शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

सेमिफाइनल पुग्न सङ्घर्ष गरिरहेको न्युजिल्यान्डलाई उपाधि होडबाट बाहिरिइसकेको श्रीलंकाको चुनौती

शनिबार, २६ असोज २०८१, १५ : ३२
शनिबार, २६ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेटेस (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा शनिबारको पहिलो खेल न्युजिल्यान्ड र श्रीलंकाबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।

यी दुवै टोली प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । जारी प्रतियोगितामा न्युजिल्यान्डले दोस्रो र श्रीलंकाले चौथो खेल खेल्न लागेको हो । न्युजिल्यान्डको सेमिफाइनल प्रवेश गर्ने सम्भावना जीवितै छ भने श्रीलंका यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

न्युजिल्यान्डले दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई ५८ रनले हराएको थियो । दोस्रो खेलमा भने किविज टोली ६ पटकको च्याम्पियन अस्ट्रेलियासँग ६० रनले पराजित भएको थियो ।

श्रीलंकाली टोली भने आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ३१ रनले र दोस्रो खेलमा साबिक विजेता अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा श्रीलंकाली टोली भारतसँग ८२ रनले पराजित भएको थियो ।

समूह ‘ए’ तालिकामा तीन खेल खेलेको अस्ट्रेलिया सबै खेल जित्दै ६ अङ्कसहित पहिलो स्थानमा आसीन छ । दोस्रो स्थानमा आसीन भारतले तीन खेलबाट चार अंक जोडेको छ । भारतले दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

यसैगरी, दुई खेलबाट दुई अंक हात पार्दै न्युजिल्यान्ड तेस्रो र तीन खेलबाट दुई अंक हात पार्दै पाकिस्तान चौथो स्थानमा आसीन छ । पाकिस्तानले एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । तीनवटै खेलमा पराजित भएको श्रीलंका भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

श्रीलंका वाहेक अन्य चारवटै टोलीको सेमिफाइनल प्रवेश गर्ने सम्भावना जीवितै छ । तर, शनिबारको खेलमा पराजित भएमा न्युजिल्यान्डको अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी रहने छ । दुवै समूहबाट अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ ।

न्युजिल्यान्ड र श्रीलंकाले पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । तर, यी दुवै टोलीले हालसम्म महिला टी–२० विश्वकपको उपाधि भने चुम्न सकेका छैनन् । तर, विगत र वर्तमानलाई हेर्दा श्रीलंकाभन्दा न्युजिल्यान्ड केही बलियो देखिन्छ ।

न्युजिल्यान्ड हालसम्म दुईपटक विश्वकपको फाइनलसम्म पुगेको छ । सन् २००९ मा सम्पनन पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई आयोजक इङ्ल्यान्डले ६ विकेटले हराएको थियो । सन् २०१० मा सम्पन्न विश्वकपको फाइनलमा भने न्युजिल्यान्डलाई अस्ट्रेलियाले तीन रनले हराएको थियो ।

महिला टी–२० विश्वकप क्रिकेटको इतिहासमा फाइनलमा निस्किएको सबैभन्दा कमअन्तरको जित पनि यही हो । त्यसयता न्युजिल्यान्ड कहिल्यै यो विश्वकपको फाइनलमा पुग्न सकेको छैन । यसको विपरीत श्रीलंका हालसम्म महिला विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

श्रीलंकाली टोली यो विश्वकपमा चामरी आथापाथुको कप्तानीमा रहेको छ । ३४ वर्षीया चामरी टोलीकी अनुभवी अलराउन्डर हुन् । उनले श्रीलंकाका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले टेस्टमा भने हालसम्म ‘डेब्यू’ गरेकी छैनन् । उनले यी दुवै ढाँचाको क्रिकेटमा शतक बनाएकी छन् भने विकेट पनि लिएकी छन् ।

यसैगरी, न्युजिल्यान्डको टोली यसपटक सोफी डेभिनको कप्तानीमा रहेको छ । ३५ वर्षीया सोफी टोलीकी प्रभावशाली अलराउन्डर खेलाडी हुन् । उनले टोलीका लागि टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।

टेस्ट क्रिकेटमा भने उनले हालसम्म टेस्ट क्रिकेटमा भने उनले हालसम्म ‘डेब्यू’ गरेकी छैनन् । दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले शतक पनि बनाएकी छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय र टी–२० अन्तर्राष्ट्रियमा एक सय १७ विकेट पनि लिएकी छन् ।

जारी विश्वकपमा १० वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल १८ तारिखमा खेलिने छ । फाइनल खेल भने २० तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप