शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

सेमिफाइनल सम्भावना बलियो बनाउने लक्ष्यसहित आपसमा भिड्दै दक्षिण अफ्रिका र बंगलादेश

शनिबार, २६ असोज २०८१, १५ : ४६
शनिबार, २६ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेटेस (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा शनिबारको दोस्रो साबिक उपविजेता दक्षिण अफ्रिका र बंगलादेशबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

बंगलादेश र दक्षिण अफ्रिका जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । जारी प्रतियोगितामा यी दुवै टोलीले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् । यी दुवै टोलीको सेमिफाइनल पुग्न सम्भावना पनि कायमै छ ।

बंगलादेशले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई १६ रनले हराएको थियो । दोस्रो खेलमा बंगलादेशी टोली पहिलो संस्करणको विजेता इङ्ल्यान्डसँग २१ रनले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा बंगलादेशी टोली वेस्ट इन्डिजसँग आठ विकेटले पराजित भएको थियो ।

अर्कोतिर, दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकी टोली इङ्ल्यान्डसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकी टोलीले स्कटल्यान्डलाई ८० रनले हराएको थियो ।

समूह ‘बी’ तालिकामा इङ्ल्यान्डले दुई र अन्य चारवटै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । वेस्ट इन्डिज चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

यसैगरी, दुवै खेलमा विजयी भएको इङ्ल्यान्ड पनि चार अङ्कसहित तेस्रो स्थानमा आसीन छ । दुई अङ्कसहित बंगलादेश तालिकाको चौथो स्थानमा आसीन छ । अघिल्लो तीनवटै खेलमा पराजित भएको स्कटल्यान्ड भने उपाधि होडबाट बाहिरिइसकेको छ । महिला टी–२० विश्वकपमा स्कटल्यान्डको यो पहिलो सहभागिता हो ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिका र बंगलादेश दुबैका लागि यो खेल निकै महत्त्वपूर्ण छ । तर, दक्षिण अफ्रिकाभन्दा पनि बंगलादेशसँग जितको विकल्प छैन । यो खेलमा पराजित भएमा बंगलादेश उपाधि होडबाट बाहिरिने छ ।

यो खेलमा पराजित भए दक्षिण अफ्रिका पनि दबाबमा पर्नेछ । त्यसपछि अन्य टोलीको प्रदर्शनले दक्षिण अफ्रिकाको भविष्य निर्धारण गर्नेछ । त्यसैले शनिबार खेलिने दक्षिण अफ्रिका र बंगलादेशबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

आईसीसी महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो । सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै दक्षिण अफ्रिकाले महिला विश्वकपमा सहभागिता जनाउँदै आएको छ । बंगलादेशले भने सन् २०१४ मा सम्पन्न चौथो संस्करणदेखि विश्वकपमा भाग लिन थालेको हो ।

पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि दक्षिण अफ्रिका हालसम्म एकपटक मात्र फाइनलसम्म पुग्न सकेको छ । दक्षिण अफ्रिका सन् २०२३ मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियासँग १९ रनले पराजित भएको थियो । बंगलादेश भने हालसम्म महिला विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

दक्षिण अफ्रिकी टोली यसपटक लाउरा वोल्भार्डको कप्तानीमा रहेको छ । २५ वर्षीया लाउरा टोलीकी प्रभावशाली ब्याटर हुन् । लाउराले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरेकी छन् ।

बंगलादेशी टोली भने यसपटक निगार सुल्तानाको कप्तानीमा रहेको छ । २७ वर्षीया निगार सुल्ताना टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । टेस्ट क्रिकेटमा भने उनले हालसम्म ‘डेब्यू’ गरेकी छैनन् ।

जारी विश्वकपमा १० वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल १८ तारिखमा खेलिने छ । फाइनल खेल भने २० तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप