल क्षेत्रमा तीनवटा, सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा चारवटा रुट छन् । हिमाललाई नछुने संखुुवासभा र भोजपुरको मुन्धुम पदमार्ग समेत पछिल्लो समय पहिचान भएको महत्वपूर्ण पदमार्गको रुपमा चिनिन्छ । यो क्षेत्रमा समेत सातवटा रुटमार्फत् पदयात्रा गर्न सकिन्छ । खप्तड राष्ट्रिय निकुञ्जका पाटनलाई जोड्न पाँचवटा रुट सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप