आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय
चित्रकला

भारतीय चेली रुबी यसरी जमिन् मिथिला चित्रकलामा

शनिबार, २६ असोज २०८१, १७ : ००
शनिबार, २६ असोज २०८१

काठमाडौँ । घर–आँगन तथा भित्तामा आमा, हजुरआमाले बनाउने चित्र हेरेर त्यसप्रति आकर्षित भएका रुबी कर्णले एक दिन यही चित्रकला आफ्नो पेसा बन्छ भन्ने सोचेकै थिइनन् ।

आमाबुवाको सोच पनि उनका बारेमा सीमित थियो । छोरीले राम्रो शिक्षा प्राप्त गरेपछि राम्रो दुलहा पाउँछे भन्नेसम्म उनीहरूले सोचेका थिए ।

तर आफ्नो चाहना, रुचि र निरन्तरको लगनशीलताले रुबिलाई सफल चित्रकार बनायो । उनको चित्रकलाको मुख्य थिम भगवान् भए पनि त्यसमा विद्रोह र आस्था दुवै लुकेको भेटिन्छ । हालसम्म दर्जनौँ प्रदर्शनीमा भाग लिइसकेकी रुबी कर्णलाई चित्रकलाको सोख सानैदेखि थियो । अहिले उनले त्यसलाई पेसा बनाइसकेकी छन् ।

चित्रकार रुबी कर्ण गृहिणी हुन् । त्यसबाट बचेको समय उनले चित्रकलामा लगाएकी छन् । बीए तहको अध्ययन सकेर भारत, विहारको मधुवनीमा मिथिला चित्रकलाको तालिम लिएकी उनले तालिमकै क्रममा चित्रकलालाई नै आफ्नो मुख्य पेसा बनाउने सोच बनाइसकेकी थिइन् । घर परिवारले चित्रकलाका लागि सुरुवातमा अनुमति नदिएपछि लुकीछिपी आफूले विभिन्न चित्र कोर्ने गरेको उनले सुनाइन् । उनी भन्छिन्, ‘सानैदेखि घरमा आमा तथा हजुरआमाले भित्ता तथा आँगनमा चित्र कोरेको देखेर नै त्यसतर्फ मेरो रुचि बढेको थियो । मै त्यसमा आफूलाई कसरी विलिन गरेँ भन्ने मलाई पनि थाहा भएन ।’

बिहे भएपछि चित्रकलाको कामबाट बिदा नै लिएकोजस्तो भएको रुबीको भनाइ छ । बिस्तारै फेरि चित्रकलामा आफूलाई समर्पित गर्दै आज मिथिला चित्रकलाको क्षेत्रमा केही गर्न पाएको उनी बताउँछिन् ।

  • आमाबुवाको रोकावट

चित्रकलामा रुचि लिन थालेपछि आमा–बुवाले उनलाई बेलाबेलामा रोक्ने प्रयास गरेका थिए । तर परिवारमा विद्रोह गरेरै उनले चित्रकलाको क्षेत्रमा आफूलाई क्रियाशील बनाउँदै लगिन् ।

‘मैले भारतको मधुवनीमा अर्चना दासबाट मिथिला चित्रकलाको तालिम लिएँ । त्यो कुरा मेरो आमाबुवालाई मन परेको थिएन,’ उनले भनिन्, ‘एक प्रकारले घरमा विद्रोह गरेर निस्केर दिदीको घरमा बसेर तालिम लिएको थिएँ ।’

बिहे भएपछि श्रीमानले साथ दिएपछि सफलता नै सफलता हात लाग्यो उनलाई । ‘मिथिला चित्रकलामा अझै धेरै गर्न बाँकी छ,’ उनले भनिन् ।

सन् २००५ मा ब्याचलर तहको अध्ययन सकेर सरकारी जागिर खाने तयारीस्वरुप विहारको राजधानी पटनामा गएर एक वर्ष अङ्ग्रेजी भाषा पनि सिकिन् रुबीले । अङ्ग्रेजी भाषाको कोर्स सकाएपछि उनले मधुवनी फर्केर ब्युटिसियन तालिम पनि लिइन् । ६ महिनाको ब्युटिसियन तालिम लिएपछि उनले फेरि पटना पुगेर मिथिला चित्रकलाको तालिम लिइन् ।

त्यसो त सरकारी जागिरका लागि उनले प्रयास पनि गरिन् । सरकारी जागिरे हुन पाएको भए सायद उनी चित्रकलामा आउने थिइनन् । तर विभिन्न पदमा परीक्षा दिए पनि उनी सफल भइनन् ।

जागिरको सम्भावना देख्न छाडेपछि विकल्पका रूपमा रुबीले ब्युटिसियन तालिम लिएकी थिइन् । यतिबेला पनि उनले मिथिला चित्रकलालाई भने छाडेकी थिइनन् ।

जागिर नपाउने लगभग निश्चित भएपछि रुबीले ब्युटीपार्लर खोल्ने र त्यसमा मिथिला चित्रकला पनि समावेश गर्ने सोच बनाएकी थिइन् । दुवै पेसा सौन्दर्य र कलासँग सम्बन्धित भएका कारणले नयाँ ढंगबाट अगाडि बढ्ने सोच थियो उनको ।

तर त्यतिबेला नै उनको बिहेको कुरा घरमा सुरु भएको थियो । बिहेको कुरा चले पनि आफ्नो पेसामा खासै असर नपर्ने भन्दै रुबीले आफ्नो तयारीलाई निरन्तरता दिइरहिन् । सन् २००९ मा मिथिला पेन्टिङको तालिम लिएर आफ्नो व्यवसाय सञ्चालन गर्ने सोच बनाइरहेको बेला सन् २०१० मा सप्तरी राजविराजका शरदचन्द्र कर्णसँग उनको विहे भयो ।

  • बिहेपछि कलामा ब्रेक

बिहेपछि रुबी कर्णको त्यो सोचमा ब्रेक लाग्यो । बिहेपछि उनी राजविराजमा पाँच दिनमात्र बसिन् । त्यसपछि श्रीमान शरदचन्द्रसँग उनी काठमाडौँ आइन् । जोरपाटीमा शरदचन्द्रको आफ्नै घर छ । रुबी त्यही घरमा बस्न थालिन् । नयाँ दुलहीको रूपमा उनको समय घरमै बित्न थाल्यो । लालनपालन, पढाइ भारतमा भएको कारण रुबीलाई काठमाडौँमा गाह्रो भइरहेको थियो । उनलाई सबैभन्दा बढी समस्या भाषाको थियो ।

रुबीका श्रीमान् शरदचन्द्र जागिरे भएका कारण उनका पहाडीमूलका साथी पनि बिहेको बधाइ तथा शुभकामना दिन घरमै आउँथे । रुबीलाई भाषाको समस्याकै कारण यसरी घरमा कोही नआइदियोस् जस्तो लाग्थ्यो ।

उनले भनिन्, ‘बिहे गरेर काठमाडौँ आएपछि केही दिन मेरालागि निकै गाह्रो भयो । श्रीमानसँग घुम्न जाँदा भाषाका कारण असजिलो महसुस हुन्थ्यो । उहाँका साथीहरू आउँदा पनि बोल्न अप्ठ्यारो हुन्थ्यो ।’

अधिकांश समय घरमै बित्ने गरेकाले रुबीलाई अब जीवन समाप्त भयो भन्नेजस्तो लाग्थ्यो । उनले भनिन्, ‘दुईतीन वर्ष मैले एउटा दुलहीको रूपमा घरमा समय काटेँ । यति पढे पनि, विभिन्न तालिम लिए पनि कुनै काम लागेन भनेर कहिलेकाहीँ चिन्ता पनि लाग्थ्यो । सायद भारतमै भएको भए योभन्दा राम्रो हुन्थ्यो कि भन्ने पनि मनमा आउँथ्यो ।’

तर फेरि समाज, घरपरिवार जहाँको पनि यस्तै हुन्छ भनेर चित्त बुझाएर बसेको उनले बताइन् । ब्युटिसियन र मिथिला चित्रकलाको सिप भएर पनि प्रयोगमा ल्याउन नसक्दा आफूलाई त्यतिबेला निकै पीडा हुने गरेको उनले सुनाइन् ।

  • खेर गयो तीन वर्ष

दुलहीको रूपमा घरमै कामकाज गर्दै उनको तीन वर्ष बित्यो । त्यही बिचमा रुबीले बच्चा जन्माइन् ।

श्रीमानसँग कहिले काहीँ बजारतिर घुम्न जाँदा ठमेलमा पेन्टिङ बिक्री गर्ने पसल उनले देखेकी थिइन् । २०७३ तिर एक दिन आफूले बनाएको पेन्टिङ लिएर उनी एक्लै ठमेलस्थित त्यो पसलमा गइन् ।

मिथिला चित्रकला भएको कारण व्यापारीले उनलाई श्यामसुन्दर यादवसँग भेट गर्न सुझाव दिएका थिए । ठमेलमै मिथिलायें आर्ट ग्यालेरी खोलेर बसेका श्यामसुन्दर यादवलाई मिथिला पेन्टिङको अनुभवी कलाकार मानिन्छ ।

त्यसपछि रुबीले श्यामसुन्दरलाई उनको ग्यालरीमा गएर आफ्नो पेन्टिङ देखाएकी थिइन् । श्यामसुन्दर यादवले उनको चित्रकलाको प्रशंसा गरेका थिए । ‘तपाईं अगाडि बढ्नुस्, त्यसमा सदैव मेरो सहयोग रहन्छ,’ श्यामसुन्दरले आफूलाई भनेको कुरा स्मरण गर्दै रुबीले अगाडि भनिन्, ‘आज यो क्षेत्रमा जसरी जमेको छु, श्यामसुन्दर सरको धेरै ठुलो भूमिका छ ।’

श्यामसुन्दरसँग भेटेर फर्केपछि चित्र बनाउने सामान पनि खरिद गरेर लगेको उनले बताइन् । त्यसपछि उनी आफ्नै घरमा चित्र बनाउन थालिन् । एक महिनासम्म उनले विभिन्न मिथिला पेन्टिङ बनाइन् । हरेक साइजको तीन वटा पेन्टिङ लिएर एक महिनापछि रुबी श्यामसुन्दरको ग्यालरीमा गइन् । त्यहाँ प्रदर्शनी पनि जारी थियो । रुबीले पनि आफ्नो पेन्टिङ त्यहाँ राखिन् । केही दिन प्रदर्शनी चल्यो । सो प्रदर्शनीबाट रुबी कर्णको एउटा पेन्टिङ तीन हजारमा बिक्री भयो, त्यो पेन्टिङ गणेश भगवानको थियो ।

पहिलो पटक आफूले बनाएको पेन्टिङ यसरी बिक्री हुँदा रुबी कर्ण निकै खुसी भइन् । त्यसपछि उनी त्यो पैसाले पेन्टिङका लागि केही सामान किनिन् । त्यसपछि पति शरदचन्द्रले रुबीभित्रको कला, उनको चाहना र उपलब्धि बुझेर सहयोग गर्न थाले ।

  • ललितकलामा रुबी

रुबी कर्ण आफ्नो घरधन्दा भ्याएर बाहिर निस्किने मौका पाउने बित्तिकै ठमेलस्थित मिथिलायें ग्यालरी जान्थिन् । त्यहाँ नयाँनयाँ कुरा सिक्नुको साथै अन्य ठाउँमा सम्पर्क पनि बनाउन थालिन् । श्यामसुन्दर यादवमार्फत ललितकला प्रतिष्ठानमा उनले मिथिला यादवलाई भेटेकी थिइन् । त्यहाँ उनले आफ्नो पेन्टिङ देखाएकी थिइन् । मिथिला यादव आफैँ मिथिला चित्रकलाको चर्चित कलाकार हुन् । उनीबाट रुबीले निकै प्रशंसा पाएकी थिइन् ।

रुबी भन्छिन्, ‘म्यामले मेरो पेन्टिङको प्रशंसा मात्र गर्नुभएन, केही पेन्टिङ यहीँ छोडदिनुस् । प्रदर्शनी भयो भने त्यसमा राखिदिन्छु भन्नुभयो । मैले त्यहाँ त्यहाँ छाडेको पेन्टिङ विभिन्न समयमा प्रदर्शनीमा उहाँले राखि दिनुहुन्थ्यो ।’

मिथिला यादवले दिएको सुझाव अनुसार उनले क्राफ्ट बनाउन सुरु गरेकी थिइन् । त्यसपछि उनी चित्रकलामा बिस्तारै जम्न थालिन् । देशका विभिन्न ठाउँमा हुने प्रदर्शनीमा आफ्नो पेन्टिङ राख्न थालिन्, वर्कशपहरूमा जान थालिन् । कतिपय ठाउँमा उनी आफ्नो श्रीमानको साथमा जान्थिन् भने कतिपय ठाउँमा एक्लै पनि जान्थिन् ।

नेपाल आर्ट काउन्सिल र नेपाल एकेडेमी अफ फाइन आर्टसले विभिन्न चारणमा गरेको वर्कशप तथा प्रदर्शनीमा पनि उनी भाग लिन्थिन् । आफ्नो चित्रकला तथा क्राफ्टहरू प्रदर्शनमा राख्थिन् । कहीँ बिक्री हुन्थ्यो, कहीँ हुँदैनथ्यो तर उनले कोरेको चित्रको प्रशंसा सबै ठाउँमा हुन्थ्यो ।

रुबी मिथिला चित्रकलामा बाहिर जति व्यस्त भए पनि घरको काम कहिल्यै डिस्टर्ब हुन दिइनन् । कहिलेकाहीँ घरको काममा यति व्यस्त हुनुपर्थ्यो कि, राम्राराम्रा अवसर गुमाउनु परेको अनुभव रुबीसँग छ । चितवन, सिरहा, सप्तरीलगायत विभिन्न ठाउँमा तालिम दिन जानुपर्ने, वर्कशपमा भाग लिन जानुपर्ने अवसर उनलाई पटकपटक आएको थियो । तर घरको व्यस्तताका कारण उनी निस्कन सकिरहेकी थिइनन् । उनले अहिले पनि आफ्नो घरपरिवारलाई प्राथमिकतामा राखेकी छन् । त्यसबाट बचेको समयलाई उनले चित्रकलामा लगाएकी छन् ।

  • पुरस्कार

रुबी कर्णले २०७७ मा मधेस सरकारबाट लोक कलामा प्रादेशिक चित्रकला पुरस्कार प्राप्त गरेकी छन् । २०७८ मा लोककला विशेष राष्ट्रिय पुरस्कारबाट समेत उनी सम्मानित भएकी छन् । त्यसबाहेक अन्य सानातिना सम्मान र पुुरस्कारहरू उनले पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप